विघटनविरुद्ध डडेल्धुरा काङ्ग्रेसद्वारा विरोध प्रदर्शन

विघटनविरुद्ध डडेल्धुरा काङ्ग्रेसद्वारा विरोध प्रदर्शन



डम्बर निदाल, डडेल्धुरा

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काङ्ग्रेस डडेल्धुराले विरोध प्रदर्शन गरेको छ ।

नेपाली काङ्ग्रेसकासभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देशभर प्रदर्शन गर्ने क्रममा नेपाली काङ्ग्रेस डडेल्धुराले पनि जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो ।

सोमबार पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले केपी ओली नेतृत्वको सरकारले अराजनीतिक, अप्रजातान्त्रिक र अनैतिक प्रवृत्ति देखाउँदै संसद विघटन गरेको भन्दै र्‍याली निकालेर जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन् ।

डडेल्धुरामा जिल्ला सदरमुकाम बागबजारको बसपार्कबाट विरोध र्‍याली निकाली कांग्रेसले तुफानडाँडा चोकमा कोणसभा गरेको छ ।

र्‍यालीका सहभागीहरूले ‘कम्युनिष्टको पाराले दुःख पायो साराले, केपी ओली कायर छ नेपाली जनता फायर छ, हत्याहिंसा बन्द गर’ जस्ता नारा लगाइएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डडेल्धुरा सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले कम्युुनिष्टहरु सत्ता बचाउने र सत्ता पाउने खेलमा लागेपछि नेपाली जनताले लगातार दुःख पाएको बताए । कम्युनिष्टहरू सत्ताका लागि मात्रै दौडधुपमा छन् । उनले भने– ‘एक कम्युनिष्ट सत्तामा छ । अर्काे कम्युनिष्ट सत्तामा जान सडकमा छ । तर कार्यकर्ता न यता न उताका बनेका छन् । सारा नेपालीले दुःख मात्रै पाइरहेका छन् ।’

सत्ताका लागि कम्युनिष्टहरू लड्न थालेपछि जनताले दुःख भोग्नु परेको उनले बताए । विकास, सेवा, सुशासन, सुरक्षा व्यवस्था कायम गर्नुपर्ने बेला झण्डै दुई तिहाई नजिक पुगेका कम्युनिष्टहरूले सत्ताको लडाइँ लड्दा देशमा अराजकता र उडण्डता मच्चाएको नेता मल्लले बताए । विरोध प्रदर्शनमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।