धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट उपाधि ‘धादिङ समाज’लाई

धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट उपाधि ‘धादिङ समाज’लाई



विकास रौनियार, धादिङ

धादिङ जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि धादिङ समाज धादिङ नीलकण्ठले जितेको छ ।

बेनीघाट रोराङस्थित श्री चन्द्रोदय माविको खेल मैदानमा सोमबार भएको खेलमा त्रिपुरासुन्दरी क्रिकेट टिमलाई ८ विकेटले पराजित गर्दै धादिङ समाज नीलकण्ठले प्रतियोगिताको उपाधि जितेर चैम्पीयन बनेको हो ।

त्रिपुरासुन्दरीको ११० रनको टार्गेट पछ्याएको धादिङ समाज धादिङले ८ विकेटले जित हासिल गरेको आयोजकका तर्फबाट नारायण सिलवालले जानकारी दिए ।

प्रतियोगितामा विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले पुरस्कार वितरण गरेका थिए ।

प्रथम हुने धादिङ समाज धादिङले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता त्रिपुरासुन्दरी क्रिकेट टिमले नगद १५ हजार सहित मेडल र प्रमाण पत्र, तृत्तिय हुने मलेखु क्रिकेट टिमले मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्समेन र उत्कृष्ट खेलाडीको तीनै शिर्षकको सबै पुरस्कार धादिङ समाज धादिङका सुजित श्रेष्ठले हात पारेका छन् । श्रेष्ठले खेल अवधिभरको ९ खेलमध्ये ३ खेलमा प्लेयर आफ द म्याचमा बन्दै प्रति म्याच ५०० नगद सहित प्रमाण पत्र समेत हात पारेको प्रतियोगिताका संयोजक दिपेश कँडेलले बताए ।

बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको हो । विशालटार स्थित श्री चन्द्रोदय माध्यमिक विद्यायलयको खेल मैदानमा भएको प्रतियोगितामा जिल्लाका विभिन्न १० टिमको सहभागिता रहेको थियो ।