‘राज्यविरोधी कसूर’मा झाँक्री पक्राउ

‘राज्यविरोधी कसूर’मा झाँक्री पक्राउ



राष्ट्रपतिलगायत राज्यका प्रतिष्ठित निकायहरुको विरुद्धमा अमर्यादित र अराजक अभिव्यक्ति दिइ कार्यकर्ता उक्साएर पछिल्लो चरणमा थप चर्चामा रहेकी नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सार्वजनिक सभामा मन्तव्य दिने क्रममा झाँक्रीले लाक्षणिक रुपमा अपमानजनक शब्द प्रयोग गरी राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी थिइन् । उक्त विषय ‘राज्यविरोधी कसूर’ भएको ठहरका साथ सोही ब्यहोराको वारेन्ट लिएर महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोली शंखमूलस्थित झाँक्रीको निवास पुगेको थियो ।

वारेन्ट लिएर गिरफ्तारीको लागि प्रहरी टोली उनको निवास पुग्दा नेकपा कार्यकर्ताको एक समूहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । अराजक शैलीमा नाराबजी गरेका कार्यकर्ताहरुले ‘रामकुमारी झाँक्री-जिन्दावाद’को नारा लगाएका थिए ।

कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएपनि झाँक्रीले अवज्ञा गरेकी थिइन् । प्रहरीले वारेन्ट लिएर आए मात्र आफू प्रहरी चौकीमा उपस्थित हुने भन्दै उनले प्रहरी प्रशासनलाई चुनौती दिएकी थिइन् । त्यसपछि प्रहरी टोली वारेन्ट लिएर झाँक्री निवास पुगेको बताइएको छ ।

गालीगलौज गरेकै कारण पक्राउ गरेकोमा सरकारको आलोचना शुरु भएको छ ।