गजराज जोशी कप फुटबल सोमबारदेखि

गजराज जोशी कप फुटबल सोमबारदेखि



एस.डी नाइन्टी नाइट स्पोर्टस कर्नरको आयोजनामा मााघ १२ गते सोमबारदेखि अन्तर वडास्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

प्रतियोगितामा टोखा नगरपालिकाका ७ वटा वडाका टिमले प्रतिस्पर्धा गर्ने छन् । वडा नम्बर २ मा रहेको भूतखेल मैदानमा सात दिनसम्म चल्ने प्रतियोगितामा वडा नम्बर सात र वडानम्बर ६ काबीचमा उद्घाटन खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए ।

सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वडा नम्बर ३, ६ र ७ रहेका छन् । यसैगरी समूह ‘बी’मा वडा नम्बर १, २, ४ र ८ रहेका छन् । गजराज जोशी ट्रस्ट र हेडलाइन्स स्पोर्टस क्याफे प्रायोजक रहेका छन् भने विशेष सहयोगकीको रुपमा बी डिभिजन लिगमा रहेका भगबती क्लब रहेको छ ।

प्रतियोगिताको विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ३५ हजार पाउने छन् । यसैगरी विधागत उत्कृष्ट पाँच खेलाडीले जनही ५ हजार पाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गजराज जोशी ट्रस्टका अध्यक्ष अनिश जोशीले कोभिडको महामारीमा पनि खेलकुदलाई चलायमान गराउने उद्देश्यले युवाहरुले फुटबल प्रतियोगिता गर्न लागेकाले सहयोग गर्न लागिएको जानकारी दिए । गजराज जोशी आफैमा एथलेटिक्स खेलाडी भए पनि पहिला फुटबल खेलाडी भएकाले यो प्रतियोगितामा ट्रस्टले सहयोग गर्न लागेको उनले बताए ।

यसैगरी वडा नम्बर २ का अध्यक्ष दीपकराज जोशीले प्रतियोगितामा टोखा नगरपालिकाको पनि सहयोग रहने प्रष्ट पारे । टोखालाई चिनाउनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा स्थानीय खेलाडी उत्पादन गर्न पनि सहयोग हुने विश्वास व्यक्त गरे । भगवती क्लबका अध्यक्ष मदन श्रेष्ठले प्रतियोगिताभर म्याच कमिस्नरको रुपमा आफु रहेको जानकारी दिए ।