‘गलत बाटोमा हिँड्नुभयो प्रचण्डलाई झाँक्रीले पनि छोड्छन्’ : केपी ओली
प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार १२:०५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई समाप्तिको बाटोमा नहिँड्न सुझाव दिनुभएको छ । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड सिद्धिने बाटोमा हिँडेको आरोप लगाउँदै अझै पनि फर्किएर आउन र जनसागरमा मिसिन आग्रह गर्नुभयो ।
प्रचण्डको नामै लिएर प्रधानमन्त्री ओलीले उहाँ फर्किने बाटोमा हिँड्नु भएको होइन भन्दै भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन भन्ने लोकोक्ति सुनाउनुभयो ।
थप रोचक र ब्यंग्यभाषा प्रयोग गर्दै उहाँले भन्नुभयो– ‘प्रचण्ड सुरुमा वैद्यको साथमा बसेको, त्यसपछि डाक्टरको साथमा लागेको र डाक्टरले पनि छोडेपछि अहिले झाँक्रीको साथमा पुग्नुभएको छ । गलत बाटोमा हिँड्नुभयो उहाँलाई झाँक्रीले पनि छोड्छन् ।’
दुईचार सिटमा सीमित प्रचण्डलाई आफैले शुरुमा ठूलो जुरो हालिदिएको, त्यसमाथि सिङ्ग पनि हालिदिएपछि अहिले उहाँ आफूहरुलाई सिध्याउँछु भन्दै हिँडेको आरोप लगाउँदै ओलीले प्रचण्ड अब आफैं सिद्धिएको दाबी गर्नुभयो ।
यस्तै, प्रधानमन्त्री ओलीले संवैधानिक ओहदाका उपराष्ट्रपति र सभामुख पनि सरकारविरुद्ध झगडियाको रुपमा हिँड्न थालेको भन्दै आपत्ति जनाउनुभयो । जनसभालाई सम्बोधन गर्दै उहाँले आफू झगडिया नभएको जिकिर गर्नुभयो र सभामुखलाई किर्तेको संज्ञा दिँदै सरकारविरुद्ध मुद्दा लिएर सभामभुख अदालत गएको उल्लेख गर्नुभयो ।
‘सभामुख भनेर छानिएको तर झगडिया भएर निस्किएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सभामुख सरकारविरोधी झगडिया हुनुहुन्छ, उहाँले किर्ते सनाखत गर्नुभएको छ, सभामुख जस्तो पदको मान्छेले कीर्ते गर्छ भन्दा पनि लाज लाग्छ’ भन्नुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि सरकारको झगडियाकै रुपमा चित्रित गर्नुभयो ।
सत्तासीन नेकपाको विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गरेका छन् ।
ज्ञातव्य छ, आगामी वैशाख १७ र २७ गतेका लागि सरकारले घोषणा गरेको चुनावको तयारीमा जुट्न आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न ठाउँमा सभा गर्दै आएको छ ।