उच्च शिक्षा अध्ययनरत पच्चीस छात्रालाई साइकल

उच्च शिक्षा अध्ययनरत पच्चीस छात्रालाई साइकल



कपिलवस्तु प्रतिनिधि

उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साइकल बाँडिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले उच्च शिक्षा अध्ययनरत गरिब र दलित जहेन्दार र मुस्लिम समुदायका छात्रालाई एक कार्यक्रमका बीच साइकल बाँडेको हो ।

मेयर किरण सिंह उपमेयर लक्ष्मी साउ गुप्ता, वडाध्यक्ष रामभजन कलवारले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका थिए । साइकल पाएका छात्राहरु सदरमुकाम तौलिहवाका क्याम्पस र उमाविमा अध्ययनरत छन् ।

विद्यालय टाढा भएका विद्यार्थीहरुलाई आउजाउ गर्न सहजताका लागि साइकल दिइएको हो । सो अवसरमा मेयर सिंहले विद्यालय टाढा हुँदा विद्यालय जान अप्ठेरो परेको विद्यार्थीलाई वडाले साइकल उपलब्ध गराएर राम्रो काम गरेको बताए । ‘विद्यालय टाढा हुदा खासगरी छात्राहरु विद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साइकलले छात्राहरुलाई सहज हुन्छ’ उनले भने ।

उप मेयर गुप्ताले विपन्न छात्रछात्रालाई साइकल दिएर वडाले धेरै राम्रो काम गरेको बताए । टाढा भएका छात्राहरुलाई यसले आउजाउ गर्न मद्दत मिल्ने उनको धारणा छ ।

साइकल पाएपछि छात्राहरु निकै खुशी भए । तौलिहवास्थित तौलेश्वरनाथ उमाविमा अध्ययनरत लम्तियाकी बिदावती यादवले अब विद्यालय आउजाउ गर्न निकै सजिलो हुने बताइन् । ‘साइकल नहुँदा ३ किलोमिटर हिँडेर आउनुपर्थ्यो अब भने सजिलो भयो’, उनले भनिन् ।

वडाध्यक्ष कलवारको अध्यक्षता, रोशन गिरीको संचालनमा भएको कार्यक्रममा साजिकक विकास सल्लाहकार सुरेन्द्र लम्साल, मुख्तार अहमद खाँ लगायतले मन्तब्य दिएका थिए ।