दलहरू नाङ्गिँदा जनता टुलुटुलु-शोभा त्रिपाठी

दलहरू नाङ्गिँदा जनता टुलुटुलु-शोभा त्रिपाठी


निर्धारित समयमा नेपालका राजनीतिक दलहरूले नयाँ संविधान बनाएर जारी गर्लान् भन्नेमा सुरुमै सर्वत्र शङ्का गरिएको थियो । यस विषयमा दुई वर्षको अवधिभर अनेक टीकाटिप्पणी गरिए, दलहरूलाई चेताउने काम जनस्तरदेखि विज्ञहरूबाट समेत व्यापक मात्रामा भए । तर, दलहरूको कानमा बतास लागेन बरु उल्टै ‘संविधान त चुट्कीकै भरमा पनि बन्छ’ भन्दै उनीहरू राज्यशक्तिको भागबण्डा र सत्ताको लुछाचुँडीमै लहसिए । घाटमा लगेको लासबाट कात्रो थुत्ने किसिमका उनीहरूको व्यवहारलाई देश-दुनियाँले कसरी हेरिरहेका छन् भन्ने पटक्कै पर्वाह नगरेका साँढेरूपी दलका जुधाइले आमनेपाली नराम्रो मिचाइमा परे, परिरहेका छन् । तै पनि नयाँ संविधानको आश लगाएर जनताले दलीय उत्पीडनलाई उपेक्षा गरिरहे, हर दुःख र असुविधा सहिरहे । त्यसको फलका रूपमा चाहिँ देशका भाग्यविधाता भनाउँदाहरूले संविधान नबनाएर मुलुकमा सङ्कट निम्तिने वातावरण सिर्जना गरिदिए ।
दलहरूलाई त देशको उन्नति चाहिएको रहेनछ, जनताको आँसु पुछ्नु रहेनछ, फगत कुर्सी नातागोता एवम् आफ्ना कार्यकर्ता र आसेपासेहरूको वरत्र-परत्र सुधार्ने ध्येय रहेछ । त्यसमा उनीहरूले निकै सफलता पनि पाए । तर, जनताले केका निम्ति यिनीहरूलाई प्रतिनिधि चुनेर पठाएका थिए – यो सवालमा आज आमजनता स्वयम् रनभुल्ल परेका छन् । दोष नेताको मात्र होइन अब त हामी जनतातर्फ नै स्वयम्ले औंला उठाउनुपर्ने अवस्था आएको छ । पटक-पटक धोका दिने राजनीतिक दल र नेताहरूलाई जनताले किन विश्वास गरिरहेका छन् – गर्नुपर्ने नगर्दा र नगर्नुपर्ने गरिरहँदा पनि किन प्रतिरोध र प्रतिवाद गर्न नसकेका हौँ हामी जनताले – दलको दास बनेर सडकमा उत्रन्छौँ तर आफ्नो अस्तित्व र अधिकारका लागि सोच्दैनौँ । के एक्काइसौँ शताब्दीका जनता भनिन यसरी लायक हुन्छौँ हामी – दलका नाकमा नत्थी लगाउन सक्दैनथ्यौँ भने काँधमा बोकी-बोकी किन उचाल्यौँ – धिक्कार छ हामी नेपाली जनतालाई ।
‘सहमतिमा हस्ताक्षर हुनै लाग्यो’ भन्दै फाइभस्टार होटलभित्र छिर्ने र त्यहाँबाट हि्वस्की-सितन डकार्दै निस्कँदा आपसमा गाँड कोराकोर र दन्तबझान गरेका देखिने नेताका नाटकीय चरित्र बितेको दुई वर्षमा कैयनपटक देखियो । सहमतिका नाममा बैठक बस्न जहिले पनि सहमत हुने तर सहमति कहिल्यै नबन्ने । यसको रहस्य के हो – विदेशीलाई मात्रै दोष दिइरहने कि आफ्नो हुती पनि नियाल्ने – आफ्नो खुट्टीमा थेगिन नसकेपछि अर्काको बुइ चढ्ने कि सक्नेलाई जिम्मेवारी छोड्ने – माधवले खाएको प्रचण्डलाई सैह्य नहुने प्रचण्डको पोल्टो भरिन लागेको माधवले देख्न नसक्ने, बाबुरामको नाममा सहमति हुन खोज्दा सीपी गजुरेलको टाउको दुख्ने, शेरबहादुरलाई दिनुभन्दा एमालेकै नेतृत्व स्वीकार गर्न रामचन्द्र नहिच्किचाउने, सूर्यबहादुरलाई अध्यक्ष मान्नुभन्दा छुट्टै पार्टीमै पशुपतिशमशेर रमाउने, आफूले नपाए आफ्नै पार्टीको नेतृत्व गुमाउन पनि झलनाथ र वामदेवहरू तयार रहने । यी हुन् नेपाली नेता र राजनीतिको अहिलेको बान्की । यसरी नेतागणको खान्की जुराउन मात्र जनता कहिलेसम्म भर्‍याङ बनिरहने – यसको निक्र्योल गर्न अब ढिलाइ हुनुहुँदैन ।
सर्म पचाएर दलहरू संविधानसभाको म्याद बढाउन कम्मर कसेर लागिपरेका छन् । एकप्रकारले मुखमा फोहोर दलिसकेका छन् दलहरूले । तर, यिनले भूल गरे भनेर अब थप विपत्ति निम्त्याउने काम हुन दिनु पनि भएन । म्याद थपेर एकपटकलाई अर्को मौका दिनुबाहेक अर्को उचित विकल्प देखिन्न । त्यसैले यहाँनेर फेरि पनि जनताकै जोडदार जिम्मेवारी हुन आएको छ, किनकि आफ्ना स्वार्थ एकातिर पन्छाएर एकपटक देशका लागि सहमतिमा आइदेऊ, सर्वस्वीकार्य संविधान निर्माण गरेर जारी गरिदेऊ भनी दलहरूलाई चेताउने काम जनताकै हो ।