मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली

मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान खतरामा रहेको खुलासा गर्नुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले आफू नरहे पनि पार्टी तलमाथि नपर्ने बताउनुभयो ।

‘म नरहे पनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन, देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन’, प्रधानमन्त्रीको भनाइ छ ।

‘व्यक्तिगत सुरक्षामाथि खतरा रहेको उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो, ‘यस पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ, तपाईंहरु अनौठो नमान्नुहोला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नुहोला ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको उल्लेख गर्दै सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको जानकारी दिनुभयो ।

विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, जनतालाई सेवासुविधा सहज र सुलभ ढङ्गले अत्यधिक मात्रामा पुर्‍याउँदै जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य लिइएको उहाँले बताउनुभयो । ‘तीनवर्षे समयावधिमा विकासनिर्माणका धेरै कामले गति लिएको छ, यस अवधिमा परिवर्तित संरचनानुसार पूर्वाधार विकास एवं कानून निर्माणका काम अघि बढेको तथा शक्तिको बाँडफाँट समुचित रुपमा गर्दै संविधानसँग बाझिएका कानूनलाई संशोधन गरी नयाँ संविधान एवं कानूनअनुसार समयानुकूल बनाइएको छ’, उहाँले भन्नुभयो ।

राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले ‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणका अभियानमा जुट्न सबैमा आग्रह गर्नुभयो । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटालाई अघि बढाइएको तथा शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा विकास बढेको बताउनुभयो ।

दुई छिमेकी मुलुक भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशले पर्यटनसहित कृषिका धेरै सम्भावना बोकेको बताउँदै प्रधानमन्त्रीले यहाँका कास्कीसहित तनहुँ, स्याङ्जालगायत जिल्ला कृषिको आधुनिकीकरणमा नमूनाउन्मुख बनेको छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘फेवातालमा माछापुच्छ्रे प्रतिविम्बित हुने मात्र हैन, यहाँ धेरै कुरा प्रतिविम्बित हुन्छन्, हाम्रा भविष्यका सपना प्रतिविम्बित हुन्छन् ।’

सरकारले सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउन लागेको तथा त्यसलाई सबैमा पुर्‍याइने विश्वास व्यक्त गर्नुभयो । ‘हामी गरीब छौँ तर मनका धनी छौँ, कोभिडविरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देशभित्र हामी पनि परेका छौँ”, उहाँले भन्नुभयो, “हामीले आराम कम, थकाइ कम र काम बढी गरेका छौँ ।’

संयुक्त राष्ट्र सङ्घले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा सिफारिश गरेको बताउँदै उहाँले अन्य सूचकाङ्कमा पनि नेपाल अघि रहेको र सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गरिने दृढता व्यक्त गर्नुभयो ।

pict:rss