सतहत्तरै जिल्लामा आज विरोध प्रदर्शन गर्दै नेपाली काङ्ग्रेस

सतहत्तरै जिल्लामा आज विरोध प्रदर्शन गर्दै नेपाली काङ्ग्रेस



प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको अन्तिम विरोध कार्यक्रम आज देशभर आयोजना गर्दैछ । जिल्ला कार्यसमितिको नेतृत्वमा ७७ वटै जिल्लामा आयोजना गरिने विरोधसभामा सहभागिताका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैमा आग्रह गरेका छन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पारेका छन् । पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न उनले अनुरोध गरेका छन् ।

विरोध कार्यक्रममा पार्टीका सबैजसो शीर्ष नेताले विभिन्न जिल्लामा गएर सम्बोधन गर्ने बताइएको छ । सभामा सहभागी हुन सभापति देउवा रुपन्देहीको बुटवल जाँदै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ, उपसभापति विमलेन्द्र निधी सप्तरी र महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहले कास्की, डा. शेखर कोइरालाले धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा. मीनेन्द्र रिजालले प्यूठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन गर्ने छन् ।

विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।