राष्ट्रपति निवासमा रणनीतिक बैठक
प्रकाशित मिति
१२ फाल्गुन २०७७, बुधबार ०१:०८
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बढ्दो महिला हिंसालाई लिएर सरोकार पक्षबीच रणनीतिक बैठक गर्नुभएको छ । महिलाविरुद्धका हिंसा, विशेषगरी बढ्दो बलात्कारलाई लिएर चिन्तित राष्ट्रपतिले के गर्दा बलात्कार र महिलामाथि हुने अन्य हिंसाहरू रोक्न सकिन्छ भनी सुझाव माग्नुभएको थियो । आफूले वर्षौंदेखि महिलाविरुद्धको हिंसा कम गर्न नीति, कानूनमा काम गरेको उल्लेख गर्दै उहाँले के गर्दा हिंसा कम हुन्छ, के गर्दा बलात्कार रोकिन्छ, गर्नुपर्ने कामको मलाई सूची दिनुस् भनी माग गर्नुभएको थियो ।
२०७७ साल फाल्गुण ६ गते राष्ट्रपति निवासमा गरिएको उक्त बैठकमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री जुली महतो, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौला निरौला, संवैधानिक अङ्गका पदाधिकारीहरू, महिला अधिकारकर्मीहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । मानसिकता परिवर्तन अहिले पनि सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै राष्ट्रपतिले भन्नुभयो- ‘कानूनमा कमी भए कानून बनाउनु पऱ्यो, एक्सनमा कमी भए एक्सन गर्नु पऱ्यो । के गर्दा चामत्कारिक परिवर्तन हुन्छ त्यो गर्न म तयार छु ।’
बैठकमा सहभागीहरूले कानूनको कार्यान्वयन, मानसिकता परिवर्तन, पाठ्यक्रममा नैतिक शिक्षा, नागरिक शिक्षा अनिवार्य गर्नुपर्ने, सर्वसाधारणलाई कानूनको बारेमा जानकारी दिनुपर्ने, बलात्कार तथा लैङ्गिक हिंसामा दण्डहीनताको अन्त्य गर्नु पर्नेलगायतका सुझाव दिएका थिए । राष्ट्रपति भण्डारीले विगत लामो समयदेखि महिलाअधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरू, कानून निर्माण गर्ने निकाय तथा मन्त्रालय एवम् नीति, कानूनको कार्यान्वयनका लागि काम गर्नुपर्ने संवैैधानिक निकायहरूलाई एकै ठाउँमा राखेर रणनीतिक बैठक गर्नुबाट महिला हिंसाको विरुद्धमा उहाँको गम्भीर सरोकार रहेको स्पष्ट भएको छ । बैठकपछि उहाँले कानून कार्यन्वयनका निकायहरूलाई निर्देशन दिनका लागि सरकारको ध्यानाकर्षण गर्नुभएको बुझिएको छ ।