के गर्दै छ काङ्ग्रेसभित्रको प्रतिपक्ष ?

के गर्दै छ काङ्ग्रेसभित्रको प्रतिपक्ष ?



राज्य सञ्चालनको जिम्मेवारीमा रहेको नेकपाका सत्ताधारी र सडक तताउँदै गरेको दुई समूहबीचको दोहोरी-प्रतिष्पर्धाले सिङ्गै मुलुक तरङ्गित भइरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सिथिलपन फेरि पनि चर्चाको विषय बनेको छ । सत्तासीन नेकपामा विवाद र बिग्रहको माहोल पैदा नहुँदादेखि नै काङ्ग्रेसको निरीहता छताछुल्ल भएको हो । सरकारले गरेका ठुल्ठूला गल्ती वा भ्रष्टाचारका अनेक काण्डबारे जागरुकता जगाउने सवालमा चुकेको तथ्यदेखि अनेक सङ्कट-महासङ्कटको परिस्थितिमा राज्यबाट जनतालाई राहत दिलाउन पूरै असफल भएको यथार्थसम्मले प्रतिपक्षीय भूमिकामा काङ्ग्रेस अभूतपूर्व तवरले निकम्मा सावित भएको इतिहास निर्माण हुन पुग्यो । तर पर्यवेक्षकीय कोणबाट जति नै औंला उठाइए पनि काङ्ग्रेसले आफूलाई उर्जाशील तुल्याउने प्रयत्न गरेन, या गरे पनि असफल नै रह्यो ।

कुन बेला कस्तो भूमिका निर्वाह गर्ने, के-कस्ता घटना-सन्दर्भलाई राजनीतिक मुद्दा बनाएर आफ्नो बर्चस्व बढाउने, जनताको नजरमा आफूलाई उच्च स्थानमा राख्न कसरी राजनीतिक दायित्व नर्वाह गर्ने जस्ता सवालमा काङ्ग्रेस पूरै अन्योलग्रस्त देखियो । पछिल्लो चरणमा आफ्नो ऐतिहासिक गरिमा लगातार गुमाउँदै आएकोे काङ्ग्रेस यतिबेला पनि उस्तै ‘शठ’ स्वरुपमा देखिँदै छ ।

निर्धारित तालिकाअनुसार काङ्ग्रेसले आफ्नो सङ्गठनात्मक क्रियाकलाप सञ्चालन गरिआएको भए यतिबेला आफ्नो चौधौँ महाधिवेशन आयोजनाको सङ्घारमा उभिएको देखिने थियो । पार्टी महाधिवेशनबारे काङ्ग्रेस केन्द्रिय कार्यसमितिको पछिल्लो निर्णयअनुसार यही फागुनको ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना हुनुपर्ने थियो । यसअनुसार अहिलेसम्म सम्पूर्ण तयारी सकेर पार्टीको आगामी नीति र नेता कस्तो हुनुपर्छ भन्ने छलफलमा काङ्ग्रेस जुटिरहेको हुने थियो । तर निर्धारित समयमा महाधिवेशन शुरु नभइरहेको मात्र होइन, कहिले हुन्छ भन्नेबारे अझै कुनै निश्चितता छैन ।

महाधिवेशनको मितिबारे पटक-पटक निर्णय गर्दै पुनः मिति फेर्दै आएको काङ्ग्रेसले कोभिड महामारी र मुलुकको तरल राजनीतिक अवस्थालाई पछिल्लो बहाना बनायो, महाधिवेशन टार्नका लागि । अझै पनि महाधिवेशनको कुनै टुङ्गो छैन, जबकि संविधानतः आफ्नो वैधानिकता नै गुमाउने खतरा चुलिएको अवस्था छ । यसरी एकपछि अर्को गरी पार्टी सङ्कटको भूमरीमा फस्दै गर्दा पनि नेतृत्वकर्ताबीच ‘प्रतिगमन’ र ‘अग्रगमन’को नाममा खिचातानी चलिरहेको देखिँदै छ ।

आफूलाई देशकै जेठो प्रजातान्त्रिक पार्टी दाबी गर्ने काङ्ग्रेसजस्तो दलभित्र उग्र ‘क्रान्तिकारिता’ पन्पिँदै गरेको आभास हुनु काङ्ग्रेस पार्टीकै अवसानको सङ्केत हो भन्ने ठान्नु असान्दर्भिक नहोला ।

