भाषा घातमा प्रयोग भएका पाँच सूत्र

भाषा घातमा प्रयोग भएका पाँच सूत्र



■ रामेश्वर राउत ‘मातृदास’

‘भाषा’लाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र र जनताको प्राण, मुटु र मेरूदण्ड मानिएको छ । जलचर, थलचर, नभचर, र उभयचर समेत यो सृष्टिमा चार चर रहेका छन् । यी चारैचरमा बसोबास गर्ने प्राणीहरूको संख्यालाई एकिन गर्न गणितलाई समेत हम्मे छ । यति धेरै सङ्ख्यामा रहेका प्राणीहरूमध्ये सर्वाधिक प्रभावशाली प्राणीको रूपमा मानवसमाज रहेको छ । मान्छेलाई यसरी प्रभावशाली र प्रभावकारी प्राणी बनाउने प्रमुख शक्ति र ताकत भनेकै भाषा हो ।

लेख्य भाषा भएकै कारणले गर्दा मान्छेले आफ्नो शक्ति, सामर्थ्य, क्षमता, ज्ञान, गुण, भाषा, साहित्य, कला, संस्कृति, संस्कार ऋतिरिवाज, परम्परा, इतिहास, धर्म, दर्शन, सभ्यता, वैज्ञानिक आविष्कारबाट प्राप्त परिणाम, गणित, भूगोल लगायतका यावत ज्ञानका शक्ति स्रोतहरूलाई उपयोग र पुस्तान्तरण गर्न सकेका हौँ । लेख्य भाषा नपाएको र नभएको भए अन्य प्राणीहरूको जस्तै मानव समाजको पनि जन्मने, खाने, प्रजनन गर्ने र उमेर र आयु पुगेपछि यो पृथ्वीबाट बिदा भएर जाने बाहेक अरू औचित्य बाँकी नरहने निश्चित थियो । लेख्य भाषा भएकै कारणले गर्दा मान्छेले यो पृथ्वीमा भएका असङ्ख्य स्रोत र साधनहरूका बारेमा गहन ज्ञान हासिल गर्न सक्यौँ । आफूले हासिल गरेको ज्ञान विज्ञान, विद्या, बुद्धि र चेतनालाई पुस्तान्तरण गर्ने गर्विलो र दर्विलो सामथ्र्य बन्यो । यथार्थमा मान्छेलाई सर्वोत्कृष्ट प्राणीको पगरी दिलाउने दुर्लभ र अकल्पनीय शक्ति र सामर्थ्य भनेकै भाषा हो । भाषा नभएमा मानव समाज पनि अन्य जनावरहरूको झुण्ड बाहेक अरू केही नहुने निश्चित छ ।

१. यो पृथ्वीमा हजारौँ जातजातिका मानव समुदायको बसोबास छ । यी समुदायहरूका बीचमा अनेकौँ जातजातिहरू रहेका छन् । ती सबै जातजातिका मान्छेहरूले बोल्ने र लेख्ने भाषाहरूमा उनीहरूको आफ्नो बेग्लै, विशिष्ट र प्रमाणयुक्त लिपि र वर्णाक्षरहरू छैनन् । आफ्नो भाषामा सम्प्रेषण गर्ने भाषाको लिपि र वर्णाक्षरहरू लिएर काम चलाएका हुन्छन् । कतिपय जातिहरूको आफ्नो भाषामा लिपि र वर्णाक्षरहरू नभएकाले उनीहरूको भाषा कथ्यमा मात्र सीमित हुन्छ र लेख्य स्वरूपमा आफ्ना भावनाहरू अभिव्यक्त गर्न चाहेमा अरूको भाषाको लिपि र वर्णाक्षरहरूको वैशाखी (सहयोग) अनिवार्य हुन्छ ।

