‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतले प्रदान गर्‍यो १० लाख भ्याक्सिन

‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतले प्रदान गर्‍यो १० लाख भ्याक्सिन



भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरूको तत्काल आवश्यकताको लागि नेपाललाई भारतमा उत्पादित १० लाख भाइल कोभिड-१९ भ्याक्सिन उपहारस्वरुप प्रदान गरेको छ । उक्त खोप नेपाल सरकारको आग्रहमा उपलब्ध गराइएको बताइएको छ ।

यही माघ २ गते भारतको नयाँ दिल्लीमा दुई राष्ट्रका परराष्ट्रमन्त्रीको अध्यक्षतामा सम्पन्न भारत-नेपाल संयुक्त आयोगको छैटौं बैठकमा पनि यस सहकार्यबारे छलफल भएको थियो ।

उक्त खोप बिहीबार विमानस्थलमा आए लगत्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ग्रहण गर्नुभएको थियो । राजदूत क्वात्राले खोपको आगमनले कोभिड-१९ को अन्त्यको सुरुवात हुने आशा व्यक्त गर्दै भाइरसलाई परास्त गर्न नेपालका जनताले चालेका प्रयासमा भारत कटिबद्ध रहेको बताउनुभयो । यस्तै, स्वास्थ्यमन्त्री त्रिपाठीले दुवै देशमा एक साथै खोप वितरण गर्नका लागि नेपालमा पनि समयमै उपलब्ध गराइएको जानकारी गराउनुभयो ।

बिहीबार दिउँसो नै प्रधानमन्त्री कार्यलयमा आयोजित एक समारोहमा राजदूत क्वात्राले कोरोनाविरुद्धको खोपको १० लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा सो खोप भारतका जनताले नेपालका जनतालाई उपहारस्वरुप उपलब्ध गराएको बताउँदै राजदूत क्वात्राले नेपालले अघिसारेको खोप अभियानका लागि शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी, प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको खोप अनुदानस्वरुप उपलब्ध गराएकोमा भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै यस्ता उपहार सधैँ विशेष हुने र संकटको घडीमा उपहारको रुपमा खोप उपलब्ध गराउनुले पनि यसको थप महत्व रहेको उल्लेख गर्नुभयो ।

यसअघि भारतले खोप वितरण, खोप सम्बन्धि प्रशासनिक एवम् संचालनका पक्ष, कोल्ड चेन र सम्पर्क तथा तथ्यांक व्यवस्थापनका लागि मानव संसाधन तालिम दिएको थियो ।

नेपालमा यस्ता खोपको निःशुल्क वितरणले महामारीविरुद्ध मानवताको लडाइँलाई सघाउ पुर्‍याउन भारतको खोप उत्पादन तथा वितरण क्षमतालाई प्रयोग गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतालाई पूर्णता दिएको दातृपक्षको भनाइ छ । ‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतले नेपाललाई उक्त सहयोग अघि बढाएको बताइएको छ ।

ज्ञातव्य छ, महामारीको सुरु भएयता भारतले नेपाललाई हाइड्रोक्लोरोक्वीन, आरटी पीसीआर परीक्षण किट, आइसीयु भेन्टिलेटर, रेमडेसिभिर औषधी र एम्बुलेन्स उपलब्ध गराई निरन्तर सहयोग गरिरहेको छ ।