बलात्कारआरोपी शिक्षकलाई सात दिन थुनामा राखि अनुसन्धान गरिँदै
प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०४:२७
डम्बर निदाल, डडेल्धुरा
बौद्धिक अपाङ्गता भएकी १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने शिक्षकलाई डडेल्धुरा जिल्ला अदालतले सात दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–४ जैसेराको भुवनेश्वरी माविमा बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्ययनरत बालिकालाई सोही विद्यालयका शिक्षक देविलाल भट्टले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
शिक्षक भट्टले छात्राबासमा बस्ने बालिकालाई गत शनिबार दिउँसो तीन बजे बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो ।
सोमबार जिल्ला अदालत चलान गरिएका शिक्षकलाई थप अनुसन्धानका लागि सात दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भुवनेश्वरी माविको बौद्धिक अपाङ्गता श्रोत तर्फ कक्षा २ मा अध्ययनरत बालिकालाई ४२ वर्षका शिक्षकले जबर्जस्ती करणी गरेका थिए । शिक्षक भट्ट छात्राबाससँगै जोडिएको कोठामा बस्दै आएका थिए ।
डोटीको शिखर नगरपालिका घर भएकी बालिका बौद्धिक श्रोत कक्षा तर्फ अध्ययन गर्न छात्राबासमा बस्दै आएकी थिइन् । शिक्षक भट्ट पनि डोटीकै आदर्श गाउँपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका अत्तरिया बस्दै आएका बताइएको छ ।