हिन्दू ओमकार परिवार र वैदिक सनातनको मूल हो ‘सनातन’

हिन्दू ओमकार परिवार र वैदिक सनातनको मूल हो ‘सनातन’


  • स्वयम्भूनाथ कार्की

अङ्ग्रेजीमा ‘रिलीजन’ भनिएको शब्दको ‘धर्म’ अनुवादले सनातनलाई समेट्न सक्दैन । त्यो अनुवादले समेट्न सकेको अर्थ जनाउने अर्को शब्द छ, त्यो हो ‘सम्प्रदाय’ । यो धर्म र सम्प्रदायको ब्याख्या अर्कै वृहद विषय हुन जान्छ । तैपनि उल्लेख गरिनुको कारण के हो भने सिन्धू यसपारको सम्पूर्ण जीवन पद्धति र तिनीहरूमा भएका अनगिन्ती विविधता सबैलाई एकसाथ जनाउन सिन्धू उसपारकाले त्यही सिन्धू शब्दको सहारा लिए । जो कालान्तरमा उच्चारण अपभ्रंश भएर हिन्दू हुन गयो । यस शब्दले सङ्केत गर्न खोजेकामा प्रकृतिपुजक, मुर्तिपुजक, धामीझाँक्री वा बिजुवादेखि लिएर कर्मकाण्डी वैदिक अनुयायीलगायत पर्दछन् ।

संस्कृति सम्मिश्रण र परम्पराहरूको घुलमिलले सनातन पद्धतिलाई एकै भएको आभाष दिएको छ । जसरी सात रङ्गको चक्र घुमाउँदा केवल सेतो देखापर्दछ ठिक त्यसै गरेर । अपवादको रूपमा अन्तरसम्प्रदाय सङ्घर्ष पनि भएका छन् । तर हजारौँ वर्षको कालखण्ड बिताउँदा यस्ता अप्रिय घटनाहरू गिन्ती गर्न सकिने मात्र छन् । यसको विपरीत सिन्धु उसपारका अन्तरसम्प्रदाय सङ्घर्षको लेखा लिने हो भने अनगिन्ती रक्तरञ्जित घटनाहरू छन् जसको सङ्ख्या मात्र पनि सम्झन सजिलो छैन । सनातन परम्पराको शुरुवात भेट्न सकिन्न भने ती सम्प्रदायको शुरुवात र प्रवर्तक पनि विश्वमा प्रचलित कुनै पनि सम्वत्को शुरुवातभित्र नै पर्दछन् ।

वर्तमानमा धर्मनिरपेक्षताको प्रवर्तकले गरेको व्याख्यालाई परिमार्जन गरेर सर्वधर्म (सम्प्रदाय) समता भनिने गरेको छ । यो त आधारभूत तत्व हो हिन्दू भनिने सनातन समाजको । भारतवर्षमा मुगलहरूको आगमनपछि चर्केको सङ्घर्षले सनातनको अवधारणको केही अपव्याख्या भएको छ । त्यही अपव्याख्या वर्तमानमा आएर सनातनलाई तल्लो स्थानमा झारेर सम्प्रदायमा खुम्च्याउने माध्यम बनेको छ । एकै संस्कृतिका अङ्गहरूले आफू पृथक हौँ भनेर देखाउन प्रयोग गरिने एक उदाहरण यहाँ अप्रासङ्गिक नहोला । लङ्काको राजा रावण र अयोध्याको निर्वासित राजपुरुष रामबीचको युद्धलाई दुई धर्मबीचको युद्ध देखाएर राक्षस धर्म र मानवधर्म अलग देखाउन खोजिने गर्दछ । तर राम र रावण दुवैको आराध्य भगवान शंकर नै हुन् भने उनीहरू अलग धर्मका कसरी भए ?

लङ्काको राजा रावण र अयोध्याको निर्वासित राजपुरुष रामबीचको युद्धलाई दुई धर्मबीचको युद्ध देखाएर राक्षस धर्म र मानवधर्म अलग देखाउन खोजिने गर्दछ । तर राम र रावण दुवैको आराध्य भगवान शंकर नै हुन् भने उनीहरू अलग धर्मका कसरी भए ?

