चौधौँ महाधिवेशनबारे छलफलका लागि बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

चौधौँ महाधिवेशनबारे छलफलका लागि बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक



आगामी १४औँ महाधिवेशन एवम् अन्य समसामयिक विषयमा छलफल गर्नका लागि नेपाली कांग्रेसले यही फागुन ५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकबारे जानकारी दिँदै केन्द्रिय कार्यसमितिका पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार अपराह्न २ बजे बस्ने बैठकमा मूलतः दलको आगामी १४औँ महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन । पार्टीले गत असार २२ गते केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

फागुन ५ गतेको बैठकमा पनि महाधिवेशनको नयाँ मिति भने तोकिने सम्भावना नरहेको बताइन्छ । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसलापछि मात्र महाधिवेशको नयाँ मिति तया गर्ने मासिकतामा कांग्रेस नेतृत्व रहेको सम्बद्ध सुत्र बताउँछ ।

प्रतिनिधिसभा पुनःस्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचनमा जानुपर्‍यो भने भदौ पहिलो साता हुन सक्ने सुत्र बताउँछ ।

कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ ।

कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसको विधानानुसार पार्टीको आगामी १४औँ महाधिवेशन यही फागुन २० गतेसम्म उद्घाटन गरिसक्नुपर्छ ।

कोभिड-१९ को विषम परिस्थितिमा अब कांग्रेसले नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर केन्द्रीय समितिको समयावधि थप गर्ने र महाधिवेशनको मिति सार्ने प्रबल सम्भावना छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ ।

हालको महाधिवेशन कार्यतालिकानुसार गाउँ र नगर वडा अधिवेशन गत पुस ६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस ८ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्ने थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन गत माघ ६ गते र केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हालको कार्यतालिका छ ।