प्रहरीमाथि हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जना पक्राउ

प्रहरीमाथि हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जना पक्राउ



काठमाडौंमा प्रहरीमाथि हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा शुक्रबार म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले कार्यस्थलमा खटिएका प्रहरी टोलीलाई हातपात गरेका र टेवलका सिसा फुटाएका थिए । त्यसपछि फुटेको सिसा हातमा बोकेर प्रहरीलाई र आफैँसमेतलाई हानेर चोट पुर्‍याएको महानगरीय प्रहरी कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

उनीहरुले प्रहरी प्रभागमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट टोली गएको थियो । वृत्तमा ल्याइएपछि अवाञ्छित गतिविधि गर्ने अन्य थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।