सनातन संस्कृतिभित्रका नै केही छट्टु भन्न मिल्ने बाठाहरूको सम्प्रदायका पण्डितहरूले यस्ता भ्रम निवारण गर्नुपर्नेमा झन् थप्दै गएको भने पक्कै हो । वर्तमानमा भनिने हिन्दू र बौद्ध भिन्न हुन् भने बौद्धको साम्याक महादान पूजामा हिन्दूराजाको आवश्यकता तात्कालिन संविधानले त गरेको थिएन । त्यो पक्कै बौद्ध ग्रन्थ र परम्पराअनुसार नै भएको हुनु पर्दछ । किरातले प्रयोग गर्ने शस्त्रअस्त्र जस्ताको तस्तै अरुले पनि प्रयोग त्यसै गरेका पक्कै होइनन् । यो संस्कृति सम्मिश्रण भइ एकाकार भएको उदाहरण हैन र ? कसले कसको अनुकरण गर्‍यो भन्ने विवाद भन्दा अनुकरण गर्ने र अनुकरण गर्न दिने दुवै महान् हुन भन्ने कुरा महत्वपूर्ण हो, यदि अलग नै मान्ने हो भने पनि ।

शब्दसँग असहमति नै भए पनि वर्तमानमा प्रयोग हुँदै आएको ‘बाहुनवाद’ भनिने अहम्वादको अस्तित्व भने छ । बाहुनवाद भनेर एक समुदायलाई तोक्नु सही कुरा हैन, यो अहम्वादको परम्परा हो । जसले आफूलाई धेरै गाली गर्दछ यो त्यसैमा सर्ने गर्दछ । बाहुनवाद भनिने गर्नाले यसलाई अरुतिर दुषित गर्ने निष्कङ्टक बाटो भेटेको छ । नामको पछाडि जोडिएको थर वा जातले बाहुनवाद भनेर भन्ने तर साथै यो बाहुनलाई भनेको हैन प्रवृतित्ताई भनेको हो भन्नेहरू यो अहम्वादले ग्रस्त भइसकेका बिचरा हुन् ।

सनातन अन्तर्गतका सबै सम्प्रदायले कुनै न कुनै रूपमा प्रकृतिपूजा गर्दछ नै । अझ हिन्दूहरू त प्रकृतिको यो रूपलाई सबै श्रृष्टिको मूल मान्छन्, पञ्चतत्वको रूपमा । तेज आगोको रूपमा, पृथ्वीभूमिको सबै रूपमा, जल नदी पोखरी मात्र नभएर जीवमा हुने रसको रूपमा, वायू सबै हावा जोडिएको रूपमा, आकाश अन्तरिक्षलगायत श्रृष्टिको आधारको रूपमा । सनातनी आस्था राख्ने होस् वा नास्तिक कहिल्यै बाहिर हुन सक्दैन, तर सम्प्रदाय मान्नेहरू भने त्यसले निर्देश गरेको कुरा नमान्नेबित्तिकै त्यहाँबाट च्यूत हुन्छन् ।

समाज गतिशील बनाउन, न्याय, समानता कायम गर्न जुन अवधारणा छ त्यो हो राज्य । राज्यहरूको ठूलो इकाई राष्ट्र हो र राष्ट्रको ठूलो इकाई अधिराज्य हो । यसमा समयानुसार र युग सुहाउँदो परिवर्तन गरेर जनहित गर्न राजाको परिकल्पना गरिएको छ । यत्रो गहनतम् जिम्मेवारी पूरा गर्न योग्यताको आवश्यकता पर्दछ । त्यसैले प्रशिक्षण दिएर तैयार गरिएकाले राज्य सञ्चालन गर्दछन् । यो नै सनातन मान्यता हो, त्यसैले अधिराज्य भनिएको हो । शाक्यमुनी गौतमका पिता सुद्धोधन गणराज्यका राजा थिए अर्थात् गणतन्त्रमा पनि राजाको आवश्यकता थियो । ज्ञान, क्षमता र बुद्धि नभएकाले सञ्चालन गरेको राष्ट्र विनाशोन्मुख हुन्छ । यसको उदाहरण आवश्यक नपर्ला ।