‘काङ्ग्रेस बाजे’को उपचार !

‘काङ्ग्रेस बाजे’को उपचार !


  • ज्ञानमणि भुर्तेल

क्लिनिकको ढोकामा उभिएको पाले जोडले चिच्यायो– ‘नेपाली काङ्ग्रेस !!’
देउवा जुरुक्क उठ्नुभो र कमजोर काङ्ग्रेसलाई हतेर्दै भित्र पस्नुभो !

‘यता बस्नुस् बाजे !’ नजिकैको टुल देखाउँदै डाक्टरले सोध्नुभो– ‘के भएको हो ? समस्या के छ ? निकै कमजोर देखिनुहुन्छ त ?’

‘खै के हो, के हो ? दिनदिनै सुक्दै जानुभ’को छ ! हिँडडुल गर्न समेत कठिन छ ! अर्काको सहारा चाहिन्छ !’

‘पहिले कुन डाक्टर देखाउनुहुन्थ्यो ? औषधि के खाने गरेको थियो ?’

देउवाले झोलाबाट झिकेर पुराना रिपोर्ट देखाउनुभो ! सबै रिपोर्ट हेरिसकेपछि डाक्टर फेरि बोल्नुभो– ‘यो त बिपी हुन्जेलसम्मको रिपोर्ट रैछ ! त्यसपछिको खै त ? बिपी हुन्जेलसम्म त राम्रै रैछ त !’

‘त्यसपछि त कुनै डाक्टर देखाएकै छैन ! आफू पनि ब्यापार–ब्यवसायमा ब्यस्त भैयो ! खासै ध्यान नै दिइएन !!’– देउवाले स्पष्टिकरण दिनुभो !

‘बाजे यता सुत्नुस् त !’ डाक्टरले बालाई बेडमा सुताउनुभो ! छातीमा आला लाएर लामो सास फेर्न लाउनुभो ! मुख च्यातेर टर्चलाइट बाल्दै जिब्रो हेर्नुभो ! हात–खुट्टा तन्काउनुभो र, देउवातिर हेर्दै बोल्नुभो– ‘एक पटक होल बडी चेकअप गरौँ अनि मात्र केही भन्न सकिन्छ ! अहिलेलाई यी टेष्टहरू गरौँ ! लामो लिस्ट थमाउँदै पुनः बोल्नुभो– ‘दुई नम्बर कोठामा गएर यी टेष्ट गराउनुस् !!’

बालाई लिएर देउवा दुई नम्बर कोठामा पस्नुभो ! पैतालादेखि टाउकोसम्म सबै टेष्ट भए ! भोलि दुई बजेपछि रिपोर्ट लिन आउनुहोला भन्ने ल्याब टेक्निसियनको आदेशपछि टाउको हल्लाउँदै देउवा निस्किनुभो !

भोलिपल्ट सबै रिपोर्ट हेरेपछि डाक्टर गम्भीर देखिनुभो ! देउवाले सुस्तरी सोध्नुभो– ‘के भको हो डाक्टर साब ? कस्तो छ स्थिति ?’

‘हालत खराब ! गलत खानपिनको असर ! शारीरिक भन्दा पनि मानसिक असरले गलाएको छ बाजेलाई !’ एक्सरे प्लेटमा सानो लठ्ठी नचाउँदै डाक्टरले बताउनुभो– ‘फोक्सो पूरै कालो छ ! लगभग ड्यामेज ! रगतमा पानीको मात्रा बढेको देखिन्छ ! दिमागमा समेत गहिरो चोट छ !’

‘खानपिनमा त ध्यान पु¥याएकै हो डाक्टर साब ! स्याहारसुसार पनि गरेकै छ ! त्यसो त नहुनु पर्ने… !’ शेरबहादुरले जितबहादुर बन्ने प्रयत्न गर्नुभो !

‘नहुनुपर्ने हैन.. भैसक्या छ ! तपाईं आफैं जान्ने भए मकहाँ किन ल्याउनुभको त ? तपाईं डाक्टर कि म डाक्टर ?’

देउवाले घोसेमुन्टो लाउनुभो ! केही बोल्नुभएन !

‘यी हेर्नुस् त ! फोक्सो पूरै तुवाँलोले ढाकेको पहाड जस्तो देखिन्छ ! क्याल्सियमको कमीले हड्डी गलेर पाटाखाडिको सन्ठी जस्तो भैसक्या छ ! तपाईंहरूका गलत क्रियाकलापले गर्दा शारीरिक भन्दा पनि मानसिक असरले फुक्दै जानुपर्ने ज्यान सुक्दै गएको देखिन्छ ! यी हेर्नुस् त…!’

टाउकोमा भएको दाग देखाउँदै डाक्टरले अगाडि बताउनुभो– ‘बीपीको स्याहार पुगुन्जेल स्वस्थ रहेका बालाई पञ्चायत लडाउने हतारमा ०४६ सालमा विषादियुक्त ‘बाम साग’ मिसाएर ख्वाएपछि बुढा खस्किँदै गएको देखिन्छ ! यी हेर्नुस्, यो कालो दाग त्यै हो ! किशुनजीको रेखदेख रहँदासम्म पनि बा ठिकठिकै रैछन् ! गिरिजाप्रसादको हात परेपछि खस्किन थालेको ज्यान गणेशमानजी र किशुनजीले विरक्तिएर बालाई छोडेपछि दिमागमा परेको चोटको नराम्रो असर छ ! झन् तपाईंको हात परेपछि त बा चिलिम चौतारी !’

