१५ फाल्गुन २०७७, शनिबार

योगेश भट्टराईलाई अरुण नेपालका पाँच प्रश्न

  प्रकाशित मिति
१ फाल्गुन २०७७, शनिबार ०१:३०


आदरणीय युवा नेता योगेश भट्टराईज्यु, न्यानो अभिवादन !

तपाईं इलाम आउनुहुने कुरा सामाजिक सञ्जालमार्फत थाहा भयो । हुन त मलाई यी जिज्ञासा यहाँलाई प्रत्यक्ष भेटेर नै राख्न मन थियो । तर यहाँको दल वा गुटले आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थित भएर यहाँँग यस्ता जिज्ञासा राख्नासाथ यहाँकै दल वा गुटको ट्याग लाग्ने निश्चितप्रायः भएको र मलाई केवल एक परिवर्तनकामी नागरिकको हैसियतमा मात्र नेपालका कुनै पनि दलका युवा नेतालाई बिना आग्रह–पुर्वाग्रह यी र यस्ता जिज्ञासा राख्न मन लागेकाले मैले सामाजिक सञ्जालमार्फत यहाँलाई यी जिज्ञासा राख्ने जमर्को गरेको हो । फेरि यहाँहरूलाई आफ्नै दल वा गुटका नेताकार्यकर्ताका अमुल्य राय सुझाव सुन्दासुन्दै निरीह जनताका यस्ता गनगन सुन्ने फुर्सद नै छैन होला जस्तो पनि लाग्यो !

यहाँहरूले जतिसुकै जनताको नाम जपे पनि कुनै पनि दल वा गुटभन्दा माथि उठेर सर्वसाधारण जनताले राखेका यस्ता जिज्ञासा अर्थहीन हुन्छन् भन्ने कुरा पनि थाहा नभएको चाहिँ होइन ! आफ्नो वरिपरि परिक्रमा नगर्ने स्वाभिमानी जनता यहाँहरूका दुश्मन नै हुन् भन्ने कुरा पनि नेपालको इतिहासमा पटकपटक सावित भएको तितो सत्य नै हो ! तर जबसम्म नेपालका दल वा नेताकार्यकर्ताले धरातलीय यथार्थलाई बेवास्ता गर्दै आफ्नै वरिपरि परिक्रमा गर्ने झोलेका कुरा मात्र सुनिरहन्छन्, तबसम्म परिवर्तनकामी नेपाली जनताका अपेक्षा पूरा हुनै नसक्ने कुरा पनि अर्को तितो सत्य हो ।

यो कुरा सुन्दा वा भन्दा निकै अप्रिय जस्तो लागे पनि पदीय र आर्थिक लाभजस्ता निहित स्वार्थमा नराम्ररी फसेका दलका मुठ्ठीभर नेता–कार्यकर्ताले नै नेपाल आमाको मुटु कलेजो कुटुकुटु खाएर नेपाल आमालाई मरणासन्न अवस्थामा पु¥याएको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । अझ सोझो भाषामा भन्नुपर्दा जसरी पनि खाने प्रवृत्ति मौलाउँदै जादा अब नेपाल आमालाई नै कसले कतिखेर निल्ने हो भन्ने कुरा अनुमान लगाउन कठिन हुँदै गएको छ । यही खराव प्रवृत्तिलाई आलोपालो संरक्षण गर्दै भोट सुरक्षित गर्नु नै नेपालको वर्तमान यो वा त्यो राजनीतिक नेतृत्वको प्रमुख काम हो भन्ने कुरा पनि थाहा नभएको चाहिँ होइन !

