प्रतिबन्धित नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

प्रतिबन्धित नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ


प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । बताइएअनुसार यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा समेत रहेका पुनलाई दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो ।

पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् ।

पुन पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रतिबन्धित नेकपा र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ पर्नुलाई विशेष चासोका साथ हेरिएको छ ।