रणोद्दीपद्वारा आफ्नै अन्त्यको बिजारोपण

रणोद्दीपद्वारा आफ्नै अन्त्यको बिजारोपण


(इतिहास)


वि.सं. १९४१ मार्ग, तदनुसार नभेम्बर, दिसम्बर १८८४ ई. तिर भायसराय लर्ड डफरीन चितौनमा शिकारको निमित्त आउने भएकाले श्री ३ रणोद्दीपसिंह, जीतजंग, रणवीरजंग, जद्धप्रतापजंग, ललितजंग, हजुरिया जनरल ध्वजनरसिंहका छोराहरू जेठा कर्णेल रण नरसिंह राणा र माहिला कर्णेल धीर नरसिंह राणा, बडा गुरुज्यू द्विजराज पाण्डे, ले. कर्णेल बहादुर गम्भीरसिंह रायमाझी, ले. कर्णेल जगतबहादुर राजभण्डारी, सुब्बा बलवानसिंह, रेजिडेन्ट गर्ल्ड स्टोन (Resident Girdlestone) पनि शिकार सवारीमा श्री ३ रणोद्दीपसिंहसँग गएका थिए । त्यस समय पाल्पा गौडा सम्हाली बसेका जनरल अम्बरजंग राणा पनि पाल्पाबाट शिकार सवारीमा आए । शिकार सवारीमा अम्बरजंगविरुद्ध प्रशस्त उजुरी-बेनामी पत्रहरू परे ।

शिकार सवारी चितौनमा श्री ३ रणोद्दीपसिहले भायसराय लर्ड डफरिनको भव्य स्वागत गरे, साथै प्रशस्त पाटेबाघका साथै अनेक प्रकारका जनावरहरू मारे । लर्ड डफरिनलाई श्री ३ रणोद्दीपसिंहले अति खुसी तुल्याइ फर्काए । वि.सं. १९४१ चैत्रमा श्री ३ रणोद्दीपसिंहका साथ गएका सम्पूर्ण जवानहरू काठमाडौं फर्के ।

शिकार सवारीबाट फर्कनासाथै श्री ३ रणोद्दीपले जनरल वीरशमशेरलाई ‘पहिले पनि तैँले दुई पटक पाल्पा गौँडाको तैनाथ लिई गएकै होस्, तँ लायक र सक्षम छस्, तसर्थ फेरि पनि पाल्पा गौँडाको तैनाथ लिई जा र त्यहाँ बिग्रेको स्थिति सम्हाल्’ भने । वीरशमशेरले– ‘महाराज ! बुबाको वर्षी सकेर जान परोस्’ भने । रणोद्दीपसिंहले पनि ‘हो त, वर्षी सिध्याई मात्र जा’ भनेकाले वीरशमशेर तत्काल पाल्पातर्फ गएनन् ।

प्रधानसेनापति धीरशमशेरको मृत्युपछि निजका छोराहरू अर्थात् शमशेर राणाहरूको ‘नूर’ (शिर) नै गि¥यो । हजुरिया जनरल ध्वजनरसिंहले राजकाजतर्फ स्व. धीरशमशेरको स्थान लिए । भाइ ध्वजनरसिंहलाई दाज्यू उ.क.ज. केदार नरसिंहले निर्देशन दिने गर्दथे । अब स्व. धीरशमशेरका छोराहरू याने शमशेर राणाहरूलाई भारदारहरूले वास्ता राख्न छोडे, सबै ध्वजनरसिंहतर्फै ओइरिन थाले । तसर्थ जंग गुट र शमशेर गुटहरूभन्दा नरसिंह गुट ज्यादै शक्तिशाली भयो ।

यत्तिकैमा भारतको ‘चुनारको किल्ला’मा ब्रिटिश–भारत सरकारले नजरबन्दीमा राखेका भूतपूर्व प.क.ज. जगतजंग राणा सो किल्लाबाट उम्कीइ नेपालको सरहद बरेवामा वि.सं. १९४१ चैत्रको आखिरमा आइपुगेको सूचना श्री ३ रणोद्दीप सिंहले पाए । श्री ३ रणोद्दीपको आदेशअनसार निज जगतजंगलाई बरवामै पक्री नेलसमेत ठोकी वि.सं १९४२ वैशाख ८ गते काठमाडौं ल्याइपुर्‍याए र ‘सिलखाना’मा थुनी राखे । जेष्ठ १५ गते नेल काटी ‘गोकर्ण’मा नजरबन्द गरी राखे । केही दिनपछि आफ्नै मनहरा दरबारमै नजरबन्दीमा राखे । त्यतिन्जेल भारततर्फबाट जगतजंगका सबै परिवारहरू काठमाडौं आइपुगिसकेका थिए ।

श्री ३ माहिली बहामहारानी हरिप्रियादेवी र ले. कर्णेल जगतबहादुर राजभण्डारीहरूको बिन्तीभाउ र अनेक प्रयासबाट केही दिनपछि जगतजंगलाई श्री ३ रणोद्दीपले आफ्नो नारायणहिटी दरबार (हाल राजदरबार) मै बोलाए । श्री ३ रणोद्दीपलाई देख्ने बित्तिकै जगतजंगले रणोद्दीपसिंहको खुट्टा समाई रुन थाले र ‘महाराज ! मैले सरकारको विरोधमा कुनै षड्यन्त्रमा लागेको होइन, बरु ममाथि नै षडयन्त्र गरियो’ भने । त्यसपछि बेलाबखतमा जगतजंगलाई रणोद्दीपसिंहले बोलाउन थाले । त्यसपछि रोजैझैँ महाराजको चाकडीमा जगतजंग आउन थाले । हुँदा-हुँदा महारानी हरिप्रिया देवीसँगै साथै समत खिचाए ।

भाइ-भारदारहरू पनि निजको चढ्ती-बढ्ती देखेर जगतजंगकै पछि लाग्न थालेकाले निजको शान-शौकत पुनः बढ्न थाल्यो । श्री ३ रणोद्दीपका नारायणहिटी दरबार (हाल राजदरबार) अगाडि एक ठूलो मसलाको रुख थियो जो पछि वि.सं. २०१७ सम्म छँदैथियो, सोही रुखमुनिको चौतारामा बसी एक दिन आफ्नो कडीदार समक्ष जगतजंगले भने- ‘यस रुखमा सत्रवटा टाउको झुन्ड्याउनुपर्ने भएको छ ।’ सो कुरा स्व. धीरशमशेरका ‘सत्रभाइ’ छोराहरूको कानमा पनि पर्‍यो । सो सुनेबाट स्व. धीर पुत्रहरू शतर्क हुनु स्वाभाविकै थियो, तर के गर्न सक्दथे र ! थाहा नपाएझैँ गरी चुप लागेर बस्न करै लाग्यो ।

(पुरुषोत्तमशमशेर जबराकृत ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)