यति कुरा बुझ्दाबुझ्दै पनि सत्यलाई सतहमा ल्याउने प्राज्ञिक धर्मलाई उच्च प्राथमिकता दिँदै यहाँसमक्ष यो तितो सत्य पस्कने प्रयास मात्र गरिएको हो । आखिर सत्यलाई दह्रोसँग नपक्रीकन त समाज वा मुलुक वा कुनै पनि कुरा कत्ति पनि अघि बढ्नै नसक्ने आफ्नै अनुभव यहाँसँग सेयरसम्म गर्न मात्र खोजिएको हो । सत्यलाई केही समय ढाकछोप गर्नु भनेको पिसाबको न्यानो जस्तो मात्र रहेछ भन्ने आफ्नो बुझाइ यहाँ वा कुनै पनि युवा नेतृत्वसमक्ष राख्न मात्र खोजिएको हो ।

फेरि आफै विकल्प दिन नसक्ने निरीह जनतासँग नेतालाई यस्तै जिज्ञासा पस्केरै भए पनि अन्याय, असमानता, अनियमितता, अपारदर्शिता, अभाव आदिजस्ता अकल्पनीय पीडामा मलमपट्टी लगाउने अरु विकल्प वा भरपर्दा उपाय पनि त नहुँदारहेछन् । त्यसमा पनि गुणात्मक परिवर्तनको सुन्दर सपना देखाएर सत्तामा पुगेका यहाँहरू जस्ता युवा नेतृत्व समेत जनअपेक्षालाई कत्ति पनि सम्बोधन नगरी दशकौँदेखि पुनरावृत्ति हुँदै आएका उही फोहोरी खेलमा सामेल भएको देख्दा त झन् अकल्पनीय पीडा हुदोरहेछ ! मन यसै भत्भत पोल्दोरहेछ ! अनि ती पीडाबाट केही क्षण भए पनि मुक्ति पाउन वा जलेको मनलाई शान्त पार्नकै लागि भए पनि यस्ता जिज्ञासाले पेनकिलरको काम गर्दारहेछन् ! त्यसैले यहाँ इलाम आउनुभएको अवसरमा यी केही जिज्ञासा राखेर जलेको मनमा मलमपट्टी लगाउने जमर्को गर्नसम्म मात्र खोजिएको हो । आशा छ, यहाँले यी जिज्ञासालाई पक्कै पनि सकारात्मक रूपमा ग्रहण गरिदिनुहुनेछ ।

१) नेपालको इतिहासमै नेपाली जनताले पहिलोपटक नेकपालाई दिएको सुविधाजनक बहुमतलाई नेकपाले थामीखाँदै सात दशक अगाडिदेखि उसले उठाउँदै आएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालको अधिकतम सम्बोधन गर्नेछ भन्ने नेपाली जनताको ठूलो अपेक्षा थियो । त्यो अपेक्षालाई पदीय भागबण्डामा हारालुछ गर्ने बानी लागेका पाका नेताले धोका दिन सक्ने सम्भावना भए पनि तपाईंहरू जस्ता आशलाग्दा युवा नेताहरूले एकताबद्ध भएर पाका नेतालाई उचित सम्मानसहित व्यवस्थापन गरी जन अपेक्षाबमोजिम युवा नेतृत्वले मुलुक हाँक्ला भन्ने ठूलो आशा थियो । तर जनताले त्यत्रो विश्वास गरेका युवा नेतासमेत पुरानै प्रवृत्तिको पुनरावृत्तिमा पाका नेताभन्दा अझ एक कदम अघि बढेर मुलुकलाई अँध्यारो सुरुङतिर धकेल्ने लाइनमै लामबद्ध भएको देख्दा परिवर्तनकामी जनतामाझ चरम निराशा छाएको छ । तपाईं जस्तो सम्भावना बोकेको युवा नेतालाई समेत परिवर्तनकामी जनताको अपेक्षाविपरीत त्यसरी पुरानै प्रवृत्तिमा रमाउन के कुराले बाध्य बनायो भन्ने कुरा नै मेरो पहिलो जिज्ञासा हो ।

