रणोद्दीपको हत्यापछिको कोलाहल !

रणोद्दीपको हत्यापछिको कोलाहल !



(इतिहास)

स्व. श्री ३ रणोद्दीप सिंहको हत्या हुँदा ‘बिजुली गारत’का एक कप्तान, जसले विरोध गर्ने विचार गरेका थिए, निजको वफादारी वापत श्री ३ वीर खुशी भई निज कप्तानलाई लेफ्टिनेन्ट कर्णेलको पद दिए । अर्को चोभारे क्षत्री कप्तान जसले आत्मसमर्पण गरेका थिए, निजको तानामाना च्याती कोर्ट मार्शल (Court-Martial) गरी जागिरबाट बर्खास्तसमेत गरे ।

तत्कालीन का.मु. रेजिडेन्ट डक्टर जिमलेटले ‘नेपाल र नेपाली’ नामक पुस्तकमा– नोभेम्बर २३ ता. १८८५ ई. का दिन नयाँ प्रधानसेनापति खड्गशमशेर बडा रवाफका साथ रेजिडेन्सीमा आएका थिए भनी लेखेका छन् । खड्गशमशेर रेजिडेन्सी गएका पक्कै हुन् । उनले सर्वप्रथम श्री ५ जेठी युवराज्ञी ताराकुमारी देवी जो ब्रिटिश रेजिडेन्सीमा शरण लिन पुगेकी थिइन्, उनलाई ‘सरकार ! रेजिडेन्सीमा शरण लिन किन आउन पर्‍यो ? सरकारलाई कोसँग डर ! रेजिडेन्सीमा सवारी भएको, तसर्थ फर्की सवारी होस्’ भनेकाले निज युवराज्ञी खडगशमशेरसँगै फर्किन् । पछि दरबारको गुटबन्दी र सौतेनी कारणबाट युवराज्ञी ताराकुमारी देवी टिक्न नसकी भारत काशीबास गर्ने इच्छा एक मात्र छोरी ‘शाहज्यादी’लाई काठमाडौं ‘राजदरबार’मै छोडी काशीतर्फ गइन् ।

पछि भारतबाटै श्री ३ वीरविरुद्ध भायसराय लर्ड डफरिनसमक्ष अनेक विरोध पत्र लेखी पठाइन्, जसमा आफ्नी छोरी ‘शाहज्यादी’लाई बन्दी बनाई काठमाडौंमा कसैसँग भेटघाटसमेत गर्न दिँदैनन् वीरशमशेरले भन्ने आरोप लगाई पत्र लेखिन् । भायसराय लर्ड डफरिनले श्री ३ वीरशमशेरसमक्ष सो कुराको प्रश्न गरी पठाए । जवाफमा वीरशमशेरले ‘शाहज्यादीलाई मैले नेपाल अधिराज्यभित्रका एक योग्य राजासँग बिहे गरिदिएको छु, साथै निजलाई नजरबन्दीमा राखेको छैन’ भनी स्पष्टीकरण दिनुपऱ्यो । त्यसपछि काशीमा युवराज्ञीको निमित्त भनी पठाइने भत्ता ठ्याम्मै रोकियो ।

नोभेम्बर २३ ता. १८८५ ई. कै दिन प्रधानसेनापति खड्गशमशेरले भू.पु.प.क.ज. पद्मजंग राणालाई पनि भने– ‘श्री ५ माहिली युवराज्ञी ललित राज्येश्वरी देवीको विशेष आग्रहबाट हजुरलाई म फर्काउन आएको छु । हजुरले आफ्नो ज्यानसम्बन्धी डर मान्नु पर्दैन, हजुरको जीवनको जिम्मा म लिन्छु ।’ यसो भनेबाट पद्मजङ्ग राणा पनि जेठी युवराज्ञी ताराकुमारी देवीका साथै ब्रिटिश रेजिडेन्सीबाट फर्किए । वीरशमशेरले पनि पद्मजंग राणासँग भेटे । वीरशमशेरसँग यिनले भारततर्फ बसोबास गर्ने इच्छा गरेकाले आफ्नो चल सम्पत्ति लिई भारत इलाहाबादमै गई बसोबास गर्ने निधो गरे । वीरशमशेरले उनलाई प्रशस्त भत्ता पाउने व्यवस्था गरे, साथै यो पनि भने कि सरकारविरोधि तत्वलाई साथ नदिएसम्म यो भत्ताको व्यवस्था गरिनेछ । यसप्रकार पद्मजंग राणा भारत इलाहाबादको निमित्त सधैंका लागि काठमाडौं छोडे ।

