व्यक्ति-पूजामा आधारित बहुदल !

व्यक्ति-पूजामा आधारित बहुदल !


  • स्वयम्भूनाथ कार्की

जब आस्था वा सिद्धान्तभन्दा दलहरूमा सर्वमान्य नेता, शीर्ष नेता आदि नामले व्यक्तिपूजा शुरु हुन थाल्छ तब बहुलवादको अन्त्य र केवल बहुदलको मात्र बर्चश्व हुन थाल्छ । दलको आधारभूत सिद्धान्त गौण हुन पुग्छ । समयको मागको बहानामा दलहरू जोडिन वा तोडिन लाग्दछन् । अनि यो कुरा गर्ने नेतालाई यो सैद्धान्तिक विचलन हो कि हैन भन्ने प्रश्न हुँदैन त्यहाँ नै बहुलवादको मृत्यु हुन्छ र तानाशाहको बिजारोपण हुन्छ । यो अवस्थाले बिस्तारै बहुदल जिमिन्दार र त्यसका रैतीको अवधारणामा लैजान्छ । यो नेपालका हरेक दलमा देखिँदै आएको अवस्था हो । संसद विघटनको मामिलामा एकै दलका दुई नेताहरू बीचको नग्न झगडाले यसलाई उत्कर्षमा पुऱ्याएकै हो ।

‘क्याडरवेस’ दल एक पटक सदस्यता लिएपछि सजिलै छोड्न नमिल्ने किसिमको दल हो । ‘नोट अफ डिसेन्ट’ भनिने गरेको राय बझाउने पद्धति यस्तै दलहरूको हो जहाँ कुनै निर्णय सर्वसम्मत मात्र हुन्छ, चित्त नबुझे राय बझाउने सुविधा दिइएको हुन्छ । जो कि विद्रोह जन्माएर दल विभाजनमा कि आत्मसमर्पणमा समाप्त हुने गर्दछ । कुनै पनि हालतमा दलभित्र वैचारिक विविधता कायम रहन सक्दैन । जति बेलासम्म रहन्छ गुटबन्दी रहने गर्दछ । यस्ता गुटहरूको सङ्घर्ष ‘प्रेम र युद्धमा सबै उचित छ’ शैलीको हुने गर्दछ । विना मनभेदको मतभेद यहाँ सम्भव नै हुन सक्दैन । यस्ता मनभेदको उपचार रक्तरंजित भएका उदाहरण पनि इतिहासमा छरपष्ट छन् । अब त्यस श्रृङ्खलामा नेकपा डबल अर्को सशक्त उदाहरण थप्ने बाटोमा छ ।

मासवेस आधारमा निर्माण भएको भनिएको दल नेपाली काङ्ग्रेसमा अब तीव्र गतिले बहुलवादको समाप्ति हुँदैछ । नेपालमा राजनैतिक चेतना फैलाउन अनि आफ्नो अधिकारको निमित्त सङ्घर्ष गर्ने पहिलो दल भनिएको यो दल अब आफू साम्यवादी जस्तै क्याडरवेसमा नगए समाप्त हुने डरमा छ ।

‘मासवेस’ भनेर कुनै वर्ग-समुहको प्रतिनिधित्व गर्ने दलमा यस्तो सर्वसम्मत सम्भव छैन, न कुनै नेताको व्यक्तिपूजा सम्भव छ । त्यसैले ‘मासवेस’ दलहरूको नेतृत्व यस्तै ‘क्याडरवेस’को आकर्षणमा जाँदैछ । त्यसैले धेरै दलहरूमा बैठक कुनै पर्वजस्तै हुन थालेको छ, त्यो पनि ‘जुठो’, ‘सुतक’ आदिले थुनिने किसिमको पर्व । मासवेस आधारमा निर्माण भएको भनिएको दल नेपाली काङ्ग्रेसमा अब तीव्र गतिले बहुलवादको समाप्ति हुँदैछ । नेपालमा राजनैतिक चेतना फैलाउन अनि आफ्नो अधिकारको निमित्त सङ्घर्ष गर्ने पहिलो दल भनिएको यो दल अब आफू साम्यवादी जस्तै क्याडरवेसमा नगए समाप्त हुने डरमा छ । नेता-नेताबीचको वैमनश्यतालाई जनसम्बोधनमा छताछुल्ल पारेर ‘वाहवाही’ बटुल्न युवा घोषित प्रौढ नेताहरूको प्रतिस्पर्धा देखिन्छ ।

केवल मतदान मात्र जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने ब्याख्या हुन थाल्छ । त्यसपछि मतदानलाई बिस्तारै स्थिरताको नाममा कुण्ठित गरिँदै जान थालिन्छ । जनताले आफूलाई भनेर छोडिएको मताधिकार पनि निश्चित समयावधि भन्दा पहिले पाउन्नौ भनेर रोक लगाइन्छ । जब यो रोक लगाउन अनेकौँ अड्चनहरू देखाइन्छ, कानुनी हतियारले रोक लगाइन्छ तब तानाशाहहरूको गर्भाधान हुन्छ । अनि बिस्तारै पोलपोट, इदीअमिन, चाउचेस्कु अवतरित हुन थाल्दछन् । वर्तमानमा नेपाल यही अवस्था भोग्दैछ ।

खाका स्पष्ट छैन, रूप पनि स्पष्ट छैन तर पोलपोट, इदीअमिन हुन सक्ने कच्चा पदार्थहरू प्रचुर मात्रामा देखिँदैछन् । त्यसैले नेपाली मनले न कुनै ‘क्याडरवेस’ दल खोजेको छ न ‘मासवेस’ नै । यस्ता दलहरूको कमी-कमजोरी औंल्याउनेवित्तिकै आफूलाई गद्धार भनिने छ । ‘तँ नेताको झोले’ भन्ने कुरा नेपाली समाजमा देखिन थालेका छन् । यो कुरा कुनै वर्गविषेशमा, कुनै समुदायविषेशमा वा कुनै जातिविषेशमा मात्र सीमित छैन, न कुनैै दलविषेशमा नै सीमित छ ।

नेपालका हरेक आन्दोलनमा साथ दिएर जनताले धेरै अभ्यास गरिसक्यो, आफ्नो समृद्धि र सुखको बलिदान दिइसक्यो । विगतका करिव पौने शताब्दीभर अनगिन्ती आन्दोलन गरिसक्यो तर कुनैको पनि सुरक्षित अवतरण हुन सकेन ।

नेपालीको दुर्भाग्य कि अहिलेसम्म यस्तो कुनै दल अस्तित्वमा आउन सकेको छैन । कुनैले कसैले आफू यस्तो हुँ भन्ने देखाउन खोजे पनि अलिकति मौका पाउनेवित्तिकै उ पनि आफ्ना मतदातामाथि, आफ्ना सदस्यहरूमाथि स्वामित्व जनाउन नै खोज्दछ । यसरी बारम्बार विश्वास गुमाउन पुगेका दलहरूलाई जनता आफ्नो अधिकारको निमित्त हैन त्यो दलले पुऱ्याउन सक्ने आफ्नो व्यक्तिगत फाइदा हेरेर मत दिन वा समर्थन गर्न बाध्य छन् । घोर निराशामा अरु केही नभए पनि अलिकति व्यक्तिगत लाभ नै भए पनि लिन जनता पछि पर्न चाहँदैन । जनता सङ्घर्ष गर्न तैयार छ, तर त्यो सङ्घर्षले स्थापना हुने विकल्पले भरोसा दिन सकेको छैन ।

नेपालका हरेक आन्दोलनमा साथ दिएर जनताले धेरै अभ्यास गरिसक्यो, आफ्नो समृद्धि र सुखको बलिदान दिइसक्यो । विगतका करिव पौने शताब्दीभर अनगिन्ती आन्दोलन गरिसक्यो तर कुनैको पनि सुरक्षित अवतरण हुन सकेन । के यस्तोमा जनताको अधिकारको उपभोक्ता हैन जनतालाई अधिकार उपभोग गराउन तैयार आस्थाआधारित दलहरू निक्लेलान् ? दल आस्था सिद्धान्तको निमित्त हो व्यक्ति-पूजाको निमित्त हैन भन्ने कुरा कसैको मगजमा पस्ला ? प्रश्न अनुत्तरित नै छ ।