महिला सैनिक राधिकालाई ऐतिहासिक सफलता

महिला सैनिक राधिकालाई ऐतिहासिक सफलता



नेपाली सेनाको प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकी छन् ।

सिन्धुपाल्चोक जिल्ला, मेलम्ची न.पा. वडा नं. २ थापाटोलनिवासी भीमबहादुर थापाको नातिनी, पूर्णबहादुर थापाको छोरी सिपाही राधिका थापा गत २०६९ असारमा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्य आधार तालिमपश्चात २०७० जेठ २४ गतेबाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत रहेकी राधिकाले सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग गर्ने सि.सं. १०३ प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरि साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेकी सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तीन महिनाको अवधीसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, जंगल सर्भाइभर टेक्निक तथा सर्पदंश ब्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान तथा सीपहरु सिकाइन्छ । सिपाही राधिकाले बिल्लादार ग्रेड-३ तथा लाईट मोटर ड्राईभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरिसकेकी छन् भने यसरी नेपाली सेनाको इतिहासमा प्रतिविद्रोह तथा जंगल वारफेयर तालिम सम्पन्न गर्ने राधिका पहिलो महिला सैनिक हुन सफल भएकोमा उनलाई नेपाली सेनाले बधाई दिएको छ ।