प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटबाट ‘अतिवाम’ कित्ता आतङ्कित !
प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार १९:४१
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमाओवादी एवम् विभाजित नेकपाको एउटा घटकका अध्यक्ष प्रचण्ड र प्रमुख विपक्षी दल काङ्ग्रेसभित्रको विद्रोही पक्षसमेतले निर्णय आफ्नो पक्षमा नआए ‘ठीक नहुने’ भन्दै न्यायपालिकालाई चुनौती दिएको परिवेशमा न्यायमूर्तिहरू त्रसित भएका समाचार सूत्रहरूले जनाएका थिए । खासगरी संवैधानिक इजलासका न्यायाधीशहरूमा त्रास उत्पन्न भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार (फागुन १० गते) प्रधानसेनापति पूर्णचन्द्र थापालाई आफ्नो कार्यकक्षमै निमन्त्रणा गरेर न्यायालय र न्यायाधीशहरूको सूरक्षा परामर्श गर्नुभएको थियो ।
सत्तापक्ष र विपक्ष, दुवैतिरबाट सूरक्षा चुनौती थपिएकोले प्रधानन्यायाधीश राणा ज्यादा गम्भीर बन्नुभएको थियो । छिट्टै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अन्तिम निर्णय आउन सक्ने र जेसुकै निर्णय आए पनि न्यायालय र न्यायाधीशको सूरक्षामा समस्या आइपर्न सक्ने विषयलाई लिएर प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच एक घण्टासम्म गम्भीर वार्तालाप भएको थियो । न्यायाधीश र न्यायालयले आफ्नो सूरक्षामा चिन्ता गर्नुपर्ने स्थिति नरहेको भन्दै सेनापति थापाले पूर्ण सूरक्षाको विश्वास वार्तालापका क्रममा दिलाउनुभएको बुझिएको छ । त्यस अवसरमा सर्वोच्च अदालतको नयाँ भवन निर्माण गरिने जमिनका बारेमा पनि छलफल भएको बताइएको छ ।
प्रधानन्यायाधीश र प्रधानसेनापतिबीचको भेटवार्तालाई लिएर देशका अति वामपन्थी एवम् वामपन्थी कित्ता र नेपाली राष्ट्रियता तथा राष्ट्रिय एकताविरुद्ध कुनै न कुनै रूपमा क्रियाशील तत्वहरू तरङ्गित भए भने तिनले उहाँहरूको स्वाभाविक भेटलाई अस्वभाविक ढङ्गले हल्ला र चर्चाको विषय बनाएका छन् ।