ब्रिटिश रेजिडेन्सीमा भूपू श्री ३ माहिली बडामहारानी हरिप्रिया देवीलाई चाहिँ सोही दिन खड्गशमशेरले बडो रवाफ देखाई भने- ‘हामी हजुरलाई पहिलेकै झैँ इज्जत गर्दछौँ, बढी कदर गर्न सक्दैनौँ, कारण यो सबै हत्याकाण्ड गराउने हजुर नै हुनुहुन्छ । यसो भनेबाट हरिप्रियादेवी फर्कन मानिनन्, तसर्थ पछि भारतबाट लर्ड डफरिनले नै हरिप्रियादेवी भारततर्फ आउने इच्छा गरेकीले काठमाडौंबाट भारततर्फ जान पाउने इजाजत दिनाका खातिर आग्रह गरी पत्र लेखेकाले हरिप्रिया देवी भारतर्फ गइन् । यिनलाई वीरशमशेरले भत्ता इत्यादि केही दिएनन् र कत्ति पनि वास्ता गरेनन् ।

नोभेम्बर २३ तारिखका दिन खड्गशमशेर रेजिडेन्सीमा आई युवराज्ञी र पद्मजंगलाई साथ लिइ फर्कन लाग्दा भू.पू.उ.क.ज. केदार नरसिंह राणाले ‘म पनि महाराजको दर्शन गर्न जान पाउँ’ भने । खड्गशमशेरले– ‘हजुरको सन्देश महाराजमा जाहेर गर्नेछु । महाराजबाट भेट गर्छस् भन्ने भयो भने सूचना गर्नेछु’ भनेबाट भोलिपल्ट वीरशमशेरले केदार नरसिंहलाई ब्रिटिश रेजिडेन्सीबाट बोलाइ पठाए । वीरशमशेरसँग भेट गर्न केदार नरसिंह गए । वीर शमसेरलाई देख्नासाथै केदार नरसिंहले ढोकैबाट, ‘महाराज-महाराज’ भन्दै झुकी–झुकी सलाम गर्दै अघि बढे । श्री ३ वीरले पनि आफू बसेको ठाउँबाट उठी आफूसँगै केदार नरसिंहलाई राखी सम्मान गरे । केदार नरसिंहले वीरशमशेरसँग भने कि ‘महाराज ! हजुर मेरो भाइ भए पनि मलाई महाराजको सम्मान गर्न र सलाम गर्न कुनै किसिमको गाह्रो र अफशोच लागेको छैन, कारण, मैले पहिले पनि भाइहरू त के भतिजा (जुद्धप्रतापजंग ‘नाती जर्नेल’) लाई समेत सम्मान र सलाम गर्दथेँ भने अब पनि महाराज भाइलाई सम्मान र सलाम गर्न मलाई कुनै गाह्रो लागेको छैन । खालि अफशोच एकै कुराको छ, त्यो के भने महाराज, मैले ‘मही’ खूब मथेँ र नौनीको डल्लो खान मुख ‘आँ’ मात्र गरेको थिएँ, महाराजबाट नौनीको डल्लो खोसी ज्यूनार भयो ।’

अन्त्यमा वीरशमशेरले कदारनरसिंहलाई- ‘हजुरको इच्छा नेपाल अधिराज्यभित्र कतै बस्ने छ वा भारतर्फ कतै बस्ने इच्छा छ ?’ भनी प्रश्न गरे । केदारनरसिंहले ‘महाराज ! बूढो भइसकेँ, तसर्थ काशीबास गर्न जान पाऊँ’ भनेबाट निजले पनि चल–अचल सम्पत्ति लैजान पाए साथै पद्मजंगलाई झैँ नेपाल सरकारको विरुद्धमा कार्य नगरेसम्म प्रशस्त भत्ता लिई इज्जतका साथ काशी–वाराणसीमा बस्ने प्रबन्ध गरिदिए । पछि यिनी काशी-वाराणसीमा टिक्न सकेनन्, कारण काशीमा त्यस अवसरमा नेपाल सरकारविरोधी तत्त्वहरू प्रशस्त भएका र ती तत्वहरूले बारम्बार सरकारविरोधि कार्य गर्न उक्साइरहने भएबाट वीरशमशेरसँग लेखापढी गरी पछि यिनी काशी-वाराणसी छोडी अयोध्यामा सरेर बसोबास गरे ।