२. यो पृथ्वीतलमा भएका लिपिहरूमध्ये सर्वप्राचीन, आधिकारिक र कालजयी ‘देवनागरी’ लिपिलाई मानिएको छ । कालजयी, ज्ञानको पनि ज्ञान, विज्ञानको पनि विज्ञान मानिएको अविनाशी चेतनाको पुञ्ज ‘वेद’ देवनागरी लिपिमा आधारित वर्णाक्षरहरू संस्कृत भाषामा लेखिएको छ । वेदको कूल र मूलभूमि भनेकै सृष्टिको शिर भागमा अवस्थित नेपाललाई मानिएको छ । ‘वेद’ लाई श्रुती भनिएको छ । ‘वेद’लाई सुन्ने र यो पृथ्वीमा अवतरण गराउने महान् तपस्वी ज्ञानी-गुणी अठासी हजार ऋषिमुनि (आदिवैज्ञानिक) हरूले आफ्नो मूल तपस्थली यही नेपाल भूमिलाई रोजेका र मानेका जीवन्त वास्तविकताहरू अखण्डनीय रहेका छन् ।

३. भाषा, साहित्य, कला, संस्कृति, योग, ध्यान, औषधी, विज्ञान, मानव सभ्यता आदि सम्पूर्ण ज्ञानोदयको स्रोतको रूपमा रहेको हिमवतखण्ड नेपाललाई यथार्थमा ‘पूर्वको ग्रीक’ भन्दा अन्यथा हुँदैन । ‘न्याय नपाए गोर्खा जानू’ भन्ने संसार प्रसिद्ध उक्तिले यो भूमिले आफ्नो न्यायिक प्रखरता र विश्वसनियतालाई समेत अत्यन्त दर्बिलो, गर्विलो र प्रभावशाली बनाएको थियो भन्ने तथ्यलाई पुष्टि र प्रमाणित गर्दछ ।

४. यो संसारमा भएका कुनै पनि भाषा, साहित्य, कला, संस्कार, संस्कृति, धर्म, ऋतिऋवाज, परम्परा आदिका वैरी र विरोधी कहिल्यै भएनौँ हामी नेपालीहरू । भनौँ त नेपाली धरातल सबैको हितचिन्तक समन्वयवादी सभ्यताले हिमायती छ । आज पनि हाम्रा ती महान् पूर्वजहरूले बसालिदिएको ‘बाँच र बाँच्न देऊ’ भन्ने ‘सर्वजन हिताय सर्वनज सुखाय’कै पक्षमा छौँ हामी आम अधिकांश सफेद हृदय भएका नेपालीहरू । दुर्भाग्य, हाम्रो यही समन्वयकारी र सहनशील भावनाको भ¥याङ चढेर अरू त अरू हाम्रो नैसर्गिक संवैधानिक भाषिक अधिकारबाट समेत हामी नेपालीहरूलाई बञ्चित बनाउने विषाक्त बेइमानी र अत्याचार भैराखेको छ । लेख्य भाषा समाप्त बनाउने अत्याचार भनेको नेपाली समाजलाई मानवबाट पुशसमाजमा परिणत गराउने अन्धकार अत्याचार हो । यो अत्याचार हाम्रा लागि कहिल्यै र कुनै पनि हालतमा मान्य र स्वीकार्य छैन ।

५. यो संसारकै भाषाहरूको पनि भाषाका रूपमा रहेको ध्वनि विज्ञानमा आधारित देवनागरी लिपियुक्त, संस्कृत भाषा हाम्रा नेपालीहरूलाई र नेपाल राष्ट्रलाई ‘वरदानस्वरूप’ प्राप्त भएको थियो । देवनागरी लिपि र यसमा भएका चौसठ्ठी (६४) वटा वर्णाक्षरमा कहीं कतै भ्रम र द्विविधा थिएन र छैन । संस्कृत भाषा, विश्वकै भाषाभण्डार हो । संस्कृत भाषामा नभएको तत्व संसारका अन्य कुनै पनि भाषामा पाइँदैन । यस्तो महानतम् र समृद्धशाली भाषालाई ‘मृतभाषा’ भन्ने अत्याचारीहरू, आवरणमा मान्छे देखिएता पनि सारमा यी अपराधीहरूलाई मान्छे मान्न सकिंदैन । यही आततायी, अत्याचारी, वेइमानहरूका कारण र यिनीहरूकै अन्धकार विषाक्त योजनाले गर्दा नेपाली भाषालाई समेत निरन्तर र बारम्बार प्रहार भैराखेको छ ।

६. भाषा सम्पूर्ण समाजको अनिवार्य आवश्यकता हो । संस्कृत भाषा पठन–पाठन गर्नबाट बञ्चित बनाएपछि नेपाली समाजले कथ्यको रूपमा रहेको प्राकृत (खस, पर्वते, नेपाली)ं भाषालाई अवलम्बन गर्‍यो । प्राकृत (नेपाली) भाषाको कुल र मूल पनि संस्कृत भाषाकै देवनागरी लिपि र वर्णाक्षरहरू नै भएको नेपाली समाजले सम्पूर्ण रूपमा नेपाली भाषालाई सहजै आत्मसात गर्‍यो । संस्कृत भाषाका शब्दहरू नै नेपाली भाषाको प्रमुख कुल र मूल नै भयो । आगन्तुक शब्दभण्डारका रूपमा नेपालमा बसोबास गर्ने एकसय पच्चीस (१२५) जातजातिका भाषा, साहित्य, कला, संस्कार, संस्कृति, सभ्यता आदिबाट आएका शब्दावलीहरू र बाह्य आगन्तुक शब्दका रूपमा मुलुकको सीमानाभन्दा बाहिरका देशदेशावरको समाजको भाषाबाट प्रवेश पाएका शब्दहरू समेतको घनीभूत संयोजनले गर्दा नेपाली भाषा अत्यन्त प्रभावशाली र व्यापक बन्दै आइरहेको छ । नेपाली भाषाको यही गतिशील प्रगतिलाई देख्न नचाहने नेपाल र नेपाली भाषाका वैरीहरूबाट नेपाली भाषाको समूल शाखलाई नै समाप्त पार्न गोप्य रूपमा अनेकांँ विषाक्त षडयन्त्रहरू हुन थाले र यो क्रम आजसम्म पनि यथावत निरन्तर चलिरहेकै छ । संस्कृत भाषा जस्तो सृष्टिकै सर्वाधिक समृद्धशाली भाषालाई मृतभाषा भने भनाएर नेपाली समाजबाट विस्थापित गराएजस्तै नेपाली भाषाको शुद्ध, सम्पुष्ट र परिष्कृत शब्दावलीहरूलाई भताभुङ्ग बनाएर दश वर्षभित्र सम्पूर्ण रूपमा नेपाली भाषालाई प्रयोजनहीन बनाएर नेपाल र नेपाली समाजबाटै नेपाली भाषालाई पूर्णतः विस्थापित गर्ने भाषाघाती, आततायी, अत्याचारीहरूको विषाक्त उद्देश्य र योजना रहेको देखिन्छ । भाषाघातीहरूले नेपाली भाषालाई उनीहरूको विषाक्त योजना अनुसार प्रयोजनहीन बनाउन प्रयोग गरेका पाँचवटा आधारहरू यस्ता छन् जस्तै-

क) झर्रोवाद : झर्रोवाद भनेको संस्कृत भाषाबाट नेपाली भाषामा आएका शब्दहरूलाई तत्सम र तद्भवीकरणको जाली, किर्ते र वेइमानीपूर्ण बाह्य जलप लगाएर पूरै हटाउँदै जाने गोप्य र अघोषित वेइमानी प्रष्ट भएको छ । जबकि तत्सम र तद्भव भनेको यी दुवै शब्द संस्कृत हुन् । संस्कृत र प्राकृत (नेपाली) भाषाको सम्बन्ध जन्मजात अभिन्न र अकाट्य छ । संस्कृत भाषा नै नेपाली भाषाको कूल र मूल भएकाले यो जन्मजात रहँदै आएको सम्बन्ध टुटाएर र फुटाएर झर्रोवादका नाममा नेपाली भाषालाई यसको मूलभाषा संस्कृतबाट एक्ल्याउने र बेग्ल्याएर अलग थलग बनाउने बेइमानी देखिन्छ । धेरै वर्षसम्म यी किर्ते झर्रोवादका नाममा नेपाली भाषामाथि बेइमानीपूर्ण विषाक्त हमला भयो ।

