राजेशले पैदा गरे तरङ्ग

राजेशले पैदा गरे तरङ्ग



विगत लामो समयदेखि नेपालको मिडिया र नागरिक समाजमा सक्रिय डा. राजेश अहिराज झाको प्रदेश प्रमुखमा भएको नियुक्तिले तरङ्ग पैदा गरेको छ । राजेशले यही २०७७ साल फाल्गुण १० गते आफ्नो कार्यकक्षमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको पूर्ण कदको तस्बिर राखेर कार्यभार सम्हाल्नुभएको घटनाले थप तरङ्ग पैदा गरेको छ । राष्ट्रनिर्माताको तस्बिर राखेर कार्यभार सम्हाल्नुले देशभक्तिको मात्र नभइ प्रदेश नं २ ले राष्ट्रनायक पृथ्वीनारायण शाहको योगदानको कदर गरेको सन्देश पनि प्रवाह गरेको छ र, उहाँको यो कार्यको सर्वत्र प्रशंसा भएको छ । मुलुकमा माओवादीको हिंसात्मक सङ्घर्षले सफलता पाएसँगै विभिन्न ठाउँमा राष्ट्रनिर्माताका सालिक ढालिएका थिए ।

प्रदेश प्रमुखमा नियुक्त भएर कार्यथलो जनकपुर पुग्दा गत आइतबार डा. झाको भब्य स्वागत गरिएको थियो । उहाँलाई स्वागत गर्न विमानस्थलमा सुरक्षा क्षेत्रका उच्च पदाधिकारीहरू तथा राजनीतिकर्मीहरूको उपस्थिति रहेको थियो । एक सय एक किलोको मालाले उहाँको स्वागत गरिएको थियो । पदभार ग्रहण गर्नुअघि उहाँले जानकी मन्दिरको दर्शन गर्नुभएको थियो । गढीमाई लगायतका विभिन्न मन्दिरको दर्शन गरी हिन्दु सनातन धर्मको रक्षाका लागि उहाँले आफ्नो साथ सहयोगको प्रतिबद्धता पनि दर्शाउनुभएको छ ।

प्राप्त जानकारीअनुसार प्रदेश प्रमुख डा. राजेश अहिराजले बर्दिवासस्थित रेडियो नेपालको कार्यालय पुगी त्याहाँको ब्यवस्थापन र रेडियोकर्मीहरूसँग छलफल गर्नुभएको छ । रेडियो स्टेशन निरीक्षणको क्रममा उहाँले रेडियो नेपालले विभिन्न स्थानीय भाषामा राष्ट्रिय गीतहरूको अनुवाद गर्न तथा नयाँ राष्ट्रिय गीत निर्माण गरी प्रशारण गर्न सुझाव दिनुभएको छ । उहाँको सुझावलाई रेडियो ब्यवस्थापनले तत्काल कार्यान्वयन गर्ने जनाएको छ । श्रोतका अनुसार उहाँले प्रदेश नं २ मा पृथ्वीनारायणको शालिक खडा गर्ने योजना बनाउनुभएको छ । सम्भवतः शालिकको स्थापना जनकपुर या अन्य कुनै महत्वपूर्ण स्थानमा गरिने छ ।

यसैबीच मातृभूमिका लागि नेपाली सङ्गठनका संस्थापकमध्येका एक डा. झाको सम्बद्धता सकिएको सङ्गठनले जनाएको छ । देशभक्त बुद्धिजीवीका रूपमा परिचित विभिन्न विषयका ज्ञाता उहाँले मधेशकेन्द्रित भएर विद्यावारिधि गर्नुभएको हो ।