यथार्थ विवरणप्रति सु-सूचित रहेर समाचार सम्प्रेषण गर्न कांग्रेसको आग्रह

यथार्थ विवरणप्रति सु-सूचित रहेर समाचार सम्प्रेषण गर्न कांग्रेसको आग्रह



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकारउपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने धारणा व्यक्त गरेका छन् ।

प्रदेश नं १ र वाग्मती प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि कांग्रेसले लिनुपर्ने निर्णयसम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सम्बन्धित प्रदेशका पार्टी केन्द्रीय सदस्यसँगको बैठकमा उनले सो धारणा व्यक्त गरेका हुन् ।

छलफलका क्रममा सभापति देउवाद्वारा राखिएको धारणाविपरीत केही सञ्चारमाध्यममा अस्पष्ट र भ्रमपूर्ण समाचार प्रकाशन भएको भन्दै कांग्रेसले ध्यानाकर्षणसहित भ्रम निवारणार्थ शुक्रबार प्रेस नोट जारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न सबैमा आग्रहसमेत गरेका छन् ।

सभापति देउवाले सो विषयमा छलफल गर्न यही माघ ७ गते प्रदेश नं १ तथा माघ ९ गते वाग्मती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । दुवै बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता थियो ।

ज्ञातव्य छ, केही सञ्चारमाध्यमबाट सभापति देउवाको धारणाविपरीत ओली पक्षका मुख्यन्त्रीहरुको कुर्सी जोगाउन कांग्रेसले साथ दिन नसक्ने ब्यहोराका समाचार प्रकाशित गरेका थिए ।