भ्रष्टको बकपत्र !
प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार ०३:३३
- राजेन्द्रप्रसाद पाठक
मलाई सादगी जीवन मनपर्छ
मलाई गुन्द्रुकको अचार–रोटी मनपर्छ
मलाई धोतीकुर्ता कमिज दौरासुरुवाल मनपर्छ
मलाई सत्य निष्ठा र इमानदारी नै मनपर्छ
मलाई पदभन्दा इज्जत् र प्रतिष्ठा नै मनपर्छ
तर के गर्नु !
मेरी श्रीमतीलाई हिराको हार मनपर्छ
छोराछोरीलाई पिज्जा-बर्गर धेरै मनपर्छ
उता दलको नेता ठुलो रकममा लेवी बुझाउ भन्छ
होइन भने पद नै धरापमा छ भनी चेतावनी दिन्छ
मेरो समाज र ससुरालीलाई टाईसुट मनपर्छ
ठुलो र महँगो गाडीमा सयर गरेको मनपर्छ
उनीहरूलाई ठुलो र आलिसान महल मनपर्छ
विदेशी बैंकमा धनदौलत राख्न र सयर गर्न मनपर्छ
मेरो समाजले पदमा नपुग्ने र नकमाउनेलाई नामर्द भन्छ
इज्जत् होइन आर्थिक हैसियत हेरेर सलाम् ठोक्छ
इमानीको मलामी समेत जाँदैनन् महानुभावहरू
तेह्रदिने प्रसादमा समेत के-के खुवाउँछ मेनु हेर्छन् मलामीहरू
अरु त के ! मेरी आमा समेत सम्पत्ति हेर्छिन्
डाँडामाथिको घाम भइसकेको पुस्तासमेत धन हेर्न थाल्यो
रामनामी जप्नेले समेत कतिको नोट हाल्छ नियाल्न थाल्यो
विवाह ब्रतबन्धमा त के कुरा काट्टोमा समेत हैसियत हेर्छन्
अब सत्य इमान र निष्ठाको कुनै मूल्य नै छैन भने
बल्ल-बल्ल पद पाएर पनि भ्रष्टाचार नगरेर के गरौँ त श्रीमान् ?