तेक्वान्दोका धरोधर : एसियाकै सर्वोत्कृष्ट रेफ्री ‘नवीन श्रेष्ठ’

तेक्वान्दोका धरोधर : एसियाकै सर्वोत्कृष्ट रेफ्री ‘नवीन श्रेष्ठ’


  • श्रीविक्रम भण्डारी

त्यतिबेला सिनेमामा ब्रुस्लीको जगजगी थियो । सिनेमामा ब्रुस्लीको हाउभाउ र कटाक्ष देख्दा उनी मार्शल आर्टसतर्फ आकर्षित भए । कलिलो मस्तिष्क लहडकै भरमा कराते खेल्न दशरथ रङ्गशाला पुगेका उनी तेक्वान्दोमा पुगे । त्यतिबेला मार्शल आर्टस्का कुनै पनि खेलको प्रशिक्षण लिन सजिलो थिएन । त्यसको लागि निश्चित मापडण्ड अर्थात् नियमकानुनको पालना गर्नुपर्थ्यो। अर्थात्, प्रशिक्षण लिनको लागि सरकारी अधिकृतको सिफारिस चाहिन्थ्यो । त्यतिबेला सरकारी अधिकृतको सिफारिस पाउनु भनेको सगरमाथा चढ्नुभन्दा कम थिएन, र पनि दुई साताको भागदौडपश्चात् सिफारिस प्राप्त गर्दै उनी प्रशिक्षणमा होमिए । १३ वर्षको उमेर, कक्षा ७ मा पढ्दै गर्दा २०४५ सालमा उनी अर्थात् नवीनकुमार श्रेष्ठले तेक्वान्दोमा आफ्नो भाग्य अजमाएका थिए ।

जीवन श्रेष्ठ र अमीर श्रेष्ठको प्रशिक्षणमा नवीनले तेक्वान्दोमा आफ्नो खेल-जीवन शुभारम्भ गरे । प्रशिक्षण सोचेको जस्तो थिएन, निकै गाह्रो थियो । शुरुका दिनमा भोगेको दुःख कुनै महिलाले भोग्ने प्रसव पीडाभन्दा कम थिएन । त्यसमाथि प्रशिक्षण गरेवापत मासिक रूपमा तिर्नुपर्ने एक सय रुपैयाँले ढाड नै सेकाएको थियो । घर-परिवारलाई थाहै नदिई प्रशिक्षणमा गएकोले त्यो एक सय रुपैयाँ जुटाउन निकै गाह्रो परेको थियो । परिवारमा भनौँ भने उल्टै खेलबाटै वञ्चित गरिदिने सन्त्रास थियो । यस्तो जटिल परिस्थितिमा तीन महिनापछि बुबाले थाहा पाउँदा सातो नै गएको थियो । मनमनै उनले सपना सबै हुरीले उडाएको महसूस गरे । तर उनी आफूलाई भाग्यले साथ दिएको स्मरण गर्दै भन्छन्– ‘मैले सोचेको जस्तो नरनम्रो केही भएन । बुबाले उल्टै राम्रो गरिस्, मेहनत, लगनशीलताका साथ र अनुशासित भएर खेल्नु भन्नुभो । त्यो दिन म यति खुशी थिएँ त्यसको वर्णन गर्न सक्तिनँ ।’

बुबा कृष्णबहादुर र आमा सानुकान्छी श्रेष्ठले औपचारिक रूपमै तेक्वान्दो प्रशिक्षणको लागि अनुमति दिएपछि नवीनको खेल जीवनमा नौलो रक्तसञ्चार भयो । त्यसपछि निरन्तर तेक्वान्दोको प्रशिक्षणमा होमिएर रगत पसिना सुकाउँदै जाँदा ०४७ सालमा ‘रेड बेल्ट’ र २०४९ सालमा ‘ब्ल्याक बेल्ट’ प्राप्त गर्न सफल भए । त्यतिबेला तेक्वान्दोको प्रतियोगिता नै हुँदैनथ्यो, एक-दुई वर्षको अन्तरालमा आक्कल–झुक्कल एउटा प्रतियोगिता हुन्थ्यो । यस्तो विषम परिस्थितिमा हासिल गरेको यो उपलब्धिलाई नवीनले कठोर मेहनत र तपस्याको संज्ञा दिएका छन् । जसले उनलाई तेक्वान्दोको उदीयमान खेलाडीको रूपमा स्थापित गरेको थियो । तर, त्यसबेलाको ‘आइरनगेट’ एसएलसी परीक्षाको तयारीका लागि १० महिना प्रशिक्षणबाट टाढा रहनु पर्दा र पछि पुनः प्रशिक्षणमा फर्कंदा एकमुस्ट्ट रकम बुझाउनु पर्दा निकै गाह्रो भएको नवीनसँग नमीठो अनुभव छ ।