स्व. श्री ३ जंगका छोराहरूमा भीमजगको वि.सं. १९२४ मार्ग सुदी १०, तदनसार नोभेम्बर १८६८ ई. का दिन याने स्व. श्री ३ जंगकै समयमा मृत्यु भैसकेको थियो । भू.पू.प.क.ज. मुख्य जनरलका वि.सं. १९४२ कार्तिक तदनसार नोभेम्बर २१ ता. १८८५ ई. का रात हत्या गरियो भने उनका सहोदर भाइ भू.पू.प्र.से. जीतजंगले वि.सं. १९४२ जेष्ठमा काठमाडौं छोडी भारत अयोध्याबाट ‘राजीनामा’ गरी भारततर्फमै बसोबास गरे । भू.पू.प.क.ज पद्मजंगले भत्ता पाई भारत–इलाहावादमै बसोबास गरे । ले. जनरल बबरजंगको नोभेम्वर २७ ता. १८७६ ई. का दिन याने स्व. श्री ३ जंगकै शासनकालमा मृत्यु भैसकेको थियो । भू.पू.प.क.ज. रणवीरजंग वि.सं. १९४२ कार्तिक, तदनुसार सन् १८८५ नोभेम्बर २१ तारिखको रात आफ्ना चल सम्पत्ति लिएर ब्रिटिश रेजिडेन्सीमा शरण लिन पुगे, त्यतैबाट भारत–वाराणसीतर्फ बसोबास गरे । स्व. श्री ३ जंगका छोरा कर्णेल रणजंग राणा जंगकै शासनको आखिरी कालमा ‘क्रिस्चीयन’ बनी भारतको बम्बई शहरमा बसोबास गरिसकेका थिए । छोरा मे. जनरल डम्बरजंग राणा वि.सं. १९४२ कार्तिक, तदनुसार सन् १८८५ नोभेम्बर २१ तारिखको रात ब्रिटिश रेजिडेन्सीमा आफ्ना चल सम्पत्ति लिएर शरण लिन पुगी त्यतैबाट भारत वाराणसीतर्फ लागे र पछि नेपाल आई पोखरामा बसोबास गरे । स्व. श्री ३ जंगका छोरा कर्णेल नरजंग राणाको सन् १८७६ मे नोभेम्बर १४ तारिखका दिन अर्थात् स्व. जंगको आखिरी शासनकालमा मृत्यु भैसकेको थियो भने स्व. श्री ३ जंगका कान्छा छोरा स्व. कर्णेल नरजंग राणाका भाइ मे. जनरल वीरजंग राणाले भत्ता पाई पाल्पामा बसोबास गरे । स्व. श्री ३ जंगका छोरा मे. जनरल ललितजंग राणा वि.सं. १९४२ कार्तिक, तदनुसार सन् १८८५ नोभेम्बर २१ तारिखको रात ब्रिटिश रेजिडेन्सीमा आफ्नो चल सम्पत्ति लिएर शरण लिन पुगी त्यतैबाट भारत वाराणसीतर्फ लागे । पछि भत्ता पाई पाल्पामै बसोबास गरे । स्व. श्री ३ जंगका छोरा मे. जनरल युद्ध (जुद्ध) जंग राणा, जसलाई ‘पुष्टकारी जर्नेल’ पनि भन्दथे उनी पनि वि.सं. १९४२ कार्तिक, तदनुसार सन् १८८५ नोभेम्बर २१ तारिखको रातमा आफ्नो चल सम्पत्ति लिएर ब्रिटिश रेजिडेन्सीमा शरण लिन पुगे र त्यहीँबाट भारत–वाराणसीतर्फ लागे र पछि भत्ता पाई गोर्खामा बसोबास गरे ।

स्व. श्री ३ जंगका छोरा मानसिंहजंग राणाको सानै उमेरमा स्व. श्री ३ जंगकै शासनकालमा मृत्यु भैसकेको थियो । स्व. श्री ३ जंगकै छोरा कर्णेल हर्षजंग राणा जो भारत–वाराणसीतर्फ चार रेजिमेण्ट सेनाका जवानहरू जानेमा कर्णेल हर्षजंग राणा पनि जाने भएबाट सेनाहरूका साथ बागदरबारमै थिए । उनले ‘शमशेर राणा’हरूद्वारा श्री ३ रणोद्दीप सिंहको हत्याकाण्डको सूचना पाई घोडा चढी सर्वप्रथम थापाथली पुगी आफ्नो चल सम्पत्ति लिएर थापाथलीस्थिति सबै दाज्यू–भाइहरूलाई विद्रोहको सूचना गरी काठमाडौं लगनटोलतर्फ र ठमेलतर्फ पुगी विद्रोहको सूचना गर्दै घोडा दौडाउँदै मनहरासम्म पुगी कराई-कराई विद्रोह गरे, मुखिया जर्नेल जगतजंगले कर्णेल हर्षजंग राणा कराएको सुने, तर ‘मनहराको भूत कराएको’ भनी आफ्ना आइमाईहरूलाई भय दिलाए । कर्णेल राणाद्वारा गरिएको सूचनाबाटै धेरैले ब्रिटिश रेजिडेन्सीमा शरण लिन पुगेका हुन् । कर्णेल हर्षजंग श्री पशुपतिनाथको मृगस्थलीको जंगलमा घोडासहित लुकी बसे । त्यसपछि स्व. श्री ३ रणोद्दीप सिंहको आर्यघाटमा दाहसंस्कार गरेको पहाडै पहाडको बाटो कुलेखानी हुँदै मुग्लानतर्फ पलायन भए । पछि सरहदमा आई भत्ता पाई पोखरामा बसोबास गरे ।

(पुरुषोत्तम शमशेर जबराकृत ‘राणाहरूको तथ्य-वृत्तान्त’बाट)