ख) सरल र प्रविधिमैत्री : नेपाली भाषालाई प्रयोजनहीन बनाउने यो अत्यन्त भयानक, खतरनाक र विषाक्त सूत्र हो । भाषाघातको धरातलमा आएको अपराधीहरूको यो विषाक्त सूत्र कोरोना भाइरसभन्दा पनि बढ्ता भयानक र खतरनाक छ । सरल र प्रविधिमैत्रीपूर्ण सूत्रको विषाक्त उद्देश्य देवनागरी लिपिमा आधारित चौसठ्ठी (६४) वटा वर्णाक्षरहरूमध्ये हाल बाउन्न (५२) वटा वर्णाक्षरहरू प्रयोगमा रहेका छन् । आम सर्वसाधारण जनमानसमा ‘सरल र प्रविधिमैत्रीपूर्ण’ को आवरण देखाएर भित्रीरूपमा पहिलो झमटमै २३ वटा वर्णाक्षरहरूलाई हटाउने, घटाउने र समाप्त बनाउने देखिन्छ। यही सूत्र अनुसारको शब्दकोश, पाठ्यपुस्तक र अन्य प्रकाशनहरू धमाधम प्रकाशन गरेर अवोध बालबालिकाहरूबाट शुल्क उठाएर, अभिभावकहरूलाई कुनै थाहा र जानकारी नै नदिइकन धमाधम हाम्रा वर्णाक्षरहरूमाथि प्रहार भैराखेका छन् । शुल्क हामीहरूबाट असुलउपर गराएर हाम्रै भाषाका अक्षरहरू समाप्त बनाउने यो अन्धकार अपराधभित्र जस्तै स्वरवर्णका सोह्र (१६) वटा वर्णाक्षरअरू अ आ इ ई उ ऊ ऋ ऋृ । लृ लृृ ए ऐ ओ औं अं अः हरू मध्येबाट अ आ इ र उ राखेर अरू बाँकी १२ वटा हटाउने र हटाउँदै जाने अत्याचार युद्धस्तरमा धमाधम भैराखेको देखिन्छ । यसरी १२ वटा स्वरवर्णका अक्षरहरू हटाउँदा यी वर्णअरूबाट बनेका यसपूर्वका सम्पूर्ण शब्दहरू वेवारिसे र अशुद्ध पुष्टि प्रमाणित गरेर नेपाली भाषामाथि विषाक्त हमला भैराखेको छ । त्यस्तै छत्तीस वटा (३६) व्यञ्जनवर्णहरू क ख ग घ ङ । च छ ज झ ञ । ट ठ ड ढ ण । त थ द ध न । प फ ब भ म । य र ल व श । ष स ह क्ष त्र ज्ञ । मध्येबाट क्ष त्र ज्ञ, ङ, ञ, ण, व, श, ष लगायतका वर्णहरू हटाउने, घटाउने र विस्थापित गराउने भयानक भाषिक अत्याचर तीब्र रूपमा भैराखेको छ । यो भाषिक अन्याय र अत्याचारबाट एकसाथ देवनागरी लिपि र वर्णाक्षरहरूमाथि ठूलो मार पर्छ । हाम्रा महान् पूर्वजहरूका कृतिहरू नाश र कृत्रिम रूपमा अशुद्ध प्रमाणित गर्दै जानेदेखिन्छ । त्यस्तै ः

