‘स्वास्थोपचारार्थ’ भारत प्रस्थान गर्दै बाबुराम !
प्रकाशित मिति
९ फाल्गुन २०७७, आईतवार ०६:०१
नेकपा प्रचण्ड समूहका वरिष्ठ नेता झलनाथ खनाल ‘स्वास्थ्य परीक्षण गरी’ नयाँ दिल्लीबाट शनिबार स्वदेश फर्किएका छन् । गत माघ ३० गते ‘उपचार’को लागि नयाँ दिल्ली गएका खनाल डेढ सातामा फर्किएलगत्तै ‘स्वास्थ्य परीक्षण’ गराउने पालो अब बाबुराम भट्टराईको आएको छ । अर्थात्, समाजवादी पार्टीका वरिष्ठ नेता भट्टराई आज ‘स्वास्थोपचार’का लागि भारत प्रस्थान गर्दै छन् ।
तरल एवम् सङ्कटपूर्ण अवस्थाबाट राजनीति गुज्रिरहेको बेला एकपछि अर्को गरी विभिन्न दलका शीर्ष तहका नेताको दिल्ली यात्रालाई रहश्यपूर्ण मानिएको छ । बाबुराम भट्टराईको ‘उपचार यात्रा’ पनि साताभरको रहेको बुझिएको छ ।
सरकारद्वारा संसद् विघटन गरी निर्वाचनको मिति घोषणा भएपश्चात् एकतर्फ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभक्त भई शक्ति प्रदर्शनको सिलसिला जारी राखेका छन् भने नेकपालगायत विभिन्न दलका नेताहरूले उपचारको बहानामा नयाँ दिल्लीको यात्रा गर्ने उपक्रम पनि चलाइरहेका छन् ।
यसअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नयाँ दिल्ली यात्रा गरेका थिए भने लगभग डेढ महिनाअघि पत्नीको उपचारका लागि प्रचण्ड भारत पुगेका थिए ।
अध्ययनको बेलादेखि कथित जनयुद्धको समयमा समेत लामो अवधि भारतमै गुजारेका बाबुराम भट्टराईको कतिपय भारतीय नेता एवम् बुद्धिजीवीहरूसँग ‘विशेष’ सम्बन्ध रहेको जगजाहेर नै छ । यस आधारमा उनको नयाँ दिल्ली भ्रमणलाई नजरअन्दाज गर्न सकिँदैन ।
संसद् विघटनविरुद्ध अदालतमा परेको मुद्दाको सुनुवाई सकिएर दुई-चार दिनभित्रै फैसला आउने चर्चा उत्कर्षमा रहेकै बेला स्वास्थोपचारको बहानामा हुन लागेको बाबुराम भट्टराईको भारत यात्रा कति व्यक्तिगत र कति राजनीतिक हो- केही दिनमा प्रष्टिएला नै !