सोनी र लक्ष्मणलाई लिगलिगे साइकल दौडको उपाधि

सोनी र लक्ष्मणलाई लिगलिगे साइकल दौडको उपाधि



सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल दौडको खुलातर्फको उपाधि जितेका छन् । धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दुरी पार गरेकी थिइन् । दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरेकी थिइन् ।

गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गर्दै तेश्रो स्थान हासिल गरिन् भने उनी गण्डकी प्रदेशस्तरीय साइकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भइन् । गण्डकी प्रदेशस्तरीय महिलाको उपविजेता लमजुङकी केशरी थापा मगर हुँदा कास्कीकी जमुना थापा तेस्री भइन् ।

त्यसैगरी पुरुष खुलातर्फको उपाधिविजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चेर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेका थिए । दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए ।

पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय साइकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो, गोरखाका लेखप्रसाद भट्ट दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए । शिवले पालुङटारस्तरीय साइकल दौडको उपाधि भने जित्न सफल भए । उनी पालुङटारबाट सहभागी हुने एकल राइडर थिए ।

लिगलिग भिलेज स्पोट्सद्वारा संचालित कार्यक्रमको विजेतालाई प्रमुख अतिथि पालुङटार नगर प्रमुख ई. दीपकबाबु कँडेल, विशेष अतिथि पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मी, नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, प्रतियोगिता संयोजक संजिव रानालगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताका पुरुष तथा महिला खुला दौडको विजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतिय हुनेले जनही नगद १५ हजार प्राप्त गरे ।

साथै दुवै समूहका १०औँ स्थानसम्म हासिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष साइकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तृतिय हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन् ।

पालुङटार नगरपालिकास्तरीया पुरुष साइकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ प्राप्त गरेका छन् । प्रतियोगितामा ११ वर्षका कान्छा खेलाडीले पनि आफ्नो दौड पुरा गर्न सफल भए । उनलाई पालुङटार नगर प्रमुख कँडेलले प्रोत्साहन स्वरुप नगद ५ हजारले सम्मान गरेका थिए । समापन समारोहमा नगरप्रमुख कँडेलले लिगलिगे साइकल दौड प्रत्येक वर्ष आयोजना गरिने प्रतिबद्धता ब्यक्त गरे ।

सिरानचोक गाउँपालिका र राइनास नगरपालिकाको सहप्रायोजनमा संचालित साइकल दौडको राइडरले उच्चतम हाइट १३ सय ३० मिटर सम्म साइकल ड्राइव गरेका थिए भने निम्नतम हाइट ४ सय २० मिटरसम्म ड्राइव कुशलता साथ सम्पन्न गरेका थिए ।