क्वारेन्टिन बनाइएका विद्यालयमा करोडौँको क्षति

क्वारेन्टिन बनाइएका विद्यालयमा करोडौँको क्षति



डम्बर निदाल, डडेल्धुरा

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन क्वारेन्टिनका लागि प्रयोग भएका डडेल्धुराका विद्यालयहरूमा करोडौँको भौतिक क्षति भएको छ ।

कोरोनाका कारण रोजगार गुमाएर भारतबाट घर फर्केकाहरूलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका क्याम्पस तथा विद्यालयहरूलाई क्वारेन्टिन बनाएर राखिएको थियो । त्यहाँ बस्नेहरूले फर्निचर तोडफोड, आगजनीका साथै इन्टरनेट तारको दुरुपयोग गर्दा भौतिक सामग्रीको क्षति भई जिल्लाभरिका दुई सय ७८ विद्यालयहरूमा करिव एक करोड ५६ लाख बराबरको क्षति पुगेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय डडेल्धुराले जनाएको छ ।

भौतिक क्षतिबाट सबैभन्दा बढि परशुराम नगरपालिकामा ४४ लाख, नवदुर्गा गाउँपालिकामा ३५ लाख, आलिताल गाउँपालिकामा २५ लाख, भागेश्वर गाउँपालिकामा २३ लाख, अमरगढी नगरपालिकामा १२ लाख, गन्यापधुरामा गाउँपालिकामा १० लाख र अजयमेरु गाउँपालिकामा ६ लाख सम्मको क्षति भएको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामदत्त भट्टले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय डडेल्धुराले संकलन गरेको विवरण तथ्यांकअनुसार क्षतिपूर्तिसहितको आचारसंहिता निर्माण नगरी विद्यालयहरू प्रयोग गरिँदा विद्यार्थी आवासीय भवनमा रहेका खानेपानीका धारा, कुर्चीबेन्च फर्निचर, विद्युत वाइरिङ, इन्टरनेटका ताहरू र आवासीय लुगाकपडा तथा भाँडाकुँडा तोडफोड गरिँदा विद्यालयको भौतिक पूर्वाधार पुनरुत्थान खर्च बढेको जनाएको छ ।

भारतबाट आएका स्थानीयलाई गाउँपालिकाको सक्रियतामा उद्धार गरी स्थानीय स्तरकै सामुदायिक विद्यालयमा राखिए पनि क्वारेन्टिनमा बस्ने नागरिकहरूले अनुशासनमा नबस्दा अस्थायी क्वारेन्टिन एवं आइसोलेसन बनाइएका एक सय ३५ विद्यालयमा संक्रमणमुक्त निर्मलीकरणको जिम्मा समेत विद्यालयले व्यहोर्नुपरेको बताइएको छ ।