‘नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु आश्चर्यपूर्ण’ : नेकपा दाहाल-नेपाल समूह

‘नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु आश्चर्यपूर्ण’ : नेकपा दाहाल-नेपाल समूह



गिरफ्तारीको चौतर्फी विरोध

‘राज्यविरुद्धको अपराध गरेको’ आरोपमा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले पक्राउ गरेकोमा नेकपा दाहाल नेपाल समूहले आश्चर्य प्रकट गरेको छ ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी सदस्य झाँक्रीलाई तत्काल रिहा गर्न पनि सो विज्ञप्तिमार्फत् माग गरिएको छ ।

‘विज्ञप्तिमा भनिएको छ- ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुदको कसुर देख्ने गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता बाहेक केही होइन । हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भर्त्सना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’

महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज बिहान नेतृ रामकुमारी झाँक्रीलाई उनकै निवास काठमाडौं महानगरपालिका–३१ स्थित शङ्खमुलबाट पक्राउ गरेको थियो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको बताइएको छ ।

राज्यविरुद्धको अपराधअन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले प्रतिक्रिया दिएका छन् ।

उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । सो दफाको उपदफा (१)मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।

उपदफा २ मा दफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा रु ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

पक्राउको विरोधमा झँक्रीका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर गरेकी थिइन् ।

नेतृ झाँक्रीको गिरफ्तारीविरुद्ध चौतर्फी विरोध र सरकारको आलोचना शुरु भएको छ ।