तेक्वान्दो प्रशिक्षणको आरम्भदेखि नै नवीनले आफुलाई आक्रामक र जुझारु खेलाडीको रूपमा प्रस्तुत गरेका थिए । उनको खेलप्रतिको समर्पण भावना एकलब्यको भन्दा कम थिएन । त्यसैले गुरुहरू भन्ने गर्थे- ‘नवीन एक दिन तेक्वान्दोको उत्कृष्ट खेलाडी बन्नेछ, राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा तहल्का मच्चाउने छ ।’ गुरुहरूको त्यो भविष्यवाणीअनुसार खरो उत्रिँदै नवीनले आफ्नो पहिलो प्रतिस्पर्धामै चमत्कारपूर्ण प्रदर्शन गरी सबैको ध्यान आफूतर्फ केन्द्रीत गर्न सफल भए । प्रतियोगितामा प्रतिस्पर्धा गर्नुअघि प्रतियोगिता कस्तो हुन्छ र कसरी खेल्नुपर्छ भन्नेसमेत थाहा नभएका नवीनले सबैलाई चकित पार्दै उत्कृष्ट प्रदर्शन गरेपछि उनी ‘हटकेक’ नै बनेका थिए । सेकेण्ड कलर द ग्रेट अधिराज्यव्यापी तेक्वान्दो च्याम्पियनसीप उनले यस्तो कमाल देखाएका थिए । ५८ केजीतर्फ पहिलो प्रतिस्पर्धामै फाइनलमा पुगेर तहल्का मच्चाएका उनले फाइनलमा पनि प्रभावशाली प्रदर्शन गरे । त्यहाँ उपस्थित सबैले नवीनले स्वर्ण पदक जितेको चर्चा गरे पनि झिनो अन्तर, अर्थात् १९–२० ले उनी दोश्रो भए ।

साँढेजस्तै आक्रामक रुपमा जुध्ने नवीनको खेलकौशल आफैमा उत्कृष्ट थियो । त्यतिबेला उनले आफू फाइनलमा पुग्ने कल्पनासमेत गरेका थिएनन् । पहिलो राउण्डमै हार्छु जस्तो लागेको थियो, फाइनलसम्म पुग्दा अपत्यारिलो लाग्यो । तर त्यो सत्य थियो, त्यसैले उनी अत्यधिक खुशी थिए । उनको खुशीको सिमा थिएन, यसर्थमा कि उनले पहिलो स्पर्धामा नै अकल्पनीय र अपत्यारिलो प्रदर्शन गर्दै सफलता हासिल गरेका थिए । यो सफलतापश्चात नवीनले भने– ‘म पनि खेलेर केही गर्न सक्छु जस्तो लाग्यो, हौसला बढेर आयो ।’

पहिलो सफलताको स्वाद चाखेपछि बाघको मुखमा मान्छेको रगत परे झैँ बनेका थिए नवीन । अर्को प्रतियोगिताको आयोजना कहिले होला र स्वर्णपदक जितौँला भन्ने पर्खाइमा थिए उनी । प्रतियोगिताको ढिलो आयोजना भए पनि तेस्रो कलर द ग्रेट अधिराज्यव्यापी तेक्वान्दो च्याम्पियनसीपमा नवीनले स्वर्ण पदक जितेर आफ्नो सपना साकार पारे । त्यसपछि नवीनले पछि फर्केर हेर्नु परेन, एकपछि अर्को गर्दै सफलताको झण्डा गाड्दै गए । उक्त अवधिमा उनी प्रथम मध्यमाञ्चल क्षेत्रिय तेक्वान्दो प्रतियोगिता र ०५३ सालमा वीरगञ्जमा आयोजना भएको तेस्रो राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक जित्दै जापानमा आयोजना हुने १२औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट हुन सफल भए । नवीनको खेल जीवनको यो सबैभन्दा ठूलो छलाङ थियो ।

