सुरक्षा घेराभित्र सरकारी युवा भेला सम्पन्न

सुरक्षा घेराभित्र सरकारी युवा भेला सम्पन्न


दाहाल-नेपाल समूहद्वारा पुर्वमन्त्री बस्नेतलाई कालो झण्डा


हेमशंकर सिंह, राजविराज

प्रहरीकोे कडा सुरक्षाघेराभित्र नेकपाका सत्तापक्षीय युवाहरुको भेला बिहीबार राजविराजमा सम्पन्न भएको छ ।

यही माघ १३ गते मंगलबार सप्तरी सदरमुकाम राजविराजमा सत्ताधारी नेपाल कम्युष्ट पार्टीले गर्न लागेको आमसभाको पुर्वसंध्यामा बिहीबार राजविराजमा पुर्वमन्त्री महेश बस्नेतको अगुवाइमा युवा भेला सम्पन्न भएको हो ।

दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले अवरोध गर्ने देखिएपछि स्थानीय प्रशासनले बाहिरी जिल्लाबाट करिव एक हजार पाँचसय सुरक्षाकर्मी ल्याएका थिए । जिल्ला समन्वय समितिको हलमा कार्यक्रम हुने जानकारी पाएपछि प्रचण्ड–नेपाल र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले समन्वय समिति संयोजक प्रभाकर यादवलाई भेटेर सरकारी पक्षलाई सभाहल उपलब्ध गराउन आग्रह गरेका थिए ।

संयोजक यादवले यादवले सभाहल उपलब्ध नगराउने जानकारी आयोजकलाई गराएपछि कार्यक्रम स्थानिय राजरंगशालामा सारिएको थियो । सरकारी कार्यक्रम विथोल्न प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताहरुले विहानै देखि राजविराजमा टायर बालेर प्रदर्शन समेत गरेका थिए । सो क्रममा प्रहरीले प्रचण्ड–माधव समूहका छेदी रजक, विनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादव सहित ७ जनालाई पक्राउ गरेका थिए ।

राजविराजमा युवा संघ सप्तरीले आयोजना गरेको युवा भेलामा सहभागी हुन बिहीबार बिहानै सप्तरी आईपुगेका पुर्वमन्त्री बस्नेत नेकपाका स्थायी समिति सत्यनाराण मण्डल, केन्द्रिय सदस्य सुमन प्याकुरेलसहित मोटरसाइकल र्‍यालीमा सहभागि भएका थिए । सो क्रममा प्रचण्ड नेपाल पक्षका नेता कार्यकर्ता पुर्व पश्चिम राजमार्गको रुपनी बजारमा कालो झण्डासमेत देखाएका थिए ।

युवा भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री बस्नेतले आफ्नो राजनितिक भविष्य समाप्त भईसकेको देख्नेहरुले नेकपाको कार्यक्रमा अवरोध खडा गर्न खोजेको आरोप लगाए । नेकपाका नेता पुष्षकमल दहाल प्रचण्ड प्रति व्यंग गर्दै उनले विगतमा मान्छे काट्ने प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको खुट्टा काट्न नसेपछि कुरा काट्न थालेको टिप्पणी गरे । उनले केपी ओली नेतृत्वको नेकपालाई टिपरको संज्ञा दिदै भने ‘नेकपा आजको राजनितिको टिपर हो, प्रचण्ड जस्ता मोटरसाइकल चालकहरुले निहुँ खोजे बाटामै आफै अचार बन्नेछन् ।’

नेपाली कांग्रेसले प्रतिपक्षी बन्ने हैसियत गुमाइसकेको दाबी गर्दे बस्नेतले भने ‘१० वर्षदेखि सत्ताको भिटामिन खान नपाएको कांग्रेस बुढो गोरु भएको छ र विगतमा मधेशमा प्राप्त जनमत समेत गुमाइसकेको छ ।’

मधेशमा प्रधानमन्त्री ओलीको पक्षमा लहर आएको दाबी गर्दै उनले यहाँ सेटिङ्गमा भइरहेको भ्रष्टाचारका कारण मधेशवादी दलमा भुइँचालो जान लागेको समाचार छिट्टै सार्वजनिक हुने तर्क गरे ।

राष्ट्रिय युवा संघका अध्यक्ष रमेश पौडेलले प्रचण्ड र नेपाल समृद्ध नेपाल र सुखी नेपाली अभियानको बाधक बन्न थालेपछि प्रधानमन्त्रीले प्रतिनिधीसभा विघटन गरी चुनावको जनताको अभिमत जनतामै हस्तान्तरण गरेको बताए । प्रधानमन्त्रीले गरेको चुनावको घोषणा कु नभई लोकतान्त्रिक अभ्यास भएको तर्क गरे ।