‘केपीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन’

‘केपीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन’


(२० वर्षअघिको घटना र विचार)


‘म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ’ : केपी ओली

० तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ?
– माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ । आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ । तसर्थ ऊ गुण्डागर्दी र आतङ्ककारी क्रियाकलापमा उत्रिएको छ । हरेक ठाउँमा पुगेर हुलहुज्जत गर्नु त्यो गुटको सामान्य दिनचर्या नै भएको छ । यस कामलाई राप्रपा र नेपाली काङ्ग्रेसले समेत सघाइरहेको महसुस गर्देछु म । अहिले झापाको ६ नम्बर क्षेत्रमा समेत यस किसिमको क्रियाकलाप बढाउँदैछन् उनीहरू ।

० झापाको २ र ६ मा चुनाव जित्न नसक्ने भएर मालेले यस्तो गरेको हो त ?
– चुनाव त मालेले कहीँ पनि जित्न सक्दैन । रह्यो कुरा किन यस्तो उपद्रो गर्न थालेको भन्ने, यस गुटको जन्म नै तोडफोडको अभ्यासबाट भएकोले जे पाए पनि तोड्ने र फोड्ने नै उनीहरूको चरित्र बनेको छ ।

० एमालेले कसरी प्रतिरोध गर्छ त अब, माले त एमालेलाई सिध्याउन अघि बढिसकेको नैं देखिन्छ ?
– सिध्याउने त कुरै नगरौँ अलिकति ‘डिष्टर्ब’चाहिँ गर्न सक्छ । तर, एमालेले चाह्यो भने त्यस्तालाई सजिलैसँग ठेगान लगाउन सक्छ ।

० त्यसोभए के एमालेले चाहेको छैन मालेलाई ठेगान लगाउन ?
– उनीहरू चुनाव नगराउन खोज्ने तत्व हुन् भने नेकपा एमाले चुनाव गराउन खोज्ने शक्ति हो । उनीहरू चुनाव बिथोल्न चाहन्छन्, एमाले शान्तिपूर्ण चुनाव सम्पन्न गराउन चाहन्छ । तसर्थ उसले किचलो झिके पनि हामीले संयम धारण गरिरहेका छौँ ।

० माओवादी हत्यामा उत्रेको छ भने माले तोडफोडमा, यी दुईबीच समानता देख्नुहुन्छ ? यी दई एकै हुन् कि ?
– यसप्रकारको तुलना गर्न त म उचित ठान्दिनँ । दुबव आ–आफ्ना ठाउँमा छन् । यतिखर म मालेको गुण्डागर्दी र अपराधपूर्ण क्रियाकलापको चर्चा गरिरहेको छु ।

० तपाईंमाथिको आक्रमण सुनियोजित होला कि आकस्मिक ?
– सुनियोजित हो, किनकि घटना हुनुअघि मालेका नेताहरू त्यहाँ पुगेका थिए भन्ने बुझियो र घटना घटेसँगै पनि उनीहरू त्यहाँ उपस्थित देखिए । त्यसबाहेक राप्रपा, माले र काङ्ग्रेसले संयुक्त रूपमा प्रहरीथाना घेर्ने, सडक जाम गर्ने, गालीगलौज गर्ने आतङ्क सिर्जना गर्ने, संयुक्त झण्डा लिएर मैदानमा उत्रिनेजस्ता पूर्वनिर्धारित स्वरूपमा गतिविधि दर्शाए । तसर्थ ममाथिको हमला आकस्मिक हो भन्ने ठाउँ नै छैन ।

० तपाईंले माफी मागेको कुराले मंगलबारका पत्रपत्रिकाहरूमा ठाउँ पाएको छ । कोसँग किन माफी माग्नुपरेको हो नि ?
– हुल्लडबाजहरूले मेरै गाडीमा ढुंगामुढा गर्ने फेरि मेले नै माफी माग्ने ? मैले उनीहरूलाई जवाफ दिएको छैन, संयम धारण गरिरहेको छु । माफी माग्ने होइन, परिआयो भने मैले जवाफ दिन्छु ।

० कस्तो जवाफ ? किन नदिएको त ?
– ढुंगा हान्ने कुराको जवाफ कस्तो हुन्छ ? म एउटा जिम्मेवार पार्टीको नेता भएकोले पनि त्यस्तो जवाफ फर्काउन हतार गरिहाल्नु ठीक ठान्दिनँ ।

० आफ्नो कमजोरी भएकैले झापामा केपी ओलीले मालेसँग झुकेर माफी माग्न थालेको टिप्पणी हुन थालेको छ त ?
– म झापामा कमजोर ? कस्तो हास्यास्पद कुरा ! मैले ल्याएको भोटको एक चौथाइ भाग मात्र मालेले झापामा पुऱ्याओस् । म यति मात्र भन्न चाहन्छु ।

० तपाईंका विरुद्ध झापामा काङ्ग्रेस, राप्रपा, माले तीनै पार्टी एकजुट भए, अब कसरी ‘फेस’ गर्दै हुनुहुन्छ त ?
– स्यालहरू जतिसुकै सङ्ख्यामा एकत्रित भए पनि हात्तीको शिकार त गर्न सक्दैन नि !

० मतलब, तपाईं झापाको लागि हात्तीसमान हुनुहुन्छ ?
– त्योभन्दा पनि बढी छु । हात्तीभन्दा ठूलो शक्ति हुँ म झापामा ।

० मालेलाई पराजित गर्ने रणनीति कसरी अघि बढ्छ नि तपाईंहरूको ?
– जनताबाट तिरस्कृतलाई पराजित गर्न पनि केको रणनीति नि ?

० कांग्रेसको स्थिति के छ नि झापामा ?
– कुनै पार्टी पनि खुट्टा टेक्न सक्दैनन् यहाँ भन्ने इतिहास प्रमाणित तथ्य छ । माले त जन्मिनेबित्तिकै बामे सर्नुको साटो फट्याङ्ग्रे उफ्र्याइँ गर्ने प्रयास गर्दैछ, त्यसैले त्यसको त विनाश पक्का छ ।

० भनेपछि, एमालेबाहेक अरुको हैसियतै छैन त झापामा ?
– उम्मेदवार बन्ने हैसियत छ । कसै–कसैले जमानत पनि जोगाउलान् जस्तो लागेको छ । चुनाव जित्ने हैसियतचाहिँ कसैको छैन । कसैले जित्छु भन्छ भने मत गणना नहुन्जेल कुरामा जित्ने हो ।

० अरू केही भन्नु छ ?
– संचारमाध्यममा आधारहीन कराहरूले पनि ठाउँ पाउने गरेका छन्, त्यस्तो नहोस् कतै पनि भन्न चाहन्छु । माफीका कुरा कपोलकल्पित हुन् । केपीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन ।


(घटना र विचार साप्ताहिक, २०५५ चैत २४ बुधबार)