मलाई दुःख दिनेलाई धन्यवाद : लोकमान

मलाई दुःख दिनेलाई धन्यवाद : लोकमान



आगामी फागुनदेखि लोकमानको गीता बजारमा

पूर्व मूख्यसचिव एवम् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफूलाई दुःख दिनेहरूप्रति आफ्नो कुनै गुनासो र द्वेष नरहेको बताउनुभएको छ । नेपाली भाषामा गीता लेखनलाई अन्तिम रूप दिएर आगामी फागुनमा सार्वजनिक गर्ने तयारीका सन्दर्भमा घटना र विचारसँग कुराकानी गर्दै कार्कीले भन्नुभएको छ– ‘जब मलाई चार वर्षअगाडि अख्तियारबाट कानूनको अपब्याख्या गरी अन्यायपूर्ण तरिकाले हटाइयो, त्यसपछि मैले दुःखबाट मुक्तिको उपाय खोज्न थालेँ । त्यस क्रममा गीता मेरो अन्तरमनको साथी बन्यो । यसैमा अनुभूति हुन थाल्यो, अहिले म पूर्ण रूपमा सन्तुष्ट छु ।’

० गीताले तपाईंलाई त्यस्तो के सन्देश दियो, जसबाट तपाईंलाई सन्तुष्टि मिल्यो ?

– जगतमा हुने हरेक कर्मको कर्ता परमात्मा नै हुन्, दुःख या सुख दिने पनि परमात्मा भए पनि माध्यम को–कसरी बनेर देखापर्छन् त्यो एउटा पक्ष हो, तर दुःख या सुख दिने सामर्थ्यचाहिँ परमात्माबाहेक अरु कसैमा छैन । जसले आफूबाट कसैलाई सुख या दुःख पुऱ्याएको ठानिरहेका छन् त्यो भ्रम हो । त्यसैले दुःख दिनेहरूप्रति पनि मेरो कुनै गुनासो रहेन, रहँदैन । बरु मलाई दुःख दिनेहरूलाई धन्यवाद छ, मलाई गीताको आनन्दमा मग्न रहने अवसर मिलेकोमा ।’

० त्यसो भए तपाईंलाई शत्रुपक्षबाट नै गीता लेखनमा प्रेरणा मिलेको भन्न मिल्छ त ?

– म कसैलाई शत्रु ठान्दिनँ । परमात्माले नै त्यो सब गराउनुभएको हो । म विगत पन्ध्र वर्षदेखि ओशोलाई नियमित सुनिरहेको छु । र, मैले ओशोलाई सुन्दा श्रीमद्भागवत गीता, अष्टबक्र महागीता, धम्मपद, महावीरवाणी, उपनिषद् र शिवसूत्रलगायत सुनिरहेको छु । चार वर्षअगाडि दुःखबाट मुक्तिको उपाय खोज्ने क्रममा गीता श्रवण गर्न थालेपछि जब मैले आनन्दको महसूस गर्न थालेँ, म खुशी रहन थालेको देखेर मेरा पत्नी र छोरीले खुशीको कारण जान्न चाहे । मेरो कुरा सुनिसकेपछि मलाई गीता लेख्न प्रेरित गरे । वास्तवमा छोरी र पत्नीले मलाई दबाबमूलक प्रेरणा नदिएको भए लेखनमा म लाग्ने थिइनँ कि जस्तोचाहिँ लाग्छ ।

० अनि लेखनचाहिँ कसरी शुरु गर्नुभयो नि ?

– दुई वर्षसम्म दैनिक पन्ध्र घण्टा गीता सुन्ने र लेख्ने काम गरियो । पूर्ण समर्पणका साथ लेखिएको गीताले पूर्णता प्राप्त गर्नुमा पनि परमात्माकै कृपा हो । गीतालाई हृदयदेखि नै आत्मसात गरेको खण्डमा हरेक व्यक्तिले कृष्णसँग साक्षात्कार गर्न सक्छन्, यो मेरो विश्वास हो ।

० अन्य विभिन्न गीताहरूभन्दा तपाईंले लेख्नुभएको गीतामा के भिन्न विशेषता होला ?

– भक्तियोग, कर्मयोग र ज्ञानयोगमा लेखिएका अधिकाङ्श भाष्यकारको गीता अध्ययन गरी समस्टिमा तयार गन्थ्र हो । मनोविज्ञान, साङ्ख्य र योगको विस्तृत ब्याख्या भएको विज्ञान हो गीता । आधुनिक विज्ञानले भन्ने गरेका सम्पूर्ण कुराहरू पाँच हजार वर्षअगाडि नै भगवान् कृष्णले बताइसक्नुभएको थियो । हामीले ती तथ्यहरू राम्ररी व्याप्त तुल्याउन नसक्नु हाम्रै कमजोरी हो । गीतामा अध्यात्मका माध्यमबाट अमृततत्व प्राप्त गर्ने सम्पूर्ण विधि र मार्गको पनि विश्लेषण गरिएको छ । शुरुमा १५०० पृष्ठको ग्रन्थ तयार भएकोमा एक वर्ष लगाएर सम्पादन गरी आठ सय पृष्ठभन्दा कममा झारिएको छ ।’

लोकमानसिंह कार्कीद्वारा लेखिएको गीता आगामी फागुनको दोस्रो सातादेखि बजारमा आउने भएको छ । अध्यात्म विज्ञानमा अभिरुचि लिने नेपालीहरूका निम्ति लोकमानकृत गीता उपयोगी हुने विश्वास गरिएको छ ।