सुत्केरीको उपचारमा लापर्वाहीका कारण प्रधानमन्त्री राजीनामा दिन बाध्य

सुत्केरीको उपचारमा लापर्वाहीका कारण प्रधानमन्त्री राजीनामा दिन बाध्य


मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिनुपरेको हो ।

उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ । संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए ।

कोरोनाभाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत वर्षदेखि नै नाकाबन्दीलगायतका उच्च सतर्कताका उपायहरू अपनाएको थियो । त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि प्रतिबन्धात्मक व्यवस्थाहरूलाई थप कडा बनाइएको थियो ।

कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै जन्माएकी महिला र ती शिशुसँग कोरोना भाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरूले माफी माग्दा पनि आन्दोलन झन् झन् चर्किदै गएको थियो ।

आन्दोलनकारीहरूले सरकारी कार्यालयहरू अगाडि विरोध प्रदर्शन गरेका थिए । सरकारी अधिकारीहरूले गम्भीर कमी कमजोरी र लापर्वाही गरेको आन्दोलनकारीहरूको आरोप छ ।

आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै क्षमा याचना गरेका थिए । उनका विरुद्धमा बुधबार पाँच हजार युवा प्रदर्शनकारीहरूले राजधानीमा प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो ।

राष्ट्रिय विपद् आयोगको नेतृत्व गरेका उपप्रधानमन्त्री र विभागिय जिम्मेबारीमा रहेका स्वास्थ्यमन्त्रीले भने प्रत्यक्ष जिम्मेबारी भएकाले आन्दोलनकारीको दवावकै कारण यसअघि नै राजीनामा दिइसकेका थिए ।

त्यसैगरी लापर्वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेबार व्यक्तिहरूले पनि राजीनामा दिएका छन् ।

झण्डै एक दशक लामो कम्युनिष्ट नेताहरूको शासनपछि सङ्क्रमणमा फसेको मध्यएसियाली लोकतान्त्रिक मुलुक मंगोलियामा नयाँ संविधान जारी भएपछि पनि राजनीतिक स्थायीत्व हुन सकेको छैन ।