कृषिकर्ममा स्थानीयको आकर्षण, सहयोग उपलब्ध गराउन राज्य आतुर !

कृषिकर्ममा स्थानीयको आकर्षण, सहयोग उपलब्ध गराउन राज्य आतुर !


  • मुक्तिनाथ भुसाल, अर्घाखाँची

अर्घाखाँचीमा पछिल्लो समय व्यवसायिक तरकारी खेती तथा पशुपंक्षी पालनमा स्थानीयहरू हौसिएका पाइएको छ ।

जिल्लामा जम्मा ४५ हजार ७१२ हेक्टर खेतीयोग्य जमिनमध्ये २७ हजार ९४१ हेक्टर जमिनमा यतिबेला खेती गरिएको छ । शुरुमा जिल्लाको जगत, किमडाँडा, ढिकुरा, कुर लगायतका गाउँमा तरकारी तथा दुध उत्पादन हल्का रूपमा हुने गरेको भए पनि हालको समय प्रत्येक पालिका, वडा तथा टोल-टोलका बासिन्दाहरू कृषि पेशामा सक्रिय रहेका छन् ।

जनप्रतिनिधितर्फको कुरा गर्ने हो भने पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण आचार्यलगायतका व्यक्ति मुलुक सङ्घीयतामा जानुअघिदेखि नै व्यवसायिक कृषि कर्ममा जोडिनुभएको थियो । सदरमुकाम सन्धिखर्क नजिकैका पुष्करनाथ बन्जाडे, गणेश बन्जाडेलगायत पनि वार्षिक १२ देखि १५ लाख बचत गर्न सफल पुराना कृषकका रूपमा परिचित रहनुभएको छ । यसैगरी शीतगंगा नगरपालिकास्थित ठाडामा रहनुभएका कमानसिंह दर्लामी, पिडापानीका देवीराम गैरे लगायतका व्यक्तिहरू पनि व्यवसायिक उत्पादनमा अनुभवी व्यक्ति मानिनुहुन्छ ।

यस्तै, पाणिनी गाउँपालिकाको सिम्ले, खिदिम, पटौटीलगायतका अधिकांश स्थानीयहरू सुन्तला उत्पादनमा, भूमिकास्थान नगरपालिकास्थित धनचौरलगायत गाउँका स्थानीयहरू मह उत्पादनमा केही अघिदेखि नै सक्रियता देखाए पनि हाल आएर त्यसलाई जिल्लाभर व्यापकता दिलाउने गरी कार्य अघि बढेका छन् । सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको अलवा गोरुसिङे-सन्धिखर्क सडकको यात्रा गर्दा पनि नियालेर हेरियो भने धेरैजसो भूभागमा व्यवसायिक उत्पादनतर्फ स्थानीयको आकर्षण बढेको अनुभूति गराउँछ । शीतगंगा नगरपालिकाका उपमेयर टीका रेश्मी, समाजसेवी राजेन्द्र जिसी लगायतका व्यक्तिहरू व्यवसायिक उत्पादनमा लागेका उदाहरण जिल्लामा रहेका छन् । बुझिएअनुसार माछा, अण्डा र दुध उत्पादनमा जिल्ला आत्मनिर्भर बनिसकेको छ ।

पछिल्लो समय कृषकका लागि सहुलियत दरमा कर्जा, बिउबिजनमा सहयोग, शीतभण्डार लगायतका सुविधाका कारण पनि मानिसहरू यो पेशामा होमिएको आभास हुन्छ । यसरी कृषि पेशातर्फ मानिसको झुकाव बढ्दै गर्दा बजारीकरणको समस्यालाई भने सरोकारवाला पक्षले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

पछिल्लो समय कृषि पेशामा होमिनेहरू सबैका नाम समेट्न सहज नभए पनि फुदवाङ क्षेत्रमा बाबुराम भुसाल र छत्रदेव गाउँपालिकामा बलप्रसाद श्रेष्ठद्वारा सञ्चालित फर्महरू हेर्नलायक रहेका छन् । विगतको समयमा गल्फमा जागिर गरी स्वदेश फर्किएपछि जग्गा प्लटिङलगायतका व्यवसायमा सफलता प्राप्त गरेका भुसालले सदरमुकामनजिकै करिव ७० रोपनी आफ्नै जमिनमा करोडौँ रकम लगानीमा फर्म सञ्चालनमा ल्याउनुभएको छ ।

यसैगरी गुल्मीको सदरमुकाम तम्घासमा लामो समयदेखि व्यापार गर्दै आउनुभएका बलप्रसाद श्रेष्ठसहित तिलक र प्रकाश श्रेष्ठ विगत तीन वर्षदेखि कृषिकर्ममा जुट्नुभएको छ । बल्कोट तम्घास सडक अन्तर्गत छत्रदेव गाउँपालिका वडा नम्वर पाँच छत्रगन्जदेखि करिव एक किलोमिटर तल घनघोर जंगलका बीचमा रहेको पुर्ख्यौली एक सय बिस रोपनी जमिनमा मोटरबाटो पुऱ्याइ शुरु गरेको फर्ममा करिव तीन करोड लगानी भइसकेको तिलक श्रेष्ठ बताउनुहुन्छ । प्रदेश सरकारबाट ग्रिनहाउस टनेल निर्माणका लागि सहयोग प्राप्त गरेको उक्त बहुउद्देश्यीय फर्ममा मौसमी तथा बेमौसमी तरकारी उत्पादन र पशुपक्षी पालन गरिएको छ । दैनिक १० जना स्थानीय बासिन्दाले रोजगारी पाएको यो फर्ममा ६ जना कामदारलाई प्रदेश सरकारले पारिश्रमिक दिने भएपछि आफूहरू उत्साहित बनेको श्रेष्ठ परिवारकै विमला श्रेष्ठको भनाइ छ ।

गुल्मीको सिमीचौरदेखि कपडा पसल गर्दैगर्दा ०३१ सालमा तम्घासमा कपडा व्यापार शुरु गर्नुभएका बलप्रसाद श्रेष्ठका तीन छोरामध्ये जेठोले नारायणघाटमा र कान्छो छोराले काठमाडौंमा व्यापार गर्दै आएका छन् । यसैप्रकार माइला छोरा तेजेन्द्रकुमार श्रेष्ठले तम्घासमा सेन्चुरी इन्टरनेशनल आईएमई खोलेर बस्नुभएको भए पनि करोडौँ रकममा सञ्चालित यो कृषि फर्मको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको र श्रीमती विमला श्रेष्ठले आईएमईको जिम्मेवारी सम्हालेको नेपाल पत्रकार महासंघ शाखा गुल्मीका कोषाध्यक्षसमेत रहनुभएका तेजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा व्यवसायिक ढङ्गले कृषि पेशा गरिरहेका र यसप्रति रूचि जगाइरहेका व्यक्तिका लागि के सोच बनाइएको छ भन्ने जिज्ञासामा प्रदेशसभा सदस्य चेतनारायण आचार्यले स्थानीयहरू उत्पादन कार्यसँग नजोडिँदासम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै काम गर्ने इच्छाशक्ति भएमा राज्यका तर्फबाट हुने सहयोगमा कमी नरहेको दाबी गर्नुभयो । यस्तै, अर्का प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले पनि लुम्बिनी प्रदेश सरकारले कृषकका लागि विभिन्न सेवा-सुविधा उपलब्ध गराएको र यो पेशामा सक्रिय बन्न चाहनेलाई आफूहरू सहयोग गर्न आतुर रहेको जानकारी दिनुभयो ।