आन्दोलन पद र कुर्सीका लागि नभएको दाहालको जिकिर

आन्दोलन पद र कुर्सीका लागि नभएको दाहालको जिकिर


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत पुस ५ गतेदेखि आन्दोलित छ । प्रतिनिधिसभा विघटनसम्बन्धी हाल मुद्दा सर्वोच्च अदालतमा विचराधीन छ ।

सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा प्रतिनिधिभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गर्दै संसद् पुनःस्थापना नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए शान्तिपूर्ण आन्दोलन हुँदै जनविद्रोह हुन्छ ।’

शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन भन्ने प्रचण्डको जिकिर थियो ।

अहिलेको सङ्घर्ष केही व्यक्ति र पदका लागि या कुर्सीका लागि नभई जनताको मुक्ति र हितका लागि गर्नुपरेको दाहालले दाबी गर्नुभयो ।

सोही समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै सूर्य चिह्न आफूहरुले नै पाउने जिकिर गर्नुभयो भनेवरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको आवाज नसुने जनआन्दोलनको आगो दन्किने चेतावानी दिनुभयो ।

यस्तै सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन आन्दोलन गर्नुपरेको उल्लेख गर्दै भन्नुभयो, ‘पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सञ्चालन गर्नु र असंवैधानिक कदम असफल पार्न, संवैधानिक परिषद्को अवैधानिक बैठकबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौँ ।’

स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, जनार्दन शर्मा, रघुजी पन्तलगायतले नयाँ र क्रान्तिकारी पार्टी बनाउन सबैले खरो उत्रनुको विकल्प नभएको बताउनुभयो ।

Photo Courtesy:rss