ओशाका उक्लिन दोश्रो स्थानमा

ओशाका उक्लिन दोश्रो स्थानमा



जापानकी नाओमी ओशाका अष्ट्रेलिएन ओपन टेनिस उपाधि जितेसँगै विश्व टेनिसको वरियता क्रममा दोश्रो स्थानमा उक्लिन सफल भएकी छिन् । हालै डब्लुटीएले जारी गरेको ताजा विश्व वरियतामा ओशाका एक स्थान माथि उक्लिएकी हुन् ।

पछिल्लो समयमा ओशाकाले लगातार दुई वटा ग्य्राण्ड स्लैम जिते पनि उनी अष्ट्रेलियन खेलाडी एस बार्टीभन्दा एक स्थान तल रहेकी छिन् । बार्टी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पराजित भएकी थिइन् । बार्टी महिला टेनिस वरियता क्रममा नम्बर एक स्थानमा रहेकी छिन् ।

कोरोना महामारीका कारण प्रतियोगितामा भाग नलिँदा पनि उसको अंकमा कुनै फरक नपर्ने नियमका कारण अहिले पनि बार्टी विश्व नम्बर एक खेलाडी बन्न सफल भएकी हुन् । बार्टीले विगत एक वर्षको अवधिमा कुनै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता नखेले पनि सन् २०१९ मा फ्रेन्च ओपन जितेका कारण उनको नम्बरमा वृद्धि भएको थियो ।

त्यस्तै अष्ट्रेलियन ओपनमा महिलातर्फ उपविजेता रहेकी जेनिफर ब्राडी १३औं स्थान उक्लिएकी छिन् । ब्राडी अष्ट्रेलियन ओपनमा २४औँ स्थानमा थिइन् । यसैगरी अष्टे«लियन ओपनको सेमिफाइनलमा पुग्न सफल सेरेना विलियम्स सातौँ स्थानबाट माथि उक्लिँदै चौथो स्थानमा पुगेकी छिन् । सेरेना सेमिफाइनलमा ओशाकांश पराजित भएकी थिइन् ।

पुरुष सिंगलतर्फ अष्टे«लियन ओपन च्याम्पियन विश्व नम्बर एक खेलाडी नोवाक जोकोबीचले आफ्नो स्थितिलाई अझ बलियो पारेका छन् । त्यस्तै पुरुष सिंगलतर्फ फाइनलमा पुगेका डेनिल मेदवेदेव तेस्रो स्थानमा उक्लिन सफल भएका छन् ।

त्यस्तै विश्व वरियता क्रममा दोश्रो स्थानमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपनको क्वाटर फाइनलमा पराजित भए पनि यथास्थानमै रहेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका डोमिनिक थिम चौथो चरणमा पराजित भएपछि चौथो स्थानमा झरेका छन् । आफ्नो पहिलो ग्य्राण्ड स्लैममै सेमिफाइनलमा पुग्न सफल असलान करात्सेव भने ठूलो छलाङ मारेका छन् । उनी यो प्रदर्शनपछि ७२औँ स्थानबाट ४२औँ स्थानमा पुगेका छन् ।

घुँडाको अप्रेसन गरेका कारण अष्ट्रेलियन ओपनमा सहभागिता नजनाएका फेडरर पाँचौँ स्थानमा रहेका छन् ।