‘…एक पटक बाको टाउको फोरेर बेग्लै डेरासमेत लिएर बस्नुभएको रैछ ! हैन त ? बल्लतल्ल पाएको प्रजातन्त्र राजालाई बुझाउन पुग्नुभएछ !’ टाउकोको अर्को कालो डल्लो देखाउनुभो डाक्टरले ! ‘बालाई ख्वाउनुपर्ने खान्की शत्रुलाई ख्वाउन पुगेपछि बा नगलेर को गल्छ त ?? चितवनमा के गरेको त्यस्तो ? जीवनमा कहिल्यै आफ्नो नहुने नकच्चरो बाबुराम स्याहार्ने कि आफ्नो बा स्याहार्ने ? देख्नु भो त ? तपाईंकै बालाई म्युजियममा राख्नुपर्छ भन्दै हिँड्छ !!’

‘अब बालाई तङ्ग्राउन के गर्नुपला त डाक्टरसाब ? कुन औषधि ख्वाउनुपर्ला ?’
‘बाले खाने हैन ! बालाई ख्वाउने हैन !! औषधिको आवश्यकता तपाईंलाई छ ! बा तन्दुरुस्त हुनुहुन्छ !! मात्र मानसिक शान्ति चाहिन्छ उहाँलाई !!’

‘मैले के औषधि खाने त डाक्टर साब ?’– मलिन स्वरमा देउवा बोलेपछि डाक्टरले औषधि बताउन थाल्नुभो– ‘तपाईंको रगतमा सदाचार सकिएर भ्रष्टाचार बढेको देखिन्छ ! यसका लागि एन्टीभ्रष्टाचार टोनिक लेखिदिएको छु.. सदाचार टोनिक !! यसलाई नटुटाई दैनिक खानुस् ! दिमागमा भाइचाराको स्थान भाइमाराले ओगटेको छ ! आफ्ना जति निकालेर शत्रुलाई भित्र्याएर जुत्तैसँग भान्सामा पसाएको असर हो यो ! यसका लागि भाइचारा सिर्फ चिसोपानीसँग दैनिक खाने गर्नुस् ! यसले दिमागमा बुद्धि विकाश हुनुका साथै दिमाग ठण्डा राखेर सही कुरा सोच्ने तागत प्राप्त हुन्छ ! म नै सर्वेसर्वा हुँ र मैले जे गर्दा नि हुन्छ भन्ने दम्भ मेटाउन दम्भनासक ट्याब्लेट दिएको छु ! नबिर्सी खानुहोला !!’

‘..अनि ! बालाई जीवित राख्ने हो, तन्दुरुस्त राख्ने हो भने अहिले तपाईंले खाँदै गर्नुभएको र खान खोज्दै गर्नुभएको बाम प्याकेटभित्रको मिक्स जुस खान तुरुन्तै बन्द गर्नुपर्छ ! ती प्याकेटमा राम्रा–राम्रा उखान लेखिएको भएता पनि खतरनाक छ ! अनेकौँ क्रान्तिकारी कुरा लेखिए तापनि भ्रमपूर्ण छ, हानिकारक छ !!’

देउवा ट्वाल्ल परेर हेरिमात्र रहनुभो ! निकै बेरको मौनतापछि बोली फुट्यो– ‘थप के गर्नु पर्ला डाक्टरसाब ?’

‘एउटा अर्को काम गर्नुस् ! शहर–बजारमा भन्दा गाउँघरमा बढि उपलब्ध शुद्ध समाजवादी पिठोको लिटो बनाएर बेलुकी सुत्ने बेलामा खानुहोला, नत्र यी औषधिको कुनै असर हुन्न !’

‘बालाई चैँ केही गर्नु पर्दैन त डाक्टरसाब ?’

‘बालाई मानसिक तनावबाट मुक्त राख्नुस् ! चर्को ‘घाम’बाट जोगाउनुहोला ! ‘हलो’ जोत्न पनि नदिनुस् ! ‘गाई’गोठालो पनि भरसक नबनाउनुस् !! ‘रुख’को शितल छहारीमा राख्नुस् ! यति गर्नुभो भने बा आफैं हिँड्ने मात्र हैन कसैको सहाराबिना नै गुटुटु कुँद्न नै सक्नुहुन्छ !! यी सबै औषधि स्वदेशमै उपलब्ध छन्, विदेश दौडिनै पर्दैन ! भारततिर त झन् जाँदैनजानु ! बुझ्नु भो त ?’

देउवाले बुझेको भावमा टाउको हल्लाउनुभो ! बालाई सहारा दिँदै अस्पतालबाट बाहिर निस्किनुभो ! अब हेर्दै जाउँ– डाक्टरको सल्लाह कत्तिको मान्नुहुने हो ?

हुन त उखान नै छ– के जातीको पुच्छर .. खै के ? खै के ??