सुन्दरता या उत्कृष्टतामाथि सबैले आँखा लगाउँछन् भन्ने उक्ति त्यतिबेला नवीनमाथि पनि लागु भयो । नवीनको उत्कृष्टतामाथि कोरियन प्रशिक्षकले ‘कुदृष्टि’ लगाउँदा उनले निकै कुठाराघातको सामना गर्नुप¥यो । राष्ट्रिय खेलकुद परिषदको नीतिअनुसार जिल्ला, क्षेत्रिय र राष्ट्रिय प्रतियोगितामा प्रथम हुने खेलाडी एसियाडमा छनोट हुने नियम थियो । जसमा उनी अब्बल सावित भएका थिए । तर कोरियन प्रशिक्षक मास्टर होङ चोल ओले नयाँ खेलाडीलाई लानु हुँदैन, पुराना अनुभवी खेलाडीलाई लानुपर्छ भन्ने तर्कसहित बखेडा निकाल्दा उनी मर्कामा परेका थिए । त्यसपछि कोरियन प्रशिक्षकले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई मानसिक र शारिरीक यातना दिएपछि प्रशिक्षणमा रहेका नवीनसहित अन्य तीन जना प्रशिक्षण छोडेर भाग्न बाध्य भए । पछि राखेपले कोरियन प्रशिक्षकसँग स्पष्टिकरण माग्दै खेलाडीहरूलाई बन्द प्रशिक्षणमा फर्काएको थियो । यसपछि पनि कोरियन प्रशिक्षकले पुनः सेलेक्सन लड्नु पर्छ भनेर कागज गर्न समेत दबाब दिएका थिए ।

बन्द प्रशिक्षणको समयमा पनि कोरियन प्रशिक्षकले आफूलाई नयाँ खेलाडी भएकोले असाध्यै कुट्ने र यातना दिँदै प्रतियोगिताबाट आउट गर्ने कोशिस गरेको नवीनले खुलासा गरे । अलिकति गल्ती ग¥यो भने पनि मर्नेगरी कुट्ने गर्दा उनको घुँडामा इन्जुरी भयो । डाक्टर अजय राणाले वेड रेस्टको सिफारिस गर्दा पनि कोरियन प्रशिक्षकले मानेनन् । उसले खेल्न नसके हेर्न भए पनि आउनुपर्छ भन्दा म खुट्टा खुच्याउँदै, खुच्याउँदै प्रशिक्षण स्थल जान्थेँ । अलिकति निको हुन नपाउँदै पुनः प्रशिक्षण गराइहाल्ने उसको यो व्यवहारले मैले जापान एसियाड खेल्ने माया नै मारिसकेको थिएँ । किनकि उ मलाई एसियाडमा लानै चाहँदैनथ्यो । तर मरो भाग्य बलियो, बन्द प्रशिक्षणको दुई महिनापछि कोरियन गुरु कोरिया फर्किएपछि मैले राहतको स्वास फेरेँ । मैले आराम गर्न पाएँ, मेरो घुँडा निको भो । हिरोसिमा एसियाड खेल्न पाएँ । त्यहाँ मेरो घुँडाले साथ नदिँदा पहिलो राउण्डमै फिलिपिन्सको खेलाडीसँग पराजित भएँ । अनुभवचाहिँ राम्रै बटुलेँ ।

