‘निफ’मा ३१ देशका ६३ चलचित्र प्रतिष्पर्धी

‘निफ’मा ३१ देशका ६३ चलचित्र प्रतिष्पर्धी



नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को लागि संसारका ५२ देशबाट ४५० चलचित्र प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको बेलामा यति धेरै विश्वास गरेर चलचित्र पठाइए पनि विभिन्न सीमितताले गर्दा सबै देशका सबै राम्रा फिल्म छान्न वा प्रदर्शन गर्न सम्भव नहुने जनाएका छन् । प्रतिष्ठानको आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको जनाइएको छ ।

कोरोना महामारीका कारण केही पूरा हुन नसकेका र केही रिलिज नभएको कारण सुरक्षाले गर्दा पनि होला नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत खासै फिल्महरु आउन नसकेको र अलिक समय मागिएको तर पूर्वनिर्धारित मिती भएको कारण आज (२० फेव्रुअरी) छनौट फिल्मको नामाबली सार्वजनिक गर्नैपर्ने कारणले सो प्रतिस्पर्धाको लागि नेपाली फिचर फिल्म फाइनल नगरिकन अरु प्रतिस्पर्धाको लागि छनौट गरिएका चलचित्रको नाम सार्वजनिक गरिएको प्रतिष्ठानले प्रष्ट्याएको छ ।

आफ्नो विज्ञप्तिमा अध्यक्ष पाठकले अगाडि भनेका छन् – ‘त्यसैगरी केही विशेष, उत्कृष्ट र विषयप्रधान चलचित्रहरु पनि प्राप्त भयो भने अप्रतियोगी हुने गरी प्रदर्शन गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ । हामीले निफको चौथो संस्करण २०२१ फेब्रुअरी २४ देखि २८ (फागुन १२ देखि १६ सम्म) काठमाडौंमा गर्ने तयारीसहित विश्वभरका फिल्मकर्मीलाई सहभागिताका लागि आहवान गरेका थियौँ । सोअनुसार हामीलाई उत्साहपूर्ण रुपमा चलचित्रहरु प्राप्त भए तर, कोभिड १९ पछि फैलिएको महामारीका कारण विश्वभरका फिल्मकर्मीलाई एकजुट बनाइ हलमै फेस्टिभल गर्ने हाम्रो चाहना पूरा गर्न फागुन भन्दा वैशाख बढी सहज र सुरक्षित हुने ठानेर पहिले तोकिएको मितिबाट आगामी २०७८ वैशाख २३-२७ (May 6-10,2021) मा सारिएको जानकारी गराएका थियौँ । हामीले पूर्वघोषित प्रतिबद्धताअनुसार चौथो नीफमा प्रतिस्पर्धा र प्रदर्शन गरिने चलचित्रहरुका नामाबली सार्वजनिक गरेका छौँ । महोत्सवको अरु जानकारी आगामी दिनमा गराउने नै छौँ।’

‘विश्वका कथाहरुको कथ्य उत्सवू भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने छ । कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने International Federation of film societies, IFFS Don Quijote Award  उत्कृष्ट फिचर फिल्मको लागि प्रदान गरिने छ ।’

यसैगरी, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड यथावत रुपमा प्रदान गरिने छ भने नेपाली प्रतिष्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार प्रदान गरिने जनाइएको छ ।