सांसदहरूले पुस ५ पछिको तलब पनि पाउने, सचेत तप्का आक्रोशित !

सांसदहरूले पुस ५ पछिको तलब पनि पाउने, सचेत तप्का आक्रोशित !


सनत आचार्य

प्रतिनिधिसभाका सांसदहरूले संसद् विघटन भएको अवधिको समेत एकमुष्ट तलब पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि उक्त निर्णयविरुद्ध मुद्धा परेको र सर्वोच्च अदातलले फागुन ११ को फैसलामार्फत् उक्त निर्णय बदर गरिदिएपछि संसद् पुनः ब्युँतिएको अवस्थामा उक्त अवधिबीचको तलबसमेत पाउन लागेका हुन् ।

संसद विघटन अवधिको समेत सांसदहरूले तलब पाउने भएपछि सचेत तप्का एवम् सर्वसाधारण आक्रोशित बन्न थालेका छन् ।

राजधानीको सीतापाइलानिवासी अक्षता श्रेष्ठ प्रधान भन्नुहुन्छ– ‘कुनै पनि मानिसले काम गरे पछि मात्र ज्याला वा तलब लिने हो । सांसदहरू संसदमै नछिरेर कसरी तलब लिन खोज्दैछन् ? यो त देश र जनताप्रतिको घात हो, अन्याय हो !’

प्रधान थप भन्नुहुन्छ– ‘कोभिड महामारीको कारणले पनि देश थला परेको बेला जनताको सम्पत्तिमा ब्रम्हलुट गर्न खोज्नु अत्यन्त गम्भीर विषय हो । जनप्रतिनिधिहरूको यस्तै गतिविधिका कारण सांसद जस्तो गरिमामय पदको बदनाम भएको छ ।’

प्रधानको अभिव्यक्ति आमजनताको भावनाको प्रतिनिधिमूलक आवाज हो भन्दा अतिरञ्जना ठहरिने छैन ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सांसदहरूले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताएका छन् ।

सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको तलब भने अन्य सांसदहरूको भन्दा बढी छ ।

राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन् ।