‘सेज’ सञ्चालनमा सुस्तता किन ?

‘सेज’ सञ्चालनमा सुस्तता किन ?


  • पुनहरि बेल्बासे, भैरहवा

मुलुककै पहिलो निर्यातमुखी परियोजना हो, रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) । मन्त्रीपिच्छे उद्घाटन गर्दासमेत सेज अझै पूर्ण रूपमा सञ्चालनमा आउन भने सकेको छैन । सेजमा अहिले तीन वटा उद्योग पूर्ण रूपमा सञ्चालनमा छन् भने केही उद्योग निर्माणाधीन अवस्थामा छन् ।

सरकारले ऐनअनुसार उद्योगीलाई कुनै सेवा–सुविधा उपलब्ध गराउन सकेको त छैन नै आवश्यक नियम, कानूनसमेत बनाएको छैन । यस्तो अवस्थामा पनि केही उद्योगीले उद्योग निर्माण गरेर आफ्ना उत्पादन बाह्य मुलुक निकासी गरेका छन् । सेजमा स्थापित शक्ति मिनरल्स्, ब्रिलियन लाइटस् र बिस्तार ग्लोबलले चालु आर्थिक वर्षको ६ महिनामै २० करोड ६१ लाख रुपैयाँ बराबरको आफ्नो उत्पादन भारत निकासी गरेका छन् भने आन्तरिक बजारमा ७ करोड २८ लाख रुपैयाँको बिक्री गरेको विशेष आर्थिक क्षेत्रका इन्जिनियर अर्जुन पाण्डेले बताए ।

‘केही उद्योग उद्योग निर्माणमै डराइरहनुभएको छ तर स्थापित उद्योगले राम्रो निकासी गर्नुभएको छ’, इन्जिनियर पाण्डेले भने, ‘उत्पादन गर्ने बस्तुको पहिचान गर्ने र मार्केट बुझ्ने हो भने कुनै समस्या छैन भन्ने सेजमा स्थापित तीन उद्योगलाई उदाहरणका रूपमा लिन सकिन्छ ।’ शक्तिले चुनढुङ्गा प्रशोधन गर्दै आएको छ भने ब्रिलियनले एलईडी लाइटस् र बिस्तार ग्लोबलले स्टीलका भाडा उत्पादन गर्दै आएको छ । धेरै उद्योगीहरूले सेजमा स्थापना हुने उद्योगको भविष्य छैन भनिरहेका बेला यी उद्योगीले भने राम्रो सन्देश दिएका छन् ।

निर्यातलाई प्रवद्र्धन गर्ने र मुलुकलाई आत्मनिर्भर बनाउने योजनासहित सरकारले पहिलोपटक भैरहवामा सेजको स्थापना गरेकोे हो । तर सञ्चालनका लागि लामो समय ऐन नै बनेन भने आवश्यक विद्युत् समेत उपलब्ध भएन । विद्युत्का लागि सवस्टेशन बनाउने सुरसारै छैन । ऐन बने पनि आवश्यक नियम, कानून बनेका छैनन् । जसले गर्दा सेज विकास प्राधिकरणले आफ्नै कर्मचारी राख्नसमेत पाएको छैन । ‘नियम, कानून बनेमा हामीले आफ्नै कर्मचारी राख्न पाउँथ्यौँ, स्वायत्त संस्था चलाउन यसले सहज हुने थियो’, पाण्डेले भने ।

माथिल्लो तहका कर्मचारी काठमाडौंकेन्द्रित छन् भने भैरहवा कार्यालयमा अधिकांश करारका कर्मचारी नियुक्त गरिएको छ । जसले गर्दा उद्योगीका तत्काल आइपर्ने समस्या समाधान गर्न कठिन पर्ने गरेको छ । सरकारी सुविधाविनै पनि पछि सुविधा पाउने आशमा उद्योगीले अहिले ६ वटा उद्योग निर्माण गरिरहेका छन् । डेढ दशकअघि नै स्थापित सेज अझैसम्म पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसक्नु सरकारकै लागि लाजमर्दो विषय बनेको भन्दै आलोचना हुने गरेको छ ।

सेजमा स्थापित उद्योगले आफ्नो उत्पादनको ६० प्रतिशत बाह्य मुलुक अनिवार्य निकासी गर्नुपर्छ । ४० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्न पाउँछन् । त्यहाँ स्थापना हुने उद्योगले भारत निर्यातमा भन्सार छुट, कच्चा पदार्थ आयातमा भन्सार छुट साथै उद्योगका लागि लिएको जग्गाको भाडामा पहिलो वर्ष ५० प्रतिशत, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत छुट लगायत अन्य सुविधा दिइएको छ ।

संघका अध्यक्ष न्यौपाने भन्छन्, ‘सुविधा दियौँ भनेर मात्रै हुँदैन, कानून बन्नुपऱ्यो र लागू हुनुपऱ्यो ।’ अधिकांश ठूला उद्योगीले कच्चापदार्थ बाह्य मुलुकबाट ल्याएर वस्तु उत्पादन गरी निकासी गर्नु पर्ने भएकाले प्रतिस्पर्धा गर्न नसकिने भन्दै उद्योग निर्माणमै डराइरहेका छन् । कयौँ उद्योगीले यसअघि नै प्लट ल्याएर पनि उद्योग स्थापना नगरी छाडिसकेका छन् ।

४८ वटा प्लट रहेको सेजमा प्लट लिएका ७ उद्योगीले उद्योग निर्माणको सुरसार नै गरेका छैनन् भने २० वटा प्लट अझै खाली छन् । खाली प्लट झाडीले ढाकेको छ भने सरसफाइमा प्राधिकरणको ध्यानै छैन । सेजमा जय बुद्ध मेटल क्राप्ट प्रालिले उद्योग निर्माण गरी परीक्षण उत्पादन गरिरहँदा कोरोना भाइरसको सङ्क्रमण बढेपछि परीक्षण उत्पादन बन्द गरेको छ । उसले अहिलेसम्म पुनः उद्योग संचालनमा नल्याएको पाण्डेले बताए ।

अहिले पञ्चकन्या समूहले चार वटा उद्योग निर्माण गरिरहेको छ । अबको केही महिनामै निर्माण सकेर आफ्ना उत्पादन सुरु गर्ने पञ्चकन्याका व्यवस्थापक सुनिल कुसहवाले जानकारी दिए । यस्तै, अरिबा एग्रीकल्चर प्रालि र एस प्लास्टिक प्रोडक्टले उद्योग निर्माण धमाधम गरिरहेका छन् । तर सेजमा उद्योग निर्माणका लागि प्लट भाडामा लिएका निर इण्डस्ट्रिज प्रालि, ग्रोवेल इन्नोभेशन प्रालि, एलडिएस इलेक्ट्रिक प्रालि, क्रियशन वल्र्डवाइड प्रालि, नेशनल अग्र्यानिक प्रालि, अरिहन्त एग्रो प्रोसेसिङ इण्डस्ट्रिज, कुराकानी अनलाइन प्रालि भने उद्योग निर्माणको सुरसार नै गरेका छैनन् ।