हिरोसिमा एसियाडमा पुनः घुँडा इन्जुरी भएपछि नवीनको खेल–जीवन नै धरापमा पऱ्यो । उनी खेल्न त परै जाओस् दशरथ रङ्गशालाको एक चक्कर लगाउन सक्ने स्थितिमा पनि थिएनन् । यस्तो अवस्थाबाट गुज्रिरहेको बेला तत्कालिन राखेपका सदस्यसचिव केसव स्थापितसँगको जम्काभेट नवीनको लागि नवीन जीवन सावित हुन पुग्यो । साँचो अर्थमा भन्नुपर्दा ‘के खोज्छस् काना आँखा’ जस्तै बन्यो । स्थापितले नवीनको खेल जीवनको बारेमा सत्यतथ्य बुझ्दै घुँडाको अप्रेशनको सम्पूर्ण खर्च जुटाइदिँदा उनले नयाँ खेल–जीवन पाए । यसपछि ६ महिनाको विश्रामपछि उनी पुनः खेलमा फर्केका थिए । पुरानै जोश जाँगरका साथ आफ्नो खेल–जीवनको दोश्रो इनिङ शुभारम्भ गरेका नवीनले त्यसपछि जिल्ला, क्षेत्रियमा प्रथम स्थान हासिल गर्दै राष्ट्रियमा छनोट भए । इलाममा भएको पाँचौँ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा कीर्तिमानी खेलाडी दीपक विष्टसँग फाइनलमा पराजित भएपछि नवीनले आफ्नो सक्रिय खेल जीवनलाई पूर्णविराम लगाए ।

२०५२ सालदेखि राखेपअन्तर्गत तेक्वान्दोको सहायक प्रशिक्षक बनेर नवीनले प्रशिक्षण आरम्भ गरे । प्रशिक्षकको भूमिकामा पनि अब्बल सावित भएका उनले गोरखामा दुई वर्ष, काभ्रेमा १० वर्ष तेक्वान्दोको प्रशिक्षण गराए । ती जिल्लामा तेक्वान्दोको विकास र विस्तारको लागि उनले निभाएको भूमिका अहिले पनि चर्चायोग्य मानिन्छ । त्यसपछि ललितपुर हुँदै काठमाडौं भित्रिएका उनी सहायक मुख्य प्रशिक्षकको भूमिकामा देखिए । तेक्वान्दोको विकास विस्तारमा अनवरत ३२ वर्षे विताएका नवीनले ०७६ सालमा जीवनकै उत्कृष्ट फलको रूपमा ‘मुख्य प्रशिक्षक’को जिम्मेवारी पाए । तेक्वान्दोमा निर्वाह गरेको अहम् भूमिकाको सम्मान गर्दै राखेपले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको थियो । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नवीनकै नेतृत्वमा उत्रिएको तेक्वान्दो टोलीले नेपालका लागि सर्वाधिक १२ स्वर्ण पदक जित्दै कीर्तिमान समेत बनाएको थियो ।

नवीनले प्रशिक्षकको भूमिका निर्वाह गरेको अहिले २५ वर्ष भइसकेको छ । यो अवधिमा उनले ३० जना अन्तर्राष्ट्रिय खेलाडीको उत्पादन गरेर तेक्वान्दोको वृत्ति–विकासमा अहम भूमिका निभाएका छन् । नवीनले उत्पादन गरेका खेलाडीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ५ स्वर्ण, १ रजत र २ काश्य पदकसमेत जितेका छन् । तीमध्ये स्वर्ण पदक जित्ने खेलाडीहरूमा निर्मल श्रेष्ठ, निरञ्जन श्रेष्ठ, सक्षम कार्की, काजोल श्रेष्ठ र भूपेन श्रेष्ठ थिए । त्यस्तै, युथ ओलम्पिकतर्फ रञ्जन श्रेष्ठले सहभागिता जनाएका थिए । योबाहेक वल्र्ड च्याम्पियनसीप र एसियाली खेलकुदमा नवीनले उत्पादन गरेका थुप्रै खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