ग) युनिकोड : यो विषाक्त सूत्रअन्तर्गत हजारौँ वर्षको अभ्यास, प्रयोग र परीक्षणबाट शुद्ध, परिष्कृत र सम्पुष्ट भैसकेका नेपाली भाषामा भएका संयुक्त वर्णहरूलाई एकसाथ समाप्त बनाउने गोप्य अत्याचार भैराखेको छ । जस्तैः उक्त, अतिरिक्त, भक्त, भक्ति, शक्ति, उक्ति, जुक्ति, विद्मा, पद्म लगायतका लाखौं संयुक्त वर्णाक्षरहरूलाई समाप्त बनाउने उद्देश्यले भाषा माफिया र तस्करहरूले विषाक्त हमलालाई गैरकानूनी र असंवैधानिक तरिकाबाट एकमुष्ट रूपमा अगाडि बढाइराखेका छन् ।

घ) इम्बोष्ड नम्बर : यो चौथो आत्मघाती सूत्रअन्तर्गत देवनागरी लिपिमा आधारित भएका सम्पूर्ण वर्णाक्षरहरू र देवनागरी लिपिमा आधारित भएका अंकहरूलाई एकसाथ एकमुष्ट रूपमा नेपालमा सञ्चालित हुँदै आएका सवारी साधनहरूबाट देवनागरी लिपिमा लेखिएका अंक र अक्षरहरूलाई एकसाथ विस्थापित गराउने प्रष्ट छ । यो भाषिक अत्याचार र हमला नेपालको संविधान, २०७२ को धारा १(१), धारा ७ (१), धारा २८, धारा ३२(३), धारा १३३(१), (२) एवं धारा २७४ समेतको विपरित छ । विभिन्न लोभन र प्रलोभनमा पारेर नेपालीहरूको जन्मजात नैसर्गिक भाषिक हमलालाई सम्पूर्ण जिम्दा नेपालीहरूले जागेर लाग्नुपर्ने अनिवार्यता रहेको छ ।

ङ) मध्यम मार्ग : भाषाघाती, आततायी, अत्याचारीहरूबाट अवलम्बन भएको यो ‘मध्यम मार्ग’ बाट माथि उल्लेख भएका चारवटा सूत्रबाट भए गरेका सबै भाषाघाती कार्यहरू सही र ठीक छ भन्ने भनाउने समूह हो ।

यी पाँचवटा विषाक्त माध्यमबाट सम्पूर्ण नेपालीहरूलाई लेख्य भाषा बिहीन बनाएर कथ्यमा मात्र सीमित राख्ने अत्यन्त खतरनाक अत्याचार योजनाबद्ध ढङ्गबाट भैराखेको छ । संस्कृत भाषाका तथाकथित विद् र विद्वानहरूलाई प्रयोग गरेर उनीहरूकै मुखबाट संस्कृत भाषलाई ‘मृत भाषा’ (Dead Language) भनाएर संस्कृत भाषालाई नेपाली समाजबाट विस्थापित गराएजस्तै नेपाली भाषाका विद, विज्ञ, प्रा.डा., प्राज्ञ, न्यायधीशाहरूको समेत सहभागिता गराएर दशवर्षभित्र सम्पूर्ण नेपाली भाषाको लेख्य स्वरूपलाई समाप्त बनाउने भाषिक हमलाको विरोध र विरूद्धमा सम्पूर्ण जिम्दा नेपालीहरू जागरूक भएर लाग्नु अनिवार्य छ । लेख्य भाषाबाट बञ्चित बनाएपछि मानव समाज पशुमा परिणत हुन्छ । उसको भाषा, साहित्य, कला, संस्कार, संस्कृति, सभ्यता, ऋतिऋवाज, धर्म, परम्परा, सभ्यता आदि समाप्त हुने प्रष्ट छ । यसैले आफ्नो नैसर्गिक संवैधानिक भाषिक अधिकार रक्षाका लागि सम्पूर्ण जिम्दा नेपालीहरू जागेनौँ भने आउने हरेक युगले हामीहरूलाई बारम्बार धिक्कारीरहने निश्चित छ ।