निर्वाचन आयोगप्रति सभापति देउवाको आक्रोश !

निर्वाचन आयोगप्रति सभापति देउवाको आक्रोश !


प्रदर्शन कार्यक्रममा सहभागीप्रति आभार व्यक्त


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भने- ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’

जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानून भन्दै सभापति देउवाले कम्युनिष्टको झगडाले कांग्रेसमा समस्या शुरु भएको उल्लेख गरे । उनले भने- ‘यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।’

निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गर्दै सभापति देउवाले प्रश्न गरे– ‘निर्वाचन आयोग किन चुपचाप छ ? कुनै पनि संसद्को विघटन भएको ६ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन !’

विरोधसभामा पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुसको लागि तयारी मान्छे तयार गरेर प्रर्दशन गराइरहेको आरोप लगाए भने कांग्रेस नेता बालकृष्ण खाणले यो संविधानबाट कसैले पनि लोकतन्त्र, प्रजातन्त्रलाई रोक्न नसक्ने जिकिर गरे ।

यसैक्रममा सभापति शेरबहादुर देउवाले संसद् विघटनको कदमविरुद्ध कांग्रेस जिल्ला कार्यसमितिले ७७ जिल्लामा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएकाप्रति आभार व्यक्त गरेका छन् ।

सोमबार एक विज्ञप्तिमार्फत सभापति देउवाले प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य र सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवालाई बधाई ज्ञापन गरेका हुन् । कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रदर्शनले प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा देखिएको अकर्मन्यता र कुशासनका विरुद्ध जनभावना अभिव्यक्त भएको देउवाको दाबी छ ।