खेलाडी र प्रशिक्षकमा अब्वल सावित भएका नवीनले रेफ्रीतर्फ पनि ‘उत्कृष्ट रेफ्री’को उपाधि हात पारिसकेका छन् । २००९ मा वल्र्ड तेक्वान्दो फेडेरेसन (डब्लुटीएफ) द्वारा भारतको बेङ्गलोरमा आयोजना गरेको रेफ्री सेमिनार उनले रेफ्री कोर्स पास गरेका थिए । रेफ्री कोर्स पास गरेको छोटो समयमै नवीनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), एसियन च्याम्पियनसिप र वल्र्ड च्याम्पियनसिप जस्ता अफिसियल गेममा रेफ्रीको भूमिका निर्वाह गर्ने अवसर पाए । त्यस्तै जोर्डनमा सम्पन्न एसियन च्याम्पियनसिपमा नवीनले उत्कृष्ट रेफ्रीको उपाधि समेत जित्न सफल भए । उत्कृष्ट रेफ्रीको उपाधि जिते सकेपछि उनी अहिले नेपालको मात्र नभै एसियाकै उत्कृष्ट रेफ्रीमा गनिन्छन् । यसरी खेलाडी, प्रशिक्षक र रेफ्री तिनै विधामा नवीनले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम रोशन गर्न सफल भएका छन् । विगत ६ वर्षदेखि नेपाल तेक्वान्दो संघको रेफ्री कमिटीको संयोजकको रूपमा कार्यरत नवीन विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) को दोश्रो श्रेणीको रेफ्री हुनुको साथै एसियन तेक्वान्दो रेफ्री कमिटीको सदस्य समेत हुन् ।

तेक्वान्दो खेलाडीको रूपमा सक्रिय रहँदा नै समग्र तेक्वान्दो खेलको विकासको मूल उद्देश्य लिएर नवीनले ०४९ साल वैशाख १ गते ‘कोटेश्वर तेक्वान्दो डोजाङ’को स्थापना गरेका थिए । नेपालको पहिलो तेक्वान्दो डोजाङको रुपमा परिचित यो डोजाङ अहिले नेपालकै सर्वोकृष्ट डोजाङको रूपमा चिनिन्छ । यो डोजाङले वर्तमान अवस्थासम्म दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी उत्पादन गरिसकेको छ भने अहिले पनि अनवरत रूपमा तेक्वान्दो खेलको श्रीवृद्धिको लागि यो डोजाङ कटिबद्ध भएर लागेको छ । नेपालको नम्बर एक डोजाङको रूपमा स्थापित यो डोजाङबाट उत्पादित खेलाडी विभागीय टीम आर्मी, पुलिस र सशस्त्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दै आएका छन् । जसलाई डोजाङले ठूलो उपलब्धिको रूपमा लिएको छ ।

तेक्वान्दोको ३२ वर्षको अनवरत यात्रामा ठूलो संघर्ष गरेका नवीनका थुप्रै अविष्मणीय र खुशीका क्षणहरू छन् । तीमध्ये आफ्नो डोजाङबाट छनोट भएका दुई जना खेलाडी निर्मल श्रेष्ठ र निरञ्जन श्रेष्ठले पाकिस्तानमा आयोजना भएको नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्दाको क्षणलाई कहिल्यैै बिर्सन सक्तैनन् । यो नै उनको खेल जीवनको सबैभन्दा अविष्मणीय क्षण बनेको छ । त्यस्तै, १३औँ सागमा मुख्य प्रशिक्षकको नेतृत्वमा नेपाललाई सर्वाधिक १२ स्वर्ण जिताउँदै तेक्वान्दोको साख बचाउन सफल भएको क्षण पनि उनको जीवनको अविष्मणीय घटना बनेको छ । तर, मुलुकलाई आफ्नो नेतृत्वमा १२ वटा स्वर्ण पदक दिलाउँदा राष्ट्रपतिबाट पाउनुपर्ने सम्मान नपाएकोमा भने दुःख प्रकट गरेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दोको वृद्धि विकासमा गरेबापत युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार र पल्सर अवार्डमार्फत उत्कृष्ट प्रशिक्षकको सम्मानबाट सम्मानित भएका नवीनको भविष्यको योजना नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषदसंग समन्वय गर्दै तेक्वान्दो एकेडेमीमार्फत नयाँ खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सफलताको झण्डा फहराउने रहेको छ । त्यस्तै दीर्घकालिन योजनामार्फत चारवर्षे र आठवर्षे कार्यक्रम सञ्चालन गर्दै एसियन र ओलम्पिकमा पदक जित्ने लक्ष्य उनको रहेको छ ।