चिल-माउ बन्ने कि माकुरा-माउ ?

चिल-माउ बन्ने कि माकुरा-माउ ?


  • करवीर शाह

चल्ला त चिलले पनि कोरल्छ
मातृवत् स्नेहले आफ्ना बलिष्ट प्वाँखमुनि आफ्ना बचेरालाई
आँधी-बेहरी बर्षा र अरु गिद्देनजरबाट बचाउँछ
विचरा बचेराहरू आमाको बलिष्ट प्वाँखमुनि मातृस्नेहप्रति कृत-कृत हुन्छन्
हुर्कन्छन्, समर्थ हुन्छन्, आफ्नो कर्तब्यमा निस्कन्छन्
यसरी माउसहित एउटा वंश गुल्जार हुन्छ ।

चल्ला त माकुरोले पनि कोरल्छ
कृतघ्न बचेराहरू आफ्नै माउको रगत निर्बिघ्न चुस्छन्
सिल्ली माउ यति प्रेमान्ध हुन्छ कि,
सास छउन्जेल आफ्नै रगत सकिएको थाहा पाउँदैन
प्रेमान्धका कारण असैह्य अवस्था पनि सहिरहन्छ,
बचेराहरू हुर्किएर आ-आफ्नो बाटो लाग्छन्
बिचरो माउ जीवन उत्सर्ग गर्छ !

यसरी दुइटा माउ !
दुइटा जीवन चक्र !!
एउटा सजीव र परजीव दुवैको उत्थानमा संलग्न
अर्को कृतघ्न सन्तानको विकासमा मात्रै निमग्न..
सृष्टि र समाज चलाउने प्रत्येकको कर्तब्य हो यो..
फरक यत्ति मात्रै हो–
यो चलाउने क्रममा
माउ-चिल बन्ने हो, अथवा
माउ-माकुरो बन्ने हो ?