‘तिम्रो मेरो साथ’ अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने

‘तिम्रो मेरो साथ’ अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने



सकियो छायाङ्कन

  • राजन घिमिरे

निर्माणाधीन चलचित्र ‘तिम्रो मेरो साथ’को छायाङ्कन सकिएको छ । सुन्दर शहर पोखरामा करिव एक हप्ता छायाङ्कन गरिएपछि चलचित्रको छायाङ्कन समाप्त भएको घोषणा गरिएको हो ।

पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरेर चलचित्रको छायाङ्कन सकिएको घोषणा गरियो । ३३ दिनपछि चलचित्रको छायाङ्कन सकिएको थियो । छायाङ्कन इन्ड क्ल्याप घोषणा कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक तथा गीतकार रमेश एमके पौडेलले चलचित्रको छायाङ्कन अवधिभर साथ र समर्थन गर्नुहुने सबैमा आभार प्रकट गरे । ‘सुन्दर शहर पोखराबाट चलचित्रको छायाङ्कन सकिएको घोषणा गर्न पाएकोमा हामी हर्षित छौँ । सबैमा धन्यवाद छ’, उनले अगाडि भने- ‘यस्तै साथ र समर्थन आगामी दिनमा पनि पाउने आशा र विश्वासमा छौँ ।’

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रका नायक पुष्प खड्काले चलचित्र राम्रो बनेको दाबी गर्न सकिने अवस्था रहेको बताए । उनले चलचित्र तिम्रो मेरो साथ सबै वर्ग, तह र तप्काका दर्शकहरूको रूचीलाई ध्यानमा राखेर निर्माण गरिएको जानकारी दिए भने कलाकार सन्दिप क्षेत्रीले यो चलचित्रले आफ्नो कलाकारिताको यात्रामा नयाँ फड्को मार्ने दाबी गरे ।

कार्यक्रममा चलचित्रका लेखक तथा कार्यकारी निर्माता सवीर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले पनि चलचित्रको बारेमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुणले समग्र नेपाली चलचित्र क्षेत्र अब नयाँ सोच र शैलीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो चलचित्रमा करिव दुई करोडको हाराहारीमा लगानी रहेको बताइएको छ । यो चलचित्र नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ भने नेपालमा दशैँ र तिहारको बीचको समयमा रिलिज गरिने भएको छ ।

बोधी एचडी र आर्यन फिल्मसको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल, सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।