स्वर्गद्वारीमा रहेको गाईगोठमा शंकास्पद आगलागी, एक बालकको मृत्यु

स्वर्गद्वारीमा रहेको गाईगोठमा शंकास्पद आगलागी, एक बालकको मृत्यु



विशेष प्रतिनिधि, प्यूठान

धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा रहेको गाईगोठमा आगलागी हुँदा एक १५ वर्षीय बालकको मुत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आइतबार साँझ आगलागी हुँदा स्थानीय टिके बिकको छोरा हेमे बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैह्रेले जानकारी दिनुभयो । प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

‘गोठमा बालक गएको थाहा नै नपाएको जस्तो देखिन्छ’, प्रहरी निरीक्षक गैह्रेले भन्नुभयो, ‘आगलागी कसरी भयो भन्ने पनि खुलेको छैन, अनुसन्धान गर्दैछौँ ।’

यसका साथै आश्रमका गाईहरुको लागि स्थानीयबाट संकलन गरि राखिएको १४ सय भारी खर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले गोठ जलेर पूरै खरानी भएपछि आश्रममा पालिएका करिव ६ सय गाई खुला चौरमा राखिएको जानकारी दिनुभयो । ‘गाईलाई २ महिना पुग्ने खर जलेर ध्वस्त भयो,’ उहाँले भन्नुभयो( गाुईलाई खुल्ला चौरमा छोडेका छौँ ।’

आगलागीबाट करिब ७० लाख रुपियाँ बराबरको नोक्सानी भएको आश्रमले जनाएको छ । यस घटनाको अन्तर्यमा हिन्दूविरुद्धको मानसिकता लुकेको हुन सक्ने टिप्पणी स्थानीय एक सचेतजनले गरेका छन् । तर यस पाटोबाट अनुसन्धान भने शुरु भइनसकेको बुझिएको छ ।