सत्तारुढ नेकपामा उत्पन्न विवादले फुटकै रूप लिएपछि सरकारद्वारा गरिएको संसद् विघटनको सन्दर्भले काङ्ग्रेसलाई पनि दुई कित्तामा विभक्त गरिदिएको अनुभूति सर्वत्र गरिँदै छ । काङ्ग्रेसको संस्थापन पक्षले संसद् विघटनलाई खास मुद्धा नबनाइ निर्वाचनतर्फ आफूलाई केन्द्रित गर्न खोजेको र पार्टीभित्रको प्रतिपक्षी गुटले संसद् पुनर्स्थापन विषयलाई ‘महामुद्धा’ तुल्याएर आन्दोलनको आँधी उठाउने चेष्टा गरिरहेको देखिन्छ । आफूलाई देशकै जेठो प्रजातान्त्रिक पार्टी दाबी गर्ने काङ्ग्रेसजस्तो दलभित्र नेतृत्वको एउटा तप्कामा उग्र ‘क्रान्तिकारिता’ पन्पिँदै गरेको आभास हुनु काङ्ग्रेस पार्टीकै अवसानको सङ्केत हो भन्ने ठान्नु त्यत्ति असान्दर्भिक नहोला ।

नेकपाको विवाद स्वभाविक नै थियो, तर सत्तासीन दलमा पैदा भएको बिग्रहलाई काङ्ग्रेसले आफूअनुकुलको राजनीतिक माहोल निर्माण गर्ने महत्वपूर्ण अवसरको रूपमा बुझ्न सकेन र त्यस्तो प्रयास पटक्कै गरेन । उल्टै सत्तामा हुँदाहुँदै सडकमा पुगेको प्रचण्ड-समूहसँग अङ्कमाल गर्दै आफ्नै अस्तित्व धुलिसात तुल्याउन मरिमेट्दै छ काङ्ग्रेसभित्रको प्रतिपक्षी समूह । छुट्टै आन्दोलनको बलबुता नभएपछि कतिबेला प्रचण्ड समूहसँग औपचारिक रूपले सङ्घर्षको सहयात्री बनेको घोषणा गर्ने हो- यकीन छैन ।

हो, वर्तमान केपी ओली सरकारका प्रशंसा गर्नलायक काम-कदम बिरलै छन् । प्रतिपक्षीय स्थानबाट काङ्ग्रेसले औंल्याउनुपर्दा सकारात्मक काम छँदैछैनन् भनिदिँदा पनि सुहाउला । तर, सत्ताधारी दलभित्रको झगडाले निर्वाचनको मार्ग प्रशस्त गरिदिन्छ भने काङ्ग्रेसका निम्ति त त्यो सुनौलो अवसर नै होला नि ! कम्युनिष्ट सरकारको एकाधिकारवादी कार्यशैली र तमाम कमी-कमजोरीलाई मुद्दा तुल्याएर निर्वाचनको मैदानमा उत्रनका लागि काङ्ग्रेसले माहोल पैदा गर्नुपर्ने होइन र ? तर, पार्टीभित्रको सत्ता हत्याउन वैरीसँग अँगालो कस्न पनि धक नमान्ने एउटा समूह यो यथार्थ नबुझेजस्तो गर्दै संस्थापन पक्षलाई अप्ठ्यारोमा पार्ने दाउपेच रचिरहेको आभास हुन्छ ।

जुन कुरा (सङ्घीयता, धर्मनिरपेक्षतालगायत कथित गणतन्त्रीय विकृतिहरू) देशको लागि गलपासोसावित भएको छ, त्यसैलाई जोगाउने एजेण्डा लिएर प्रचण्ड सडक तताउँदैछन्, उनी मांसाहारी आन्दोलनका लागि कार्यकर्ता उक्साउँदैछन् । र, यही आन्दोलनमा होमिन काङ्ग्रेसको प्रतिपक्ष तप्का संस्थापनसँग सिँगौरी खेल्दैछ । आपसी लडाइँकै कारण आजको अवस्थामा आइपुगेको काङ्ग्रेस सच्चिएर अघि बढ्नुको साटो अझै यावत भूल दोहोऱ्याउन कटिबद्ध रहन्छ भने राम-राम जप्नुबाहेक शुभेच्छुक कसैले थप प्रतिक्रिया जनाउने अवस्था छैन ।