२) नेपालमा आरोप–प्रत्यारोप र गालीगलौजको कुसंस्कार अब त अति नै भैसक्यो । यसरी आफै बढेर भन्दा पनि अरुलाई गिँडेर मात्र आफ्नो कद बढाउन खोज्ने आत्मघाती प्रवृत्ति र यस्ता तल्ला स्तरका गालीगलौजबाट मुलुकलाई मुक्त गरि नेपालका जल्दाबल्दा मुद्दामा बहस केन्द्रित गर्नु आजको प्रमुख माग र आवश्यकता दुवै हो । उदाहरणको लागि संविधानमा लेखिएको समाजवादका अन्तरवस्तु के हुन् ? तपाईंहरूले भनेको समाजवाद वा काङ्ग्रेसले भनेको समाजवाद वा समाजवादी पार्टीले भनेको समाजवाद वा नेकपा (बिप्लव) ले भनेको समाजवाद वा अरु कसैले भनेका समाजवादवीचका समानता र भिन्नता के हुन् ? नेपालको सन्दर्भमा उपयुक्त समाजवादी आर्थिक मोडेल के हो ? समाजवादी शैक्षिक मोडेल के हो ? समृद्ध नेपालको नारा पूरा गर्न नेपालमा कस्ता जनशक्तिको कति आवश्यकता छ ? मुलुकको पुर्वाधारको पनि पुर्वाधार भन्ने गरिएको शैक्षिक अवस्थामा कसरी गुणात्मक परिवर्तन ल्याउने ? सरकारले लगानी गरेका शिक्षण संस्थाको खराब हालत कसरी सुधार्ने ? भ्रष्टाचारका केन्द्र बन्दै गएका नेपालका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालगायत सबैजसो संवैधानिक अङ्गमा मौलाउँदै गएको चरम भ्रष्टाचारको अन्त्य कसरी गर्ने ? नेपालको पर्यटक, कृषि, जलस्रोत, जडिबुटी, जङ्गललगायत उन्नति–प्रगतिका अन्य विभिन्न सम्भावनाका क्षेत्रमा के–कति जनशक्ति आवश्यक पर्छ ? मुलुकको मष्तिस्कको पनि मष्तिस्क नेपालका विश्वविद्यालयमा मौलाएको चरम दलीयकरण, भागबण्डा र शैक्षिक अराजकताको अन्त्य गरि नेपालका विश्वविद्यालयलाई के कसरी मुलुकलाई आवश्यक पर्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रूपमा रुपान्तरण गर्न सकिएला ? आदि जस्ता अनगिन्ती मुद्दा र सवाललाई पुरै वेवास्ता गरि खाली अनावश्यक आरोप–प्रत्यारोप र तल्लो स्तरको गालीगलौजमा यहाँहरू जस्ता युवा नेतृत्वसमेत मैदानमा उत्रनुभन्दा ठूलो दुर्भाग्य परिवर्तनकामी नेपाली जनताका लागि अरु के होला ? यी र यस्ता मुलुकका कयौँ जल्दाबल्दा मुद्धालाई दोश्रो प्राथमिकतामा धकेल्दै यहाँहरू जस्ता युवा नेताले समेत यति धेरै गिरेर गालीगलौजलाई मात्र पहिलो प्राथमिकतामा राख्नुको रहस्य के हो ?

३) अघि माथि नै सङ्केत गरिएजस्तो नेपालको प्रमुख दुश्मन भ्रष्टाचार हो । तर यहाँहरूजस्ता युवा नेतृत्व समेत भ्रष्टाचारका सवालमा किन मौनप्रायः बस्नुहुन्छ ? भ्रष्टाचारका कुरा उठ्नासाथ नेपालका सबैजसो दल किन तैँचुप मैचुप हुन्छन् ? हिजो अर्बौं भ्रष्टाचार ग¥यो भनेर सक्दो सराप्ने नेताहरू नै आज उनै भ्रष्टाचारीसँग कसरी एकाएक कुम जोड्न पुग्छन् ? यो त रेलाठट्टाको पनि पराकाष्टा भएन ? मुलुकको प्रमुख दुश्मन भ्रष्टाचारसँग यसरी ख्यालठट्टा गर्दै हिँड्न मिल्छ ? भ्रष्टाचारको नियन्त्रण गर्ने भनिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरू नै भ्रष्टाचारी भएको प्रमाणित हुनुभन्दा ठूलो लज्जाको विषय एउटा मुलुकका लागि अरु के हुन्छ ? नेपाल आमाको यस्तो दयनीय अवस्था देखेर दुनियाँले नेपाल र नेपालीलाई कति थुक्छन् ? नेपाल आमाको यस्तो प्रमुख दुश्मन भ्रष्टाचार उन्मुलनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर यहाँहरू यसरी देश दौडाहामा निस्कन नसक्नुको रहस्य के हो ?

४) नेपालको महँगो निर्वाचन प्रणाली नै भ्रष्टाचारको ब्याड राख्ने प्रमुख माध्यम हो । यस्तो मुलुकमारा निर्वाचन प्रणालीलाई कसरी सरल र सहज बनाउने भन्ने सवालमा नेपालको युवा नेतृत्व किन कुनै अर्थपूर्ण बहस छेड्दैनन् ?

५) नेपालमा संसदीय व्यवस्था पूरै असफल भैसक्यो । त्यसको पछिल्लो ताजा प्रमाण तपाईंहरू स्वयम् हो । तीन दशकअगाडि छँदाखाँदाको बहुमतीय सरकार ढालेर नेपालमा अस्थिरताको यात्रा शुरु गरेका गिरिजाप्रसाद कोइरालाकै पदचाप पछ्याउँदै तपाईंहरूकै अध्यक्ष केपी शर्मा ओलीले आज संसद विघटन गर्दासमेत संसदीय व्यवस्थाको विकल्प खोज्न तपाईंहरू जस्तो युवा नेतृत्व खरो उत्रन नसक्नुको रहस्य के हो ?

यी र यस्ता अनेक जल्दाबल्दा मुद्दा हुँदाहुँदै मुलुकमा केही मुद्दा नै नभए झैँ गरी तपाईंहरू लज्जास्पद गालीगलौजमा मात्र रमाउनुको रहस्य के हो ? मुलुककै अभिभावकरूपी राजनीतिक नेतृत्व नै यसरी गालीगलौजमा उत्रेपछि नेपालका सर्वसाधारण जनता र तपाईंहरू भन्दा मुनिको युवा पिँढीले तपाईंहरूबाट कस्तो संस्कार सिक्ने ? यी र यस्ता अनेक पेचिला मुद्दाका बारेमा यहाँहरूले कहिल्यै अलिक ठण्डा दिमागले सोच्नुभएको छ, आदरणीय नेताज्यु ? एक परिवर्तनकामी जनताको हैसियतले यहाँ इलाम आउनुभएको अवसरमा यी केही जिज्ञासा सामाजिक संजालमार्फत नै भए पनि राख्ने मेरो यो प्रयासको क्रममा केही गल्ती–त्रुटि भएमा क्षमाप्रार्थी छु । जिज्ञासा अनगिन्ती भए पनि आजलाई यिनै पाँच प्रमुख जिज्ञासा यहाँसमक्ष राख्दै बिदा हुन चाहन्छु ।

(नेकपा प्रचण्ड समूहका नेता योगेश भट्टराई गत माघ १५ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्न इलाम पुग्दै गर्दा अरुण नेपालले सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गर्नुभएको सामग्री सान्दर्भिकताका आधारमा प्रकाशित ।–सं.)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ज्ञानमित्र अच्युदानन्द ब्राह्मण रामचंद्र उवाच : अब ओली कुन मुख लिएर संसदमा जानुहुन्छ ? निठल्ला चिन्तकलाई हाँसो उठ्यो, उसले समाचारको

सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको

केशवप्रसाद भट्टराई १. प्रक्रिया अर्को कुरा हो तर सार्वभौम जनताले जुन दलको नेतालाई प्रधानमन्त्रीको रूपमा देखेर उसको नाउँमा भोट दिएर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका