व्यवहारिक समाजवादको नमुना : मुक्तेश्वर महादेवघाट

व्यवहारिक समाजवादको नमुना : मुक्तेश्वर महादेवघाट



युवराज पौडेल, स्याङ्जा

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ५ स्थित एकराहेनजिकै जिल्लाकै नमुना मुक्तेश्वर महादेवघाट निर्माण गरिएको छ । यस घाट परिसरमा सामुदायिक भवन, शिव मन्दिर, मलामी बस्ने प्रतीक्षालय, शवको दाह-संस्कार गर्ने व्यवस्थित ठाउँ निर्माण गरिएको छ । मुक्तेश्वर महादेवघाट व्यवस्थापन समितिको निर्देशनमा एकातिर भौतिक निर्माणका कामहरू भएका छन् भने अर्कातिर सामाजिक कुसंस्कारमुक्त समाज निर्माणका लागि विभिन्न विधिविधानहरू बनाइएका छन् । ती विधि-पद्धतिहरू वैज्ञानिक र व्यवस्थित छन् ।

त्यहाँ मृतकको दाहसंस्कारका लागि आ-आफ्नो घरबाट ल्याइएका दाउराको प्रयोग गरिन्छ भने दाउरा बढी भएमा जगेडा कोषमा राखिन्छ । अपुग भएमा जगेडा कोषको दाउरा प्रयोग गर्ने प्रावधान मिलाइएको छ । शवको दाहसंस्कारपछि मलामीहरूलाई चिया खुवाएर त्यही दिन फुकाउने प्रचलन राखिएकाले तेह्र दिनमा अनावश्यक खर्च गरी मलामी खुवाउने झन्झटबाट निम्नवर्गीय मानिसहरूलाई मुक्त गर्दै आर्थिक बोझ कम गर्न खोजिएको छ । त्यसपछि किरियापुत्रीलाई चाहिने च्यादर, करूवा, मृतकको घरमा चाहिने कुर्ची, पाल, कम्मल, ताउला, पन्यु, खोँचा, धार्मिक पुस्तकहरू अति व्यवस्थित तरिकाले राखिएको छ । यी सबै सामग्री समुदायका जसले पनि आवश्यकताअनुसार प्रयोग गर्न पाउँछ ।

यस्तै, भेटीका रूपमा प्रत्येक सदस्यले अर्को सदस्यको मृत्यु हुँदा सत्तरी रूपियाँ मात्र दिने प्रचलन कायम गरिएको छ । यो घाटको सामुदायिक भवनका बाहिरी भित्ताहरूमा आध्यात्मिक निर्वाणसँग सम्बन्धित विभिन्न कोटेसनहरू लेखिएको छ । सदाचारका लागि मानिसलाई प्रेरित गरिएको छ । जैविक विविधता र पर्यावरणीय सन्तुलनलाई ध्यानमा राखी सामुदायिक भवनवरिपरि केरा, रूद्राक्ष, लिची, एलोभेरा, एभोकाडो, निमलगायत विभिन्न फलफूल र जडीबुटीका रूखहरू रोपिएका छन् ।

सामुदायिक भवनको छेउमै शिवमन्दिर बनाइएको छ, जहाँ प्रत्येक शिवरात्रिमा शिवभक्त श्रद्धालु भक्तजनहरूले शिवको पूजा-आराधना गरी प्रसाद ग्रहण गर्ने गर्दछन् । शिवरात्रिको दिनमा त्यहाँ मानिसहरूको ठूलै जमघट हुने गरेको छ ।

सामुदायिक भवन र शिवमन्दिरबाट केही मिनेटमै पुगिने घाटमा जानका लागि व्यवस्थित बाटो बनाइएको छ । घाट आँधीखोलाको किनारमा फराकिलो ठाउँमा छ, जसको निर्माणमा पर्यावरणीय स्वच्छतालाई समेत ध्यान दिइएको छ । शव दाहसंस्कार गर्दा मलामीलाई घामपानीबाट सुरक्षा दिन ट्रस्ट (प्रतिक्षालय) पनि बनाइएको छ ।

पहिले यस क्षेत्रमा मानिसको मृत्यु हुँदा पोखराको रामघाट वा राम्दी किनारमा शव दाहसंस्कार गर्ने प्रचलन थियो । परिवारका सदस्यको मृत्यु हुँदा साहु महाजनको चर्को ब्याजसहितको ऋण लिएर काजकिरिया उम्काउनुपर्ने र जसरी भए पनि शव दाहसंस्कारका लागि राम्दी वा पोखरा लैजानुपर्ने बाध्यता थियो । फेरि तेह्रौँ दिनमा मलामी खुवाउँदा उत्ति नै खर्च हुने कारणले विपन्न वर्गका मानिसका लागि यो एउटा ठूलो पीडाको विषय बनेको थियो । गरिब परिवारका लागि प्रियजनको मृत्युको पीडाभन्दा ऋणको पीडा बढी कारूणिक हुन्थ्यो । यस स्थितिलाई यो मुक्तेश्वर महादेवघाट र अभियानमार्फत् अन्त्य गर्ने प्रयास गरिएको छ ।

संविधानले निर्दिष्ट गरेको समाजवाद र गरिबी निवारणका लागि यस्ता संस्थाहरूको भूमिका असाध्यै महत्वपूर्ण रहने यसका परिकल्पनाकार, सामाजिक अभियन्ता तथा घाट व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मृत्युमा पनि वर्ग सिर्जना गरी गरिब वर्गलाई थिचिराख्ने सामन्तवादी सोचको अन्त्यका लागि र सामाजिक क्रान्तिमार्फत् व्यावहारिक समाजवादको अभ्यासका लागि हामीले यस अभियानको नेतृत्व गरेका हौँ ।’ यस्तै, आँधीखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेल भन्नुहुन्छ, ‘समाजमा समानता स्थापित गर्न र मितव्ययी संस्कारको विकास गर्न यस्ता संस्थाहरूले प्रेरणादायी भूमिका खेल्न सक्ने हुनाले यस्ता कार्यहरूलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

‘आर्थिक समस्याका कारण यसमा योजना अनुसारका बाँकी धेरै कामहरू अझै अघि बढाउन सकिएको छैन । यसलाई थप व्यवस्थित बनाउनका लागि सबैले हातेमालो गर्नुपर्दछ’- स्थानीय समाजसेवी डिल्लीरमण पौडेलको भनाइ छ । विडम्बनाको कुराचाहिँ यो छ कि नागडाँडा-कार्कीनेटा सडक पुनर्निमाणका क्रममा यसको सामुदायिक भवन, शौचालय र बाटोमा क्षति पुगेको छ ।