नेकपाको दबाबका कारण अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी : नेता महर

नेकपाको दबाबका कारण अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी : नेता महर


नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समुहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा विभाजन भइनसकेका दुवै समुहको दबाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको आशंका छ ।

नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ’लखन’को हत्याको विरोधमा बझाङको पाथिभरामा आयोजित विरोध सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका कारण राजनीतिक संकट प्रतिदिन गहिरिँदै गएको बताए ।

‘सर्वोच्च अदालतलाई राजनीतिक दबाबमा राख्ने काम भएको छ’, नेबिसंघका पूर्व अध्यक्षसमेत रहेका महरले भने– ‘अदालतले निर्णय दिन गरिरहेको ढिलाइले मुलुकमा ध्रुवीकरणसँगै संकट थपिदै गएको छ ।’ महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए । ‘अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ, अदालतको निर्णयमा कुनै पनि खाले दबाब देखिनु हुँदैन’- महरले भने ।

सरकारबाटै लोकतान्त्रिक मूल्यमान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै उनले कम्युनिष्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन संविधानमाथि गरिँदै आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए ।

कांग्रेस कार्यकर्ता हत्याको विरोधमा नेता महरले सरकार आफै अपराधीको नायके जस्तै देखिएको आरोप लगाए । ‘सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ’ महरले प्रश्न गरे– ‘कानुनी राज्यमाथिको यो भन्दा ठुलो चुनौती के हुनसक्ला ?’ ‘निर्मला पन्तका हत्यारा सरकारले नै जोगायो, अहिले भारगरथी भट्टको अनुसन्धानमा ढिलाई गरिरहेको छ’- महरले भने– ‘अब सरकारसँग आश गर्ने ठाउँ बाँकी छैन ।’ नेता महरले नेपालका कम्युनिष्टहरुले हिड्दैँ पाइला मेट्दैँको प्रवृति देखाएको जिकिर गरे ।

‘जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ?’ कम्युनिष्टप्रति रोष प्रकट गर्दै उनले भने, ‘अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बाँकी छैन ।’ उनले कहिले सत्ता र कहिले प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पुर्‍यउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै देखिएको टिप्पणी गरे । कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।