प्रचण्ड समूहलाई महतोको प्रश्न- ‘तपाईंहरूको पार्टी कुन हो ?’

प्रचण्ड समूहलाई महतोको प्रश्न- ‘तपाईंहरूको पार्टी कुन हो ?’



आफ्नै पार्टीबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई पदच्युत गरेर नयाँ प्रधानमन्त्री बनाउने रणनीतिमा सक्रियता दर्शाइरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले यतिबेला विभिन्न दलका नेतृत्वसँग भेटघाट तथा छलफल गरिरहेको छ । यस सिलसिलामा आज (१३ फागुन) प्रचण्ड समूह र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल भएको छ ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापनको फैसला गरेपछि निकै हौसिएका प्रचण्ड समूहको उत्साह बुधबार काङ्ग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि केही ओइलाउन पुगेको थियो । आज जसपासँगको छलफल पनि सो समूहको निम्ति उत्साह जगाउने प्रकारको नभएको बुझिएको छ ।

सदनमा प्रतिनिधित्व गर्नेहरूमध्येको एक दल जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतको टोली प्रचण्ड समूहका नेतालाई भेट्न पेरिसडाँडा पुगेको थियो । प्राप्त जानकारीअनुसार नेता महतोले प्रचण्ड पक्षसँग ‘तपाईंहरू नयाँ प्रधानमन्त्री बनाउन हामीसँग छलफल गर्दै हुनुहुन्छ, तर तपाईंहरूको दलचाहिँ कुन हो ? त्यो प्रष्ट हुनुपऱ्यो’ भनी जिज्ञासा राखेका थिए, जसको चित्तबुझ्दो जवाफ प्रचण्ड पक्षबाट आउन सकेन ।

प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन्, तीमध्ये दुई जना निलम्बित छन् । काङ्ग्रेससँग कुरा नमिल्दा जसपासँग मिलेर सरकार बनाउने रणनीति प्रचण्ड पक्षले बनाएको छ । जसपासँग मिले पनि आफ्नो पक्षमा रहेका सांसदहरूका अलावा थप २० सांसद केपी पक्षबाट आफ्नोतर्फ तान्नुपर्ने आवश्यकता प्रचण्ड समूहलाई पर्दछ, जो सहज देखिन्न । काङ्ग्रेससँग पनि प्रचण्ड-माधवको चाहनाअनुसार कुरा मिल्ने लक्षण नदेखिएको नेकपाकै एक नेताले बताए ।

पुनःस्थापनाको फैसलालगत्तै केपी ओली राजीनामा दिन बाध्य हुने र आफू प्रधानमन्त्री बन्ने बाटो सहज हुने सोचमा रहेका प्रचण्ड प्रधानमन्त्री ओलीले राजीनामा दिनुको साटो सर्वोच्चको आदेशअनुसार संसदीय प्रक्रिया अवलम्बन गर्ने भएपछि सत्ता समीकरण जटिल बन्दै गएको छ, जो प्रचण्ड समूहको लागि प्